नारायण शर्मा, केन्द्रीय सचिव, अखिल भारत नेपाली एकता समाज ••
नारायण शर्मा भारत स्थित प्रवासी नेपालीहरूको बीचमा कार्यरत एक इमान्दार नेता हुनुहुन्छ । धौलागिरी अञ्चल, म्याग्दी जिल्ला, बाबियाचौर वडा नम्बर १ तल्लो डडुवा कुकुर बिसौना भन्ने ठाउँमा बुबा धनपति जैसी, आमा डम्मर कुमारी जैसीको कोखबाट २०२६ साउन ९ गते बिहीवार उहाँको जन्म भएको थियो । जानकी प्रावि तल्लो डडुवाबाट आफ्नो अध्ययन सुरु गर्नु भयो र पछि ज्योति निमाविमा अध्ययन गर्नु भयो । २०४६ सालमा भारत लाग्नु भयो । सन् १९९७ देखि समाजमा आबद्ध हुनु भयो । २०५६ सालको किसान मार्चमा म्याग्दीको कार्यक्रम, २०६६ मा सङ्घीयता विरुद्धको काठमाडांै केन्द्रित आन्दोलन, केन्द्रीय पार्टी स्कुल, हरेक निर्वाचनका कार्यक्रममा उहाँ नेपालमा आउनु भएको थियो । २०७६ मा सङ्गठनको कामले कपिलबस्तुमा लाग्नु भएको थियो । २०७९ को बहिस्कार आन्दोलनमा रुपन्देहीमा क्रियाशील हुनुभएको थियो ।
२००८ सेप्टेम्बरदेखि होलटाइमर कार्यकर्ता बनी काम गरेका नारायण शर्मा भारतका चेन्नैइ, हैदारावाद, महाराष्ट्र, गुजारात, राजस्थान, उत्तरप्रदेश, मध्ये प्रदेश भुपाल, हरियाणा लगायतका ठाउँमा पुग्नु भएकोछ । उहाँ लामोसमय गोरखपुर कार्यालय र दिल्ली कार्यालयमा पनि जिम्मेवारी बहन गर्नु भएको थियो ।
वि.सं. २०५१ सालमा दिलकुमारी सापकोटा शर्मा सित विवाह गर्नु भएका नारायण शर्माका ४ छोरी एक छोरा छन । बुबा आमाका चार भाइ, दुई दिदीबहिनी मध्ये नारायण शर्मा जेठा छोरा हुनुहुन्छ ।
यस पटक हाँक साप्ताहिकले उहाँ नारायण शर्मा सित एकता समाजको गतिविधिका बारेमा अन्तर्वार्ता लिएको छ :
० कुराकानी तपाईको बाल्यकालको अनुभवबाट सुरु गरौँ, बाल्यकालको कुनै सम्झना योग्य घटना छ कि ?
– सर्वप्रथम हाँक साप्ताहिक मार्फत् आफ्नो र एकता समाजको कुरा राख्ने अवसर दिएकोमा म हाँक साप्ताहिक प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । २०४६ सालमा म वर्ष दिनलाई खाने नुन लिन स्याङ्जा जिल्लाको सहर पुतलीखेत आएको थिएँ । नुनको भारी लिएर पर्वतको कुश्मा पुग्दा मेरो फुपुको छोरा दाइ भेटिए । म नुनको भारी कुश्मा छोडेर लाहुरे हुन दिल्ली पहाडगन्ज आएको मान्छे हुँ । मलाई समाज सङ्गठनमा लाग्न पर्छ भन्ने केही थाहा थिएन । कामको दौरानमा म कुखुराको फारममा काम गर्न पुगें । म त्यतिबेला धर्म कर्म जातिपाती मान्थे । कुखुराको फारममा काम गर्न पर्यो । दलित साथीहरूसँग बस्न खान पर्यो । तिनीहरूकै साहारा बिना बाँच्न सक्ने अवस्था थिएन । त्यतिबेलादेखिनै मैले जनै फालेको हो । आजसम्म लगाएको छैन । परिस्थितिले मलाई त्यो अवस्थामा पुर्यायो ।
० सङ्गठनमा कसरी आबद्ध हुनु भयो ?
– “बसेर खानलाई छैन दाम पनि, गरेर खानलाई छैन काम पनि । विपत्तिमा परेकाले बाटो पायौँ आज, यही हो हाम्रो प्यारो घर यही हो समाज । ” यो गीत १९९७ मा दिल्लीको बसन्तकुन्जमा सुमित्रा हत्याकाण्डको विरोधको जुलुसमा जाँदा सुनेको थिएँ । त्यो गीतले मन छोयो र बल्ल समाजमा काम गर्न थालेको हुँ । टोल समिति, एरिया समिति नगर समिति, क्षेत्रीय समिति हुँदै मैले एकता समाजमा काम गरेँ । युवा मोर्चाको तृतीय सम्मेलन राजस्थानको गुलाबी सहर जयपुरमा भएको थियो । म युवा मोर्चाको केन्द्रीय सल्लाहकार भएँ । २००२ को हैदरावादमा सम्पन्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पाँचौ अखिल भारत सम्मेलनमा म ओखला नगर समितिबाट प्रतिनिधि भएर गएको थिएँ । मेरो वास्तविक स्कुल अखिल भारत नेपाली एकता समाज हो । २००८ को सितम्बरदेखि म आˆनो जागिर छोडेर अखिल भारत नेपाली एकता समाजमा निरन्तर लागिरहेको छु ।
० आठौँ अखिल भारत सम्मेलन भारतको राजधानी दिल्लीमा गर्दै हुनुहुन्छ ? तयारी कसरी चलिरहेकोछ ?
– अखिल भारत नेपाली एकता समाजको आठौँ सम्मेलन भारतको राजधानी नयाँ दिल्ली नजिक यन्सिआर हरियाना १९ सेकटर महाराजा अग्रसेन भवन फरिदाबादमा आगामी सितम्बर १० देखि १२ सम्म सम्पन्न गर्नका लागि पूरै तयारीमा छांै । हल बुकिङ भैसकेको छ । पहिलो चरण को अपील सहयोग प्याड वितरण भैसकेको छ । दोस्रो चरणको अपील पनि तयार भैसकेको छ । भारत भरि नेता कार्यकर्ताहरू व्यापक रुपमा घर दैलो कार्यक्रम, आर्थिक सङ्कलन, प्रचार प्रसारमा वर्षा, गर्मी नभनेर खटिरहनु भएको छ ।
अखिल भारत नेपाली एकता समाजको प्रथम सम्मेलन सितम्बर १९८२ मा नयाँ दिल्ली, दोस्रो नयाँ दिल्ली, तेस्रो कानपुर, चौथो नयाँ दिल्ली, पाँचौ हैदरावाद, छैटौँ फरिदावाद, सातौँ लखनउमा सम्पन्न भएको थियो । हामीलाई विश्वास छ कि आठौँ अखिल भारत सम्मेलन ऐतिहासिक, भव्य र शान्दार हुनेछ ।
० अहिले तपाई अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सचिव हुनुहुन्छ ? तपाइले नेतृत्व गरेको सङ्गठनमा भारतस्थित प्रवासी नेपालीहरू किन आबद्ध हुनु पर्दछ ?
– म अखिल भारत नेपाली एकता समाजको सचिव हुँ । सङ्गठन कर्ता हुँ । भारत लगायत अन्य मुलुकमा गएका नेपाली दाजु भाइ, दिदीबहिनी, आमा बुवा जो जहाँ कार्यरत हुनुहुन्छ, उहाँहरूलाइ हाम्रो के अनुरोध छ भने म, हामी यो ठाउँमा छांै भनी जानकारी दिनु भयो भने कुनै पनि बेला अप्ठ्यारो पर्दा, आपत बिपत आइपर्दा, प्रशासनिक निकायमा जानु पर्दा वा सुनुवाइ नहुँदा कुनै न कुनै सङ्गठनमा आबद्ध हुन जरुरी छ । हामीले सबै प्रवासी नेपालीहरूलाई यो भन्ने गरेका छौ कि सचेत र सङ्गठित हुनुस् । एक्लै परेर नरुनुहोस, समस्या आइपरेको खण्डमा हामी अखिल भारत नेपाली एकता समाजका नेता कर्याकर्ता कुनै पनि बेला हाजिर हुनेछौँ । हामीलाई के अप्ठ्यारो पर्ने गर्दछ भने कुनै प्रमाण नभएको मुद्दा मामिलामा प्रशासनले पनि वास्ता नगर्ने भएको हुनाले नै समाजमा आबद्ध हुन जरुरी पर्दछ ।
० सङ्गठनमा नयाँ प्रवेशीहरूले के कस्ता प्रश्नहरू सोध्ने वा जिज्ञासा राख्ने गरेका छन ? नयाँ प्रवेशीहरूले जिम्मेवारी पूरा गरेका छन वा छैनन् ?
– नयाँ प्रवेसी केही साथीहरूले रवि लामिछाने, बालेन साह, हर्क साम्पाङ, ज्ञानेन्द्र शाहीको र राजा ज्ञानेन्द्रको नाम लिएको पाइन्छ । नयाँ साथीहरूलाई वैचारिकरुपले स्पष्ट गर्दै सङ्गठनमा काम गराउँदै जानु पर्ने अवस्था छ । बाँकी साथीहरू सक्रिय रुपमा लागिरहनु भएको छ । केही साथीहरू बाहेक सबैले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहनु भएको छ । केही नयाँ ठाउँहरूमा जिम्मेवारी पूरा हुन नसकेको देखिएको छ ।
० गत मई दिवसमा भारतीय मजदुर सङ्गठन सित पनि संयुक्त कार्यक्रम गर्नु भयो, हैन र ?
–हो, भारत भरि नभएपनि सम्भावना भएका ठाउँहरूमा भाकपा रेड्स्टार, भाकपा माले, मजदुर युनियन सित मिलेर संयुक्त कार्यक्रम गर्ने गरेका छौँ । त्यही सन्दर्भमा अखिल भारत नेपाली एकता समाजले भारतीय सङ्गठनहरू यता पनि मिलेर संयुक्त कार्यक्रम गरिएका थिए । हामीले मिलेर चोक चोकमा कोण सभाहरू पनि गरेका थियौँ । विगतको तुलनामा मे दिवसको कार्यक्रम कमजोर हुनुको कारण आइतबारको छुट्टी कटौती गरिदिनाले पनि हो । मजदुरको एकता नहोस् भन्ने हेतुले उद्योगपतिहरूले नयाँ नयाँ नियमहरू बनाउने गरेको पाइएको छ । केही दिन पहिला दिल्लीको आइ टियोमा १, इन्कलाबी मजदुर केन्द्र, २, लोक पक्ष, ३ देमोक्रेटिक फ्रंन्ट, ४ भगत सिङ छात्र नौजवान ५, सिपिआइ यम यल क्रान्तिकारीलगायतले “भारत बचाओ, आर. एस. एस . भगाओ ”, “भाजपा नही चाहिए” विषयमा नेश्नल कन्फ्रेन्स प्रोग्राममा सहभागी भएको थिएँ । भाजपा विरोधी मोर्चा बनेको थियो । रेड स्टार सित केही समय पहिले फुटेको पार्टी पनि यस मोर्चामा आवद्ध छन् । भाजपा र आरएसएसले आफुले घटना घटाउने मुसलमान र अल्पसङ्ख्यक समुदायका मानिसलाई दोष लगाउने, जेल हाल्ने जस्ता काम गरिरहेको प्रत्यक्ष प्रमाण त्यो कन्फेरेन्समा सहभागीहरूले पेश गरेका थिए । जाति र धर्मको विषयले भारत भुसको आगोझै भित्रभित्र जलिरहेको छ, कुनै दिन विस्फोट हुन सक्छ ।
० मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको नाम परिवर्तन गरेर अखिल भारत नेपाली एकता समाज बनाउनु भयो । किन नाम परिवर्तन गर्नु भयो ?
– हामीले नाम परिवर्तन गरेका हैनौँ । “मूल प्रवाह” त २००२ मा हैदरावादको सिकन्द्रवादमा सम्पन्न पाँचौँ अखिल भारत सम्मेलनबाट थपिएको हो । विगतमा भारतमा दुई वटा अखिल भारत नेपाली एकता समाज थिए: एउटा दिल्ली पक्ष अर्को कलकत्ते पक्ष । २०५२ फागुन १ गते नेकपा (माओवादी) ले “जनयुद्ध” शुरु गरेपछि माओवादी पार्टी समर्थक सङ्गठनलाई प्रतिबन्ध लगाउने भयो । माओवादी निकट सङ्गठनको नाम र हाम्रो सङ्गठनको नाम एउटै भएकाले अनावश्यक प्रशासनिक झमेला बेहोर्नु भन्दा नाम फेर्नु नै उपयुक्त ठानेर सङ्गठनको नाममा “मूलप्रवाह” जोडिएको हो । मूल प्रवाह थप्ने प्रस्ताव आएपछि सम्मेलनको हाउसले त्यसलाई अनुमोदन गरेको थियो । जनप्रवाह राख्ने कि भन्ने छलफल पनि भएको थियो तर “मूल प्रवाह” नै राख्ने ठेगान भयो ।
अखिल भारत नेपाली एकता समाज १९७९, ७ नोभेम्बरमा नै स्थापना भई रजिष्ट्री भएको संस्था हो । नाम फेरेको भन्दा पनि स्थापना कालको नामलाई निरन्तरता दिएको हो । संस्थापक सभापति गोविन्द बहादुर (सिंह) थापा हामी सितै हुनुहुन्छ । आठौँ सम्मेलनको उद्घाटन पनि संस्थापक सभापति थापाले गर्नु हुनेछ ।
० तपाइहरूलाई फुटपरस्त तत्त्व भनेर आरोप लगाएको बारे तपाइको के भनाइ छ?
– फुटपरस्त हामी होइनौँ किनकि हामीहरू कुनै राष्ट्रिय महाधिवेशन, राष्ट्रिय भेला वा त्यसभन्दा तल जिल्ला सम्मेलन, भेला, कहिकतैबाट हिंडेका त होइनौँ । अपहेलित गराइएका, निस्काशन गरिएका, विना गल्ती कारवाही गरिएका नेता, कार्यकर्ता जहाँ जहाँबाट नेतृत्वले फाल्दै गयो त्यही त्यहीबाट सम्हालिदै, जम्मा हुँदै गर्दा हामी आज अखिल भारत सम्मेलन गर्ने अवस्थामा आइपुगेका हौँ । भारत शाखा विघटन गर्नु, दक्षिण भारतमा निर्वाचित समिति विघटन गर्नु, मध्य दक्षिण भारत र पश्चिम भारतका साथीहरूलाई अवैधानिक ढङ्गले कार्वाही गर्नु जस्ता नेतृत्वको निरङ्कुश रवैयाका कारण आज यो स्थिति आयो । म राजस्थानमा थिएँ । यदि मेरो गल्ती भएको भए कार्वाही गर्न पर्दथ्यो । गल्ती नभएको र नेपाल पठाउन खोजेको भए ससम्मान बिदाइ गर्नुपर्दथ्यो । त्यो त हाम्रो प्रचलन नै थियो । मलाई नेपाल गएर बुटवल कार्यालयमा सम्पर्क गर्ने भनेका थिए । भारतबाट फर्केपछि बुटवल कार्यालयमा मोहन विक्रम, सुरेश थापा र आनन्द शर्माले मसित छलफल गरेका थिए । त्यो बसाईमा आनन्द शर्माले एक, तपाईले पेशेवरको आचार संहिता पालना गर्नु भएन, दुई फुटपरस्त तत्त्वहरू सित संलग्न भएको रिपोर्ट आएको छ भनेर झुठो आरोप लगाएका थिए । मैले त्यसको प्रमाण के हो भनेर प्रमाण मागे प्रमाण दिन सकेनन् । मोहन विक्रमले मलाई ती दुवै गल्ती गरेको छैन भनेर लेखेर दिनुस भनेका थिए । मैले गल्ती नै गरेको छैन किन लेखेर दिनु पर्यो ? म विचारमा सम्झौता गर्दैन भनेर मैले भनेको थिएँ ।
० भारतस्थित नेपालीहरूका के कस्ता समस्याहरू छन् ? समस्या समाधानका लागि के के मागहरू उठाउनु भएको छ ?
– भारतस्थित नेपालीहरूका समस्या धेरै छन् । जस्तै, बैङ्क खाता खोल्न आधार कार्ड, पेन कार्ड चाहियो । होटलमा बस्न, खाना, पकाउने सिलिन्डर खरिद गर्न, पिएफ अफिसबाट पेन्सन प्राप्त गर्न आधार कार्ड, बैङ्क कार्ड चाहिन्छ । हामी नेपाली प्रवासबाटै मत हाल्न पाउने अधिकारबाट बन्चित छौँ । सरकारी नोकरी हुनेहरू र विद्यार्थीहरूलाई डोमी साइल सटिर्फिकेट लगायत दर्जनौँ समस्याहरू छन् । आधार कार्ड, पेन कार्ड, रासन कार्ड नभई केही गर्न पाइँदैन । पंचशीलको आधारमा नयाँ सन्धि गरिनुपर्छ । १९५० को सन्धि खारेज हुनुपर्दछ । हाम्रो माग यही छ ।
० नेपालको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
– नेपालको वर्तमान राजनीतिक परिस्थिति गम्भीर मोडमा उभिएको छ भन्ने लाग्छ । आफुलाई लोकतन्त्रवादी भन्नेहरूबाट राष्ट्रघात हुँदै आएको इतिहाससिद्ध तथ्य हामा सामु छन् । आफूलाई वामपन्थी क्रान्तिकारी भन्ने पार्टीहरूबाट पनि राष्ट्रियता खतरामा छ । यसकारण राष्ट्रप्रेमी जनप्रेमी सबैको ध्रुवीकरण भई राष्ट्र बचाउ अभियानमा जुट्नु बाहेक अरु विकल्प नरहेको महशुस गरेको छु । देशमा रोजगारीको व्यवस्था नभएकाले हामी नेपालीहरू विदेशमा भौँतारिइरहेका छौँ । तर शासकहरू सत्ताको तानातानमा व्यस्त छन् ।
० नेपालका प्रधानमन्त्री प्रचण्डले भर्खरै भारत भ्रमण गरेका छन् । भारत भ्रमणका क्रममा उनले भारतमा रहेका नेपाली बारे केही भने कि ?
– नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत यात्राको दौरानमा प्रवासी नेपालीहरूको लागि कुनै ठोस पहल कदमी गर्न नसकेको देखियो । भारतले नयाँ सांसद भवनमा राखेको नक्सामा लुम्बिनी र कपिलवस्तुलाई आफ्नो नक्सामा पारेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुराका समस्या छन् । भारतका प्रधानमन्त्री मोदीले इपिजी प्रतिवेदन बुझ्न इन्कार गरिरहेका छन् । नेपाल भारत सित जोडिएका यी महत्त्वपूर्ण विषयमा प्रचण्डले कुनै कुरा राख्न सकेनन् । बङ्गलादेश पुग्ने बाटो प्राप्त गर्न कालापानीको भूमि सट्टापट्टा गर्ने कुरा गरेर प्रचण्ड नेपाली जनताको बीचमा आलोचनाको पात्र बनेका छन् ।
० भारतमा सङ्गठनलाई व्यवस्थित र विस्तारित गर्ने बारे आगामी कार्यक्रम के छ ?
–भारतमा सङ्गठनलाई व्यवस्थित र विस्तारित गर्न कै लागि हामी आठौँ अखिल भारत सम्मेलन सम्पन्न गर्न गइरहेका छौँ । यही सम्मेलनबाट निर्वाचित कार्यकारिणी पदाधिकारी, कार्यकर्ताहरूबाट अवश्य पनि सङ्गठनलाई फराकिलो बन्ने छ भन्ने आशामा छौँ ।
० अन्त्यमा हाँक मार्फत भन्नुपर्ने थप केही छ कि?
– अज्ञानीलाई ज्ञानको ज्योति दिने (क) श्रेणीको पत्रिकाको नाम हो हाँक, यसलाई रद्दीको टोकरीमा पुग्नबाट बचाउने सबै नेता कार्यकर्ताको ठूलो योगदान छ । भारतको गल्ली गल्ली सिठी फुक्नेलाई, कुल्ली काम गर्नेलाई, नेता बनाउने पत्रिकाको नाम हो हाँक । आज, कुनै पनि पार्टीमा सामेल भएका नेता कार्यकर्ता हाँक नपढेका बिरलै भेटिन सक्छन् जस्तो लाग्छ । यो पत्रिका निरन्तर चलिरहने छ । यदि रोक्न प्रयत्न कतैबाट भएमा आफै चकनाचुर भएर जाने छन् ।