मोदी युगको भारत र अमेरिकी कूटनीति

शशिधर भण्डारी ••
सन् २००२ मा गुजरातमा हिन्दु मुस्लिम साम्प्रदायिक दङ्गामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्लिम विरुद्ध हिंसा भड्काएको आरोप लागेको थियो । त्यतिबेला अत्यन्त कहालीलाग्दो ढङ्गले मुस्लिमहरूको नरसंहार भएको अवस्थामा नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए । सन् २००५ मा अमेरिकास्थित भारतीय मूलका नागरिकहरूले न्यूयोर्कमा एउटा कार्यक्रमको आयोजना गरेर सम्बोधनका निमित्त नरेन्द्र मोदीलाई आमन्त्रण गरेका थिए । तर अमेरिकी सरकारले सन् १९९६ मा निर्माण भएको आफ्नो देशको कानुनको हवाला दिएर मोदीको भ्रमणका लागि भिसा प्रदान गरेन । करिब दश वर्षसम्म अमेरिकाले नरेन्द्र मोदीलाई अमेरिका भ्रमणमा प्रतिबन्ध नै लगाएको थियो । तत्कालीन अमेरिकी सरकारको नजरमा नरेन्द्र मोदी धार्मिक स्वतन्त्रता विरोधी र साम्प्रदायिक हिंस्रक प्राणी थिए ।

सन् २०१४ मा नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि बाराक ओवामा अमेरिकाको राष्ट्रपति भएको अवस्थामा अमेरिकाले मोदीमाथि लगाएको अमेरिका भ्रमणको प्रतिबन्धलाई राजनीतिक निर्णय गरेर फुकुवा गरेको थियो । सन् २०१४ बाट शुरु भएको मोदी युग भारतको लोकतन्त्र र धर्मनिरपेक्षताको सिद्धान्तका अगाडि ठूलो चुनौती बन्दै आएको देखिन्छ । उनीमाथि मुस्लिम, कम्युृनिष्ट र गैरहिन्दु समुदाय विरुद्ध निर्मम हिन्दु साम्प्रदायिक अधिनायक भएको आरोप लाग्दै आएको छ । उनले पटक–पटक धार्मिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको विरुद्धमा तरवार उठाउने गरेका छन् । प्रतिपक्षप्रतिको असहिष्णुता भारतीय जनता पार्टी र मोदी सरकारको राजनीतिक संस्कार जस्तो बनेको छ । उनको अर्थनीति र जननीति भारतका कर्पोरेट घरानाहरूको वरिपरि घुमेको देखिन्छ । भारतका लेखक, साहित्यकार तथा बुद्धिजीवीहरूले भाजपा र नरेन्द्र मोदी नेतृत्वको सरकारलाई कट्टर हिन्दुवादी सङ्गठन आर एसएसको लाइन अनुरुप चलिरहेको र मनुवाद यसको सपना भएको विश्लेषण गरिरहेका छन् । शिक्षा क्षेत्रमा भाजपा नेतृत्वको सरकारको विचित्रको रवैया कायम गरेको छ ।

इतिहासको पाठ्यक्रमबाट मुगलकालीन भारतको इतिहासको पूरा खण्ड हटाइएको बताइन्छ । चाल्र्स डार्विनको विकासवादी सिद्धान्तलाई विज्ञानको पाठ्यक्रमबाट हटाइएकोमा भारतमा व्यापक विरोध भइरहेको छ । आजको भाजपा र नरेन्द्र मोदी सरकार अटल विहारी वाजपेयी युगको जस्तो छैन । भारतका वामपन्थी लेखक तथा साहित्यकारहरूका अनुसार भाजपा र मोदी सरकारको वैचारिक आधार कट्टर हिन्दुत्ववादी सङ्गठन आरएसएस हो भने त्यसलाई फ्लो गर्ने मोदीका सहयोगी वैचारिक पिलरहरूमा गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हुन् ।

छिमेक सम्बन्ध र कूटनीतिमा भाजपा र मोदी सरकार सांस्कृतिक राजनीतिक तथा आर्थिक हस्तक्षेपको मेन्टालिटीबाट अगाडि बढिरहेको छ । मोदी युगमा भारतले दक्षिण एशियाका कुनै पनि छिमेकी मुलुकहरूसँग हार्दिक र सुमधुर सम्बन्ध स्थापित गराउन सकेको पाइन्न । राम्रो सम्बन्धका रुपमा चर्चा गरिने भारत बङ्गलादेश सम्बन्ध पनि आन्तरिक रुपमा खोक्रो छ । किनभने फरक्का बाँध सम्बन्धी विवाद सुल्झेको छैन । त्यसका अतिरिक्त केही व्यापार, उद्योग र वाणिज्य क्षेत्रका अन्तर्विरोधहरू कायम छन् । मालदिव्ससित चीनसँगको सम्बन्ध र व्यापार प्रवद्र्धनको प्रश्नलाई लिएर मतभेदहरू चर्कदै गएका छन् । गत वर्ष भारतले मालदिव्समा जाने मसुरोको दाललगायत खाद्यान्न निकासीमा रोक लगाएको थियो । तर चिनियाँ र अन्य मुलुकको छत्रछायाँका कारणले मालदिव्स हल्लिएन । श्रीलङ्कालाई उचाल्ने र पछार्ने रणनीतिमा खेलिरहेको भारतदेखि श्रीलङ्काको नागरिकस्तरमै भारतप्रति सकारात्मक धारणा भएको देखिन्न । देशमा वंशवादी कुशासन र भ्रष्टाचारले थला परेको श्रीलङ्का आफ्नै आन्तरिक समस्याहरूबाट गुज्रन विवश छ

नेपालको सांस्कृतिक आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा माइक्रो म्यानेजमेन्ट तहमा समेत भारतको अविरल हस्तक्षेप कायम छ । त्यसका पछाडि नेपालको राज्य सञ्चालनको विधिमा रहेका नेताहरूका राष्ट्रिय आत्मसमर्पणवादी नीति र पराधीन कूटनीति पनि धेरै हदमा जिम्मेवार छ । भारतलाई मात्र होइन नेपाललाई पनि हिन्दु राष्ट्र बनाउने र नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्ने आरएसएसको नीतिलाई भारत सरकारले बेला–बेलामा फ्लो गर्न खोजेको देखिन्छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका पूर्वराजपरिवारलाई आमन्त्रित गर्ने र ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राटका रुपमा सम्बोधन गरेर अभिनन्दन गर्ने गरेको देखिन्छ । नेपालको जलस्रोत, भूमि आदिमाथिको भारतीय हस्तक्षेप निरन्तर जारी रहँदै आएको छ । त्यसकारण सन् १९५० देखि नै नेपाल र भारतका बीचको सम्बन्ध अत्यन्त उतारचढाव र तनावपूर्ण रहँदै आएको छ । मोदी युगमा नेपालको सार्वमौमिकता, स्वतन्त्रता र भूअखण्डतामाथिको हस्तक्षेप थप गम्भीर हुँदै आएको छ । भाजपाको मोदी नेतृत्वको सरकारले भारतको छिमेक कूटनीति सम्बन्धी गुजरात डक्ट्रिनको उच्चारणसम्म गर्न चाहँदैन । नेहरू डक्ट्रिनको मार्गलाई समेत अस्वीकार गर्दै आएको छ ।

आजको भारत सरकारले बल्लभभाइ पटेल डक्ट्रिनलाई आदर्शका रुपमा स्वीकार गर्दै आएको पाइन्छ । भारतको सत्ता राजनीतिमा मोदी युग शुरु भएपछि भारत र पाकिस्तानका बीचको शत्रुतापूर्ण अन्तर्विरोध अरु तीव्र हुँदै गएको छ । त्यसैको परिणाम दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) थला परेको छ ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पहल र नेतृत्वमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गलाका खाडीका देशहरूको प्रयास (बिम्स्टेक) को भूमिकालाई महत्त्वकासाथ अगाडि बढाएको देखिन्छ । किनभने बिमिस्टेकमा पाकिस्तान सदस्य छैन । सैद्धान्तिकरुपमा सार्क दक्षिण एशियाका प्रतिक्रियावादी सरकारहरूको क्षेत्रीय गठबन्धन भए तापनि आजको पूँजीवादी विश्व व्यवस्थाभित्र दक्षिण एशियाका केही क्षेत्रीय र मौलिक समस्याहरूलाई विश्वका मञ्चहरूमा उठाउने प्रश्नमा सार्कको महत्त्व थियो । विशेषत: भारत र पाकिस्तानको शत्रुतापूर्ण अन्तर्विरोधका कारणले सार्क शिथिल अवस्थामा रहेको छ । समग्रमा भाजपाको मोदी नेतृत्वको सरकार हिन्दु सम्प्रदायवादी छ । विपक्षीमाथि असहिष्णु छ ।

भारतको भूगोलमा यो सरकारले फासीवादको अभ्यासको आरोप खेपिरहेको छ । क्षेत्रीय राजनीत र कूटनीतिका प्रश्नहरूमा उसका हैकम, अधिनायकवादी शैली र व्यवहारमा आधारित विस्तारवादी नीतिहरू अरु आक्रामक ढङ्गले अगाडि बढिरहेका छन् । भाजपा र मोदी सरकारको समग्र पक्षलाई हेर्दा भारत एककोहोरो ढङ्गले हिन्दु सम्प्रदायवादी क्षेत्रीय महाशक्ति बन्ने धुनमा सक्रियापूर्वक क्रियाशील भइरहेको देखिन्छ । भाजपाका नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सांस्कृतिक राष्ट्रवादलाई भारतका स्वतन्त्र बुद्धिजीवी तथा प्रवुद्ध नागरिकहरूले धर्मनिरपेक्षता र भारतीय लोकतन्त्रका अगाडि उपस्थित ठूलो हाँकका रुपमा लिएका छन् । भारतमा दिनहुँ मोदी सरकारको सांस्कृतिक फासीवादी अभ्यासका विरुद्धमा प्रदर्शनहरू भइरहेका छन् ।

गुजरातमा भएको सन् २००२ को नरसंहारप्रति भारतका प्रधानमन्त्री मोदी सामान्यरुपमा आत्मालोचितसम्म छैनन् । सो घटनाका सम्बन्धमा उनलाई कुनै पश्चाताप भएको सम्म अनुभूति पाइन्न । यथार्थमा नरेन्द्र मोदी सन् २००२ को मेन्टालिटीबाट मूलभूतरुपमा टसमस भएको सङ्केत पाइँदैन । तर बिडम्बना ⁄ सन् २००२ मा गुजरातमा भएको घटनालाई लिएर सन् २००५ मा मोदीलाई अमेरिका भ्रमणमा प्रतिबन्ध नै लगाएको अमेरिकाले भर्खरै सम्पन्न मोदीको अमेरिका भ्रमणमा रातो कार्पेट विछ्याएर भव्य स्वागत गरेको छ । भारत र दक्षिण एशियाको क्षेत्रीय राजनीति र कूटनीतिमा यति धेरै अप्रजातान्त्रिक प्रश्नहरू उठेका मोदीप्रतिको अमेरिकाको यस प्रकारको भव्य स्वागत र सम्मानका पछाडि केही क्षेत्रीय र भूमण्डलीय राजनीतिक परिस्थितिहरूले काम गरेका छन् । अमेरिकी साम्राज्यवादका लागि प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकार विश्व राजनीतिमा देखाउने दाँत मात्र हुन् । आफ्नो साम्राज्यवादी स्वार्थ परिपूर्तिका निमित्त अमेरिका जे सुकै गर्न तयार हुन्छ भन्ने कुरा अमेरिकी इतिहासले नै प्रष्ट पार्दछ ।

भियतनाम, हाइटी, इराक, अफगानिस्तान आदि मुलुकहरूमाथि सैन्य हस्तक्षेप, तानाशाह सुहार्तोलाई उचालेर इण्डोनेशियामा कम्युनिष्ट संहार तथा चिलीमा सैनिक तानाशाह फिनोचेटलाई उचालेर एलेन्दे नेतृत्वको वामपन्थी सरकारको अपहरण र कम्युनिष्ट संहार केही सीमित उदाहरणहरू हुन् । ती घटनाहरूको तुलनामा अमेरिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको दृष्टिकोण बदल्नु र भूमण्डलीय राजनीतमा खेल्नका निमित्त भारत उपयोगको नीति लिनु सामान्य कुराहरू हुन् । आजको परिस्थितिमा चीनको उदयका कारण समग्र दक्षिण एशिया भूमण्डलीय राजनीतिको सरोकारको भूगोलमा परिणत भएको कारणले अमेरिकाका राष्ट्रपति जेम्स वाइडेनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७५ जना आफ्ना सांसदहरूको विरोधका वावजुद अमेरिकाको दुवै सदनमा सम्बोधन गर्ने अवसर प्रदान गरे । भव्य राजकीय महत्त्वको रात्रिभोजमा सामेल गराए । अमेरिकाको यो सामान्य कूटनीतिक सिफ्ट होइन । किनभने द्वितीय विश्वयुद्ध पछाडिको सिङ्गो शीतयुद्धकालभरि अमेरिका र भारतका बीचमा कहिल्यै सुमधुर सम्बन्ध कायम रहेन । भारत र अमेरिका सम्बन्ध कहिले तनाव र कहिले सामान्य अवस्थाबाट गुज्रियो ।

अमेरिका एउटा त्यस्तो साम्राज्यवादी मुलुक हो जसले एउटा सामान्य मतभेदको अवस्थामा पनि तेस्रो संसारका मुलुकहरूलाई अपमान गर्न पछि पर्दैन । सन् १९६५ मा अमेरिकाले उत्तरी भियतनाममाथि बम बर्षाउन थाल्यो । भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले त्यसको कडा विरोधमा प्रतिक्रिया दिए । त्यसको जबाफमा अमेरिकाले शास्त्रीको प्रस्तावित अमेरिका भ्रमणको तालिकालाई रद्द गरिदिएको थियो । त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जोन्सनले आफूलाई फुर्सद नभएकोले शास्त्रीजीको अमेरिका भ्रमण रोक्नुपरेको जबाफ दिएका थिए । सन् १९७० मा संयुक्त राष्ट्र सङ्घ स्थापनाको २५ अौँ जयन्तीमा भाग लिन भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी न्यूयोर्क गएकी थिइन् । त्यस अवसरमा अमेरिकाका कुनै एकजना पदाधिकारी पनि इन्दिरालाई विमानस्थलमा स्वागत गर्न आएनन् । विदेशी पाहुनाहरूको सम्मानमा तत्कालीन अमेरिकी राष्ट्रपति निक्सनले वासिङ्गटनमा एक रात्रिभोजको आयोजना गरेका थिए । श्रीमती इन्दिरा गान्धीले सो रात्रिभोजको बहिष्कार गरेर न्यूयोर्कबाट सिधै भारत फुर्केकी थिइन् ।

इन्दिरा गान्धी भारत फर्कने बेलामा एकजना अमेरिकी पदाधिकारी विमानस्थलमा उनलाई विदाइ गर्न आएका थिएनन् । शीतयुद्धकालमा भारत असंलग्न आन्दोलनको एउटा अगुवा मुलुक रहेता पनि भारतको सुमधुर सम्बन्ध तत्कालीन सोभियत सङ्घसित रहँदै आएको थियो । सन् १९९० मा सोभियत युनियनको पतनले र विश्व राजनीतिमा नवउदारवादको फणा विस्तारमा मदत पुर्‍यायो । त्यसपछि भारत अमेरिकासँग नजिक हुँदै नवउदारवादी अर्थतन्त्रको दिशामा गएको थियो । आज पनि भारत र रूसका बीचमा रहेका सम्बन्धका तन्तुहरू टुटेका छैनन् । भारत कच्चा तेल, रासायनिक मल बनाउने कच्चा पदार्थ, हतियार आदिमा रूस निर्भर छ । यतिबेला अमेरिकाले भारतमा लगानी गर्न डलर प्रवाह गर्ने र आफ्नो पक्षमा उभ्याउने कूटनीति अपनाएको छ । रूस युक्रेन युद्धमा तटस्थ बसेको भारतलाई युक्रेनको पक्षमा उभ्याउने र चीनका विरुद्धमा अरु उफार्ने अमेरिकाको रणनीति बुझ्न गाह्रो छैन । त्यसका लागि अमेरिकाले भारतमा राम्ररी पयर पसार्न चाहन्छ । नेपालमा त अमेरिका एक वा दोस्रो बहानामा सैनिक अड्डा नै राख्न चाहन्छ । त्यसैले अमेरिकाले सन् २०१४ सम्म साम्प्रदायिक आतङ्कवादी करार गरेर तिरस्कार गरेको व्यक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अङ्गालो हाल्न पुगेको छ । तर भारतलाई रूससितको पुरानो व्यापारिक र अन्य कूटनीतिक लगायतका सम्बन्धहरूको तन्तु चुँडालेर अमेरिकी मार्गमा उभिन सजिलो छैन ।

दक्षिण एशियामा क्षेत्रीय रुपमा भारतीय विस्तारवाद र भूमण्डलीय रुपमा अमेरिकी साम्राज्यवादको प्रभाव र विस्तार सामान्य समस्या होइनन् । जुन समस्याका कारणले उत्पीडित देशहरूले टाउको उठाउन सकिरहेका छैनन् । भारतमा बढ्दै गएको अमेरिकी प्रभावको विस्तारलाई चीनले स्वाभाविकरुपमा आˆनो सुरक्षा चुनौतीका रुपमा लिन्छ । त्यसकारण अमेरिकी साम्राज्यवादको दक्षिण एशियामा नै हुने उपस्थिति यो क्षेत्रका लागि शुभ सङ्केत होइन । अमेरिकी कूटनीति व्यापार जस्तै हो जसको कुनै स्वरूप छैन । अमेरिक फस्ट भइरहनु मात्र उसको खेल हो । त्यसका लागि उसले दक्षिण एशियामा मैदान खोजिरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित