मुलुक अहिले अपराधलाई मलजल गर्ने थलोको रुपमा विकास भएको छ । पछिल्लो समयका केही गतिविधिमात्रै हेर्दा विभिन्न अपराधी क्रियाकलाप मौलाउँदै गएको थाहा हुन्छ । देशलाई अपराध कर्ममा संलग्नहरूले पद पैसा पहुँच सबैको दूरपयोग गरी मुलुकमा अपराधिक गतिविधि गरेका छन् । अपराध कर्ममा संलग्नहरूले राजनीतिक संरक्षण तथा दलीय संरक्षणबाट आफ्ना अपराधी कर्मलाई बढावा दिएका छन् । व्यक्तिगत रुपमा र सङ्गठित रुपमा देशमा अपराध गरिरहेका भेटिएका छन् । व्यक्तिगत रुपमा गर्ने अपराधहरूमा चोरी, ढाँट, छल, बलात्कार, हत्या, हिंसा, ठगी जस्ता गतिविधि छन् । सङ्गठित रुपमा राज्यका उच्च पदस्थ कर्मचारी, पदाधिकारी, मुलुकको जिम्मा सम्हालेका उपप्रधानमन्त्री देखि लिएर गृहमन्त्रीसम्म अपराध कर्ममा सहभागी भएका छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरण इतिहास कै उच्च पदस्थको संलग्नता रहेको प्रकरण थियो । यस प्रकरण किर्ते सङ्गठित, अपराध, मानव बेचविखनको प्रकरण थियो । यस प्रकरणले देशको छविमा अन्तर्राष्ट्रिय रुपमा कालो धब्बा लागेको छ । यो घटना सेलाउन नपाउँदै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको काण्ड ललिता निवास काण्ड बाहिरियो । हुनत यो लामो समयावधिको काण्ड हो तर पनि अहिले खोजविन हुँदैछ । सरकारी जग्गा व्यक्तिका नाममा बनाउने कर्ममा मालपोतका कर्मचारीदेखि जग्गा दलाल, मन्त्रीहरू, व्यापारी, धनाढ्य कहलिएका व्यक्तिहरू सबैको संलग्नता भेटिँदैछ । गिरफ्तारहरूलाई हिरासतमा राखेर छानविन हुँदैछ ।
यो काण्डको छानविन भइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिँदै गर्दा राजस्व अनुसन्धान कार्यालयले १०० किलो सुन बरामद गरेको छ । त्यस काण्डमा संलग्न केहीलाई गिरफ्तार गरिएको छ । तर मुख्य अभियुक्त अझै गिरफतार भएका छैनन् । गिरफतारहरूमाथि अनुसन्धान जारी छ । यस घटनाले देशमा तस्करी, अपराध ठगीको काम सरकारी निकायको आँखै अगाडि भइरहेको छ भन्ने देखाउँछ । यो घटनाले देशमा देशी विदेशी तस्करको सक्रियता र केन्द्र बनेको बताउँछ ।
अहिले वैदेशिक रोजगारमा जानेहरू ठगिएका घट्नाहरू आएका छन् । संलग्नलाई कानुनी दायरामा ल्याउन सकिरहेको अवस्था छैन । वैदेशिक रोजगार विभाग र प्रहरीमा वैदेशिक रोजगारीको शिलशिलामा अर्बौं ठगी भएको उजुरी आएका छन् । ताता राता रगत भएको युवाहरूलाई विभिन्न मुलुकको प्रलोभन दिएर लाखौँ ठग्नेहरू कति छन् कति ? वैदेशिक रोजगारीमा ठगी भएका उजुरीमा नआएका घटना धेरै छन् । मुलुकमा वित्तिय संस्थाहरूको ठगी मौलाउँदो छ । रकम हिनामिना गरेर सर्वसाधारणलाई ठग्नेहरू धेरै छन् । मिटर व्याज पीडितहरूको कहाली लाग्दो अवस्था रहेको छ । उनीहरू अहिले पनि धर्ना जुलुसमा रहेका छन् न्यायको पर्खाइमा बसिरहेका छन् ।
देशमा भ्रष्टाचार, दलाली घुसखोरी कमिसनखोरी रातारात भइरहेको छ । सर्वसाधारण ठगिने, लुटिने क्रम जारी छ । राज्यलाइई कर छली क्रम बढिरहेको छ । यी यस्ता घट्नाहरू हेर्दा देशमा अपराध मौलाउँदो छ । देश अहिले देशी विदेशी व्यक्ति गिरोहको अपराध गर्ने नाका वा केन्द्रको रुपमा रहेको छ । मौका मिल्नासाथ देशमा आफैले बनाएका वा देशका नियम, कानुन आचार संहिता र निर्णयहरू लत्याइएका छन् । मूल्य मान्यता र प्रक्रियाहरू मिचिएका छन् । देशका कानुन नियमहरू अविश्वाशिला बनेका छन् । जन मानसमा अब के हुन्छ र ? भन्ने जस्तो धारणा बनेको छ । विश्वासको वातावरण निकै खलबलिएको छ ।, अपराधीहरू रमाइरहेका छन् । अपराधीले उम्कने बाटो पाइरहेका छन् ।
अब देशलाई अपराधको अखडा हुनबाट बचाउनु पर्दछ । देशलाई अहिले जस्तो अवस्था रहिरहन दिने हो भने अपराध सङ्गठित अपराधको जालो झनै बढ्न सक्ने छ । अपराधीको मनोबल बढ्ने छ । देशमा बेथिति झाँगिन सक्दछ । यसले देशको छवि नै धुमलिन पुग्दछ । अब सबैले मुलुकलाई अपराधीकरण हुनबाट जोगाउन ध्यान दिनु पर्दछ । अपराधमा संलग्न जो जो छन् कारवाहीको दायरामा ल्याउनु पर्दछ । राज्यले केही बहानालाई स्वीकार गर्नु हुँदैन । मुलुकलाई अपराधको अखडा बन्न दिनु हुँदैन । राज्यले हर तरहले अपराधलाई हटाउन लाग्नु पर्दछ ।