मेघराज भट्टराई ••
खासमा पुँजीवादी व्यवस्था झुठ, लुट, शोषण, भ्रष्टाचार मै टिकेको हुन्छ । पुँजीवाद पनि दुई किसिमका हुन्छन् । राष्ट्रिय पुँजीपतिले चलाएको पुँजीवाद र दलाल पुँजीवाद जो कमिसन मै टिकेको हुन्छ । आज विश्वका अधिकांस देशको व्यवस्था दलाल पुँजीवादी व्यवस्था हो । राष्ट्रिय पुँजीपतिले चलाएको पुँजीवादमा आफ्नै देशको उत्पादन हुन्छ कृषि होस या उद्योग । त्यो देश आत्मनिर्भर हुन्छ र जनतालाई केही राहत आधारभूत समस्याको समाधानका लागि राज्यले उपलब्ध गराएको हुन्छ । जस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, तलब, भत्ता राम्रो हुन्छ । तर पनि यो पनि राज्यको स्वामित्व नभएको कारण अधिकांश लाभ जनताले लिन पाउँदैनन् । दलाल पुँजीवादमा त केवल माफिया भ्रष्टाचारी ठग दलाल मात्र मोटाउँछन् ।
यो व्यवस्थामा जनताको लागि राज्यले गर्ने खर्च शुन्य हुन्छ तर जनतालाई अत्यधिक कर महङ्गी, कालोबजारीबाट शोषण गरेर नै राज्य सत्ता टिकेको हुन्छ । हाम्रो देशमा यही दलाल पुँजीवादी व्यवस्था छ । यहाँ ठुला ठुला भ्रष्टाचार हुने गरेका छन् । कुनै बेला पुजा नाम गरेकी एक जना महिला जो मानव तस्करी गर्थिन उनी काबुलमा ठूलो सानसँग बसेकी थिइन् । अमेरिकन कम्पनीमा नेपाली सुरक्षा गार्ड उपलब्ध गराउँथिन । बदलामा मोटो रकम कमिशन खान्थिन् । धेरै नेपालीलाई अमेरिकन दुतावास र निजी कम्पनीहरू जस्तो (डाइनाकोर्प, ब्लु, सुप्रिम, आइ टि जि, ब्लाक वाटर आदि) ठाउँमा गार्ड लगाइ दिने काम गरिन ।
दिल्लीमा अशोका होटेलमा अफ्गानिस्तानको दुतावास थियो । त्यो समय हजारांै नेपालीलाई अफ्गानिस्तान पुर्याइन । काम पनि लगाइन तर नेपालीले केही राम्रो तलब त पाएको देखियो त्यो भन्दा दोब्बर उनै पूजाले बुझिन नेपाली ठगियो । पछि धेरै नेपाली भए पछि काम पाउन पनि छोड्यो । उनले आखिरमा लागु औषध तस्करी गरेको आरोपमा काबुलको हामीद कर्जाइ बिमानस्थलबाट पक्राउ परिन् । उनले यौनाङमासम्म कोकिन लुकाएर ल्याउन लागेको प्रमाणित भयो । हाल कहाँ छिन जानकारी छैन । यहाँ यो लेख्नुको पछाडिको कारण के हो भन्दा दलालहरूलाई खर्च गर्ने बानी बसेको हुन्छ । त्यसैले अनैतिक नैतिकको कुरा नै हुँदैन जे पनि गर्छन् । आफ्नो ऐयासीको लागि । हेर्नु त हाम्रै देशको अवस्था आफुलाई सर्वहारा वर्गको नेता भनाउँदाहरू नै ठूला ठूला महल, महँगा गाडी, सुनका सिक्री, जुत्ता, लवाइ खवाइ हेर्नु त कस्तो अवस्था छ ? यिनको यो सान बानको आर्थिक श्रोत के हो ? न पैत्तृक सम्पत्ति थियो न आफ्नो कुनै व्यवसाय नै छ तर पनि अरबाँैको सम्पत्ति कसरी आयो ?
अफ्गानिस्तान कै एउटा घटना याद आउँछ एक जना शिक्षा मन्त्रीले १ हजार ४ सय विद्यालय कागज मै मात्र खोलेको देखियो । फिल्डमा जाँदा केही नाम निसान नै थिएन । यस्तै घटना आर्मी पुलिसहरूले पनि गर्थे । आज हाम्रै देशको अवस्था पनि यही छ । नेपालीलाई भुटानी बनाएका छन । सुनलाई तामा, पित्तल बनाउँछन् । प्रधानमन्त्री निवास नै बेची दिन्छन् । जहाज नै खान्छन् । विमानस्थलको हाल हेर्नु त । कस्तो छ ? जो मजदुरी गर्न विदेश जान लागेको हुन्छ उसलाई नेपाली हुनुमा हिनताबोध हुने काम यिनै कर्मचारीले गरेका हुन्छन् । ८ घण्टासम्म रोकेर राखेको घटना अस्ती भर्खर भएको थियो । यिनको स्वार्थ पुरा हुने काम जस्तो अपराधी भए पनि छोडि दिन्छन् ।
यो देश कर्मचारीतन्त्रले खोक्रो बनाएका हुन् । राजनीतिक पार्टीको हस्तक्षेप रोक्ने क्षमता कर्मचारीसँग हुन्छ । यदि सिङ्गो कर्मचारीतन्त्र एक भएर राष्ट्रको लागि काम गर्ने हो भने एक जना नेताको के मन्त्रीको पनि केही लाग्दैन । सुन तस्कर, रक्त चन्दन तस्कर, मानव तस्कर, सुपारी, जिरा, मरिच, पेट्रोल, डिजल, काठ माटो, ढुङ्गासम्म तस्करी हुन्छ । यही व्यवस्था चलाउनको लागि । यहाँसम्म कि ठुला पदमा आसिन नेता कर्मचारीहरू ड्राइभरको नाममा, सुरक्षाकर्मीको नाममा, सफाइ कर्मचारीको नाममा पैसा राज्यसँग असुल्छन् जुन पैसा जनताको रगत पसिनासँग साटिएको हुन्छ । त्यसैले यो दलाल पुँजीवादी व्यवस्थाको अन्त्य आजको आवश्यकता भैसकेको छ । यो कुरा नेपाली जनताले जत्ति छिट्टो बुझ्ने छन् त्यति छिट्टो हाम्रो मुक्ति हुने छ ।