रामबहादुर बुढा ••
१. “निसन्देह नै लेखकले लेख्ने र बाँच्ने सम्भावनाका लागि कमाउनु पर्दछ । तर कमाउनका लागि लेख्नु हुँदैन । ”–कार्ल माक्र्स । माक्र्स र एङ्गेल्सको पालामा यूरोपमा पत्रकारिताको विकास भइसकेको थियो । त्यतिबेला लेखकलाई लेख लेखे वापत पारश्रमिक दिने चलनको विकासस भइसकेको थियो । माक्र्सले लेखकले बाँच्न र लेख्नका लागि कमाउनु पर्दछ तर लेखकले कमाउने उद्देश्य मात्र राख्नु हुँदैन भन्नु भएको छ । ठूला पुँजीपतिहरूको प्रशंसा र उनीहरूको कहानी लेख्ने हो भने वा पुँजीपतिहरुको हित हुने गरी लेख्ने हो भने धेरै कमाई हुन सक्दछ । तर कमाईका लागि विरोधी वर्गको हितमा लेख्नु हुँदैन । उनीहरूले सधैधरी आफ्नो वर्गको हितमा लेख्न पर्दछ । माक्र्सको माथिको भनाई नै कम्युनिस्ट पार्टीका लेखकहरूका लागि सिद्धान्त हो । कम्युनिस्ट पार्टीका लेखकहरू उक्त लेखकीय सिद्धान्तबाट विचलित हुनु हुँदैन । विश्व विख्यात साहित्यकार माक्सिम गोर्कीले भन्नु भएको छ, “लेख्नु मानिसको निरिहता हैन । उसको जीवनको अनुभवको विपुलता हो । ” त्यसरी गोर्कीले लेखन कार्यलाई मानिसको कमजोरी नभएर जीवनको अनुभवको महानता हो भन्नुभएको छ ।
२. लेख भनेको के हो?
– कुनै विषयमा लेखेर प्रकट गरिएको विचार वा कुरो नै लेख हो । लेखलाई लिखत, लेखोट, रचना पनि भन्ने गरिन्छ ।
( नेपाली बृहत शब्द कोष– २०७५)
(Article– piece of writing, complete in itself, in a newspaper, magazine etc. – Oxford Dictionary (1994)
३. लेखका प्रकारहरू
– राजनीतिक लेख
– वैचारिक लेख (सैद्धान्तिक लेख)
– दार्शनिक लेख
– समसामयिक लेख
– साहित्यिक लेख
– व्याबसायिक लेख
– विवरणामक लेख
– सृजनात्मक लेख
– प्राज्ञिक लेख
– प्रतिवेदन लेखन
– दस्ताबेज लेखन
– माइन्युट लेखन
– ज्ञापन पत्र लेखन
– तमसुक लेखन
– निवेदन लेखन
– पत्र लेखन
– समाचार लेखन
– अनुसन्धानमूलक लेख ।
लेखकले सबैभन्दा पहिले के लेख्दै छु भन्ने कुरा स्पष्ट हुनु पर्दछ । जे लेख्न खोजेको हो त्यस सम्बन्धी नियम वा मान्यताबारे जानकारी हुनुपर्दछ । मानौँ एक जनाले समसामयिक लेख लेख्न चाह्यो भने उसलाई त्यस सम्बन्धी सामान्य मान्यताको जानकारी हुनुपर्दछ ।
साहित्य लेख्दै हो भने कुन विधामा लेख्न थालेको हो–समालोचना, जीवनी, कथा, उपन्यास, मुक्तक, गद्य कविता, पद्य कविता, हाइकु, गजल, लघु कथा, नियात्रा । जे लेख्न खोजेको हो त्यसबारे सामान्य नियम र मान्यता थाहा हुनुपर्दछ । “धेरे वर्ष पहिले एका देशमा एउटा राजा थिए । उनका दशवटी श्रीमती थिए ….. ।” यसरी एउटा लेखकले लेखे भने उल्लेखित वाक्य कथामा राम्रै हुन्छ । तर यो प्राज्ञिक लेख बन्न सक्दैन । प्राज्ञिक लेखनले तथ्यको माग गर्दछ । धेरै वर्ष भन्नाले कति वर्ष पहिले ? कुन मितिमा, कुन राजा ? कुन देशमा ?
साहित्यले जनतालाई भावनात्मक रुपमा प्रभाव पार्न मद्दत पुर्याउने हुनाले साहित्यिक लेखनको आफ्नै महत्त्व छ र तर्क र तथ्यका आधारमा जनतालाई आफ्नो विचारमा सहमत गराउन प्राज्ञिक लेखनको अर्को महत्त्व छ ।
४. शीर्षक छनौट:
लेखको शीर्षक लेखका मुख्य भावलाई उजागर गर्ने, आकर्षक र संक्षिप्त हुनु पर्दछ । लेखको शीर्षक, कतिपय अवस्थामा लयात्मक बनाउन सकिन्छ । जस्तै काठमाडौँमा बालेनको बल मिचाई, खेतीका बेला किसानहरूमा खटपट । कतिपय शीर्षक जिज्ञासा जगाउने खालको पनि बनाउन सकिन्छ । जस्तै फुट्ने नै भयो त छो रोल्बा ताल ?” सैद्धान्तिक प्रकृतिका लेखको शीर्षक प्राय: गम्भीर प्रकृतिका हुन्छन् । जस्तै माक्र्सवादी दृष्टिकोणमा छुवाछूत प्रथा ।
५. लेखको संरचना
घर बनाउनु भन्दा पहिले घर बनाउने । सामग्री गिटी, रड, इँँटा, बालुवा, काठ जम्मा गरे जस्तै लेख लेख्नु भन्दा पहिले लेखलाई चाहिने सामग्री जम्मा गर्नुपर्दछ । एउटा इन्जिनियरले भवन बनाउँदा कागजमा नक्सा कोरे जस्तै लेखकले मनमा लेखको काल्पनिक नक्सा बनाउनु पर्दछ । लेख यहाँबाट शुरु गरेर, बीचमा यी कुरा लेखेर लखेको अन्त्य यसरी गर्छु भनेर फ्रेम बनाउन पर्दछ ।
– प्रारम्भ
– मूल भाग
– अन्त्य
अर्थात्
–टाउको
– शरीर
– पुच्छर
६. कोहरेन्स ( सुसङ्गतता) :
वाक्य र बाक्यको वीचमा वा अनुच्छेद र अनुच्छेदका वीचमा, वा शीर्षक र लेखको सुसङ्गतता हुनु पर्दछ ।
७. शीर्ष वाक्य र सहयोगी वाक्य (Topic Sentence and supporting sentences)
सकभर अनुच्छेदको सुरुमा शीर्ष वाक्य हुनु पर्दछ र त्यो शीर्ष वाक्यलाई पुष्टि गर्ने गरी सहयोगी बाक्यहरू बनाउनु पर्ने हुन्छ ।
जस्तै लेखको पहिलो अनुच्छेदको पहिलो वाक्य “काठमाडौँ प्रदुषित शहर हो । ” भन्ने छ भने किन, कसरी, कहिलेदेखि भन्ने प्रश्न मार्फत् तथ्यहरू जोड्दै सहयोगी वाक्यहरू बनाउँदै जानुपर्दछ ।
८. प्राज्ञिक लेखनमा त्रिपल सि छुटाउनु हुन्न भन्ने मान्यता छ । C–Concept (अवधारणा) Comparision (तुलना) र Context (सन्दर्भ) ।
जस्तै –“पशुमा लम्की स्कीन रोगको प्रकोप” बारे लेख लेख्नु पर्यो भने अवधारणामा लम्की रोग भनेको के हो ? त्यसको परिभाषा र त्यसका लक्षणहरू दिन सकिन्छ । तुलना गर्दा लम्की स्कीन रोग यसभन्दा पहिले पनि आएको भए त्यो बेला र यो बेलामा के समानता र के भिन्नता रह्यो ? नेपाल र अन्य देशमा त्यो रोगको प्रभाव वा नेपालमै पनि फरक फरक भेग वा जिल्लामा त्यो रोगको प्रभावको तुलनात्मक अध्ययन वा अन्य सरुवा रोग र यसको तुलनात्मक अध्ययन गर्न सकिन्छ । सन्दर्भमा यसको उत्पत्ति कसरी भयो । यो कसरी फैलियो भनेर राख्न सकिन्छ ।
९. लेख लेख्ने कुरा जान्ने भएर लेख्ने हैन । जे जानिएको छ त्यहीबाट लेख्न शुरु गर्नुपर्दछ । जान्दै, लेख्दै, जान्दै, लेख्दै गरेमा नै लेखक बन्न सकिन्छ ।