दमौली, २१ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे ।
विदेशबाट फर्किएर कागतीखेती सुरु गर्नुभएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ । ”
पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।
“उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ । ” उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।
भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन । ”
ठकुरीले गत वर्ष प्रतिकेजी रु ८० मा बिक्री गरेका थिए । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । “चितवनमा बुझ्दा किलोको रु ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा रु एक सयसम्म पनि आएको छ”, उनको भनाइ छ ।
विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उनले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका थिए । हालसम्म रु १५ लाख लगानी भइसकेको उनको भनाइ छ ।
उनको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए ।
कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनी बताउँछन् । कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । उनले भने, “बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो । ”
बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उनको अनुभव छ ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दु꞉ख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए । “उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन, कृषि सडक कृषि उत्पादन नभएको ठाउँमा लगियो”, उनले भने, “कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु । ” तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।