दमौली, २३ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति ९रासस०बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो ।
कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए ।
उनले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताए । उनले भने, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको पहल गरेका हौँ । छलफल सकारात्मक भएको छ । ”
छलफलका क्रममा गुणस्तरीय कागती उत्पादन हुनसके फलफूल बजारले कागती खरिद गर्ने विषयमा सहमतिसमेत भएको छ । समितिको कार्यकारी निर्देशक पुडासैनीले यहाँ दैनिक १५ हजार कागतीको माग रहेको र अधिकांश कागती भारतबाट आउने गरेको जानकारी दिए । उनले भने, “९५ प्रतिशत भारतीय कागती आउँछ, नेपाली कागती आउन सके किसानले राम्रो मूल्य पाउन सक्छन् । ”
कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालिमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो रु एक सयदेखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उनका अनुसार टिपेको चार÷पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ ।
देवघाट देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका छन् । विदेशबाट फर्किएर कागती खेती सुरु गर्नुभएका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ । ”
पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थाल्नुभएको छ । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।
भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन । ”
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागतीखेती कृषकलाई बगैँचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जिल्ला रु २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।