भक्तबहादुर श्रेष्ठ ••
जसरी मालहरूका बीच पाइने अनेकौँ भेदहरूलाई मुद्राले मेटाइदिन्छ, त्यसरी नै हरेक सानो ठूलोको भेदलाई खत्तम पारेर सबैलाई बराबर पार्ने हुनाले, आफ्नो पालो आएपछि त्यसले हरेक किसिमका भेदभाव खत्तम पार्छ । तर, मुद्रा एउटा माल हो, एउटा बाह्य वस्तु हो, जो कुनै पनि व्यक्तिको निजी सम्पत्ति बन्न सक्ने क्षमता राख्दछ । यसप्रकार सामाजिक शक्ति अलग अलग व्यक्तिहरूको निजी सम्पत्ति बन्न जान्छ । त्यसकारण प्राचीन कालका मानिसहरूले मुद्रालाई आर्थिक एवं नैतिक व्यवस्था भङ्ग गर्ने चीज सम्झन्थे र त्यसलाई भत्र्सना गर्दथे । आधुनिक समाजका मानिसहरूले भने सुनलार्ई आफ्नो जीवनको मूल सिद्धान्तका रुपमा त्यसको स्वागत गर्दछन् ।
मालले एउटा उपयोगमूल्यको हैसियतबाट कुनै खास आवश्यकता पूरा गर्दछ र भौतिक धनको एउटा विशिष्ट तत्त्व बन्दछ । तर, कुनै मालको मूल्य त्यसमा भौतिक धनको अन्य सबै तत्त्वहरूलाई आफूतिर आकर्षित पार्ने कति शक्ति छ भन्ने कुराले नापिन्छ, त्यसैकारणले त्योसित मालिको सामाजिक धनको तुलना हुन्छ । यो सत्य हो कि त्यो कहिले त स्वयं उसको आफ्नो मूल्यको परिवर्तनको परिणामको हुन्छ र कहिले मालहरूको मूल्यमा हुने परिवर्तनका कारणले मुद्राको मूल्य बदलिइरहन्छ ।
सुनलाई मुद्राको रुपमा रोकिराख्न र त्यसलाई अपसञ्चित धनको रुप दिन, त्यसलाई परिचलनमा भाग लिन दिनु हुँदैन । त्यसकारण अपसञ्चय गर्नेहरूले विषय सुखका इच्छाहरूलाई आफ्नो सुनको देवताको अगाडि बलिदान गर्दछन् र त्यसले सन्यासी धर्मको पालना गर्दछ । अर्कोतिर, त्यसले मालहरूको रुपमा परिचलनमा जति लगाएको छ, त्यसभन्दा बढी त्यसले बाहिर निकाल्न सक्दैन । त्यसले जति पैदा गर्दछ, त्यति नै बिक्री गर्न पाउँछ । त्यसकारण कठोर परिश्रम गर्नु, पैसा बनाउनु र लोभमा फस्नु, यी तीन त्यसका मुख्य गुण हुन्छन् र त्यसको सारा अर्थशास्त्र धेरै बिक्री गर, कम खरिद गर भन्ने हुन्छ ।
अपसञ्चित धनको यो सामान्य रुपको साथसाथ हामी सुन र चाँदीबाट बनेका वस्तुहरूको सङ्ग्रहका रुपमा त्यसको कलापूर्ण स्वरूप पनि पाउँछौँ । यो रुप पुँजीवादी समाजको धनको साथसाथै बढ्दछ । यसप्रकार एकातिर सुन र चाँदीले मुद्राको रुपमा जुन काम गर्दछ, त्यससँग सम्बन्ध नराख्ने सुन र चाँदीको लागि एउटा लगातार बृद्धि हुने बजार पैदा हुन्छ र अर्कोतर्फ मुद्राको पूर्तिका लागि एउटा गुप्त स्रोत तयार हुन्छ, जसलाई सङ्कट र सामाजिक विद्रोहका बखत सहाराका रुपमा लिइन्छ ।
धातुको परिचलनको अर्थव्यवस्थामा अपसञ्चयले हरेक प्रकारको काम गर्दछ । त्यसको पहिलो काम सुन र चाँदीका सिक्काहरूका चलनमा लागु हुने परिस्थितिहरू उत्पन्न हुन्छ । हामीले देखिसकेका छौँ कसरी मालहरूको परिचलनको विस्तार एवं तीव्रता तथा त्यसका दामहरूमा लगातार आइरहने घटबढको स्थितिका साथ चालु मुद्राको मात्रामा पनि निरन्तर ज्वारभाटा आइरहन्छ । त्यसकारण चालु मुद्राको राशीमा फैलिने र खुम्चने क्षमता हुनुपर्छ । एकसमय मुद्रालाई सिक्काहरू जस्तै काम गर्न आकर्षित गर्नुपर्छ, अर्को समयमा त्यसलाई धकेलेर बाहिर पठाइदिनुपर्छ, जसले गर्दा त्यसले फेरि धेरथोर मुद्राको जस्तै काम नगर्न थालोस् ।
मुद्राको काम र मुद्रास्फिति
मुद्राको पहिलो काम हो–मूल्यहरूलाई नाप्नु । यसले मालहरूलाई तुलना गर्न सक्ने बनाउँछ, जसले अमूर्त सामाजिक श्रमको प्रतिनिधित्व गर्छ । यो काम काल्पनिक मुद्राले पूरा गर्छ । यो काम धातुको एउटा निर्दिष्ट मात्राले गर्छ, जुन कुनै पनि देशको मुद्राको एकाई हुन्छ । मुद्राको दोस्रो काम हो –परिचालनको माध्यम बन्नु । मुद्रा उत्पत्ति हुनुभन्दा पहिले एउटा वस्तु अर्को वस्तुसँग विनिमय हुन्थ्यो । मुद्रा उत्पत्ति हुनासाथ मुद्रा दुइृ क्रियाहरूमा विभाजित भयो : माल–मुद्रा–माल बिक्री गरेर मुद्रा प्राप्त गर्ने र मुद्रा–मालमा मुद्राद्वारा माल खरिद गर्ने । परिचलनको प्रक्रियामा मुद्रा एउटाको हातबाट अर्काको हातमा जान्छ, यो काम मूल्यको प्रतिकले पनि लिन सक्छ । धातुको मुद्रा खिइन्छ, सिद्धिन्छ, तोकिएको मात्राभन्दा कम । यसै पनि त्यसले आफ्नो मूल्य कम गरी नै रहन्छ । पछि राज्यले त्यसको ठाउँमा कागजको मुद्रा नोट चलनचल्तीमा ल्यायो । कागजी मुद्रा मूल्यको मापदण्ड हुन सक्दैन, किनभने त्यसको आफ्नो कुनै मूल्य हुँदैन, यसले केवल प्रतिकको रुपमा सुनको प्रतिनिधित्व गर्छ ।
सार्वजनिक सम्पत्तिको एउटा मूर्तरुपको रुपमा मुद्रालाई अपसञ्चयको एउटा साधनको रुपमा उपयोग गरिन्छ । यो काम वास्तविक मुद्राले मात्र पूरा गर्न सक्छ । अपसञ्चय वास्तविक रुपमा मालहरूको नियमित उत्पादनका लागि आवश्यक हुन्छ, किन भने प्रत्येक माल उत्पादकलाई मुद्रा सुरक्षित गरेर राख्ने आवश्कता हुन्छ । जुन प्रकारले मालहरूको बीच पाइने प्रत्येक गुणात्मक भेद मुद्रामा लोप हुन जान्छ, त्यस्तै प्रकारले मुद्राले मालको तलमाथिको भेदभाव खत्तम पारेर सबैलाई बराबर बनाइदिने हुनाले आफ्नो पालो आएपछि हेरक किसिमको भेदभाव मेटाइदिन्छ । माथि नै उल्लेख गरियो, मुद्रा स्वयं माल भएकाले कुनै पनि व्यक्तिको निजी सम्पत्ति बन्न सक्छ । माल र मुद्राहरूको सम्बन्धमा प्रगतिको साथसाथ मुद्राको शक्ति बढ्छ र मुद्रालाई सञ्चित गरेर राख्ने मानिसको इच्छा बढ्छ । त्यसकारण मुद्रालाई सञ्चित गरेर राख्ने इच्छाको प्रकृति यस्तो हुन्छ कि त्यसबाट तुष्टि कहिल्यै हुँदैन ।
मुद्राको अर्को काम हो –भुक्तानको साधन बन्नु । यसको सम्बन्ध लिने र दिनेसँग हुन्छ । जससले उधारो बिक्री गर्छ र मुद्राको त्यो ऋण भुक्तान गर्ने काम गर्छ । उधारो बिक्री विकसित पुँजीवादको विशिष्टता हो । यस विकासको परिणामस्वरूप ऋण मुद्राको आविर्भाव भयो । जुन बेलादेखि माल उधारो लिन शुरु भयो त्यसबेलादेखि हुन्डी जारी भयो । चेक ऋण–मुद्राको एउटा प्रकार हो । मुद्राले करहरू, लगान आदिको सम्बन्धमा पनि भुक्तानको काम गर्छ । कागजी मुद्राले पनि यो काम पूरा गर्न सक्छ, तर यो सजिलैसँग सुनमा बदल्न सकिने हुनुपर्छ ।
कागजकोे मुद्रा बढी प्रचलनमा ल्यायो भने यसको मूल्य ह्रास हुन्छ । आधुनिक पुँजीवादी परिस्थितिहरूमा मुद्रास्फिति बढी मात्रामा हुन्छ । किनभने पुँजीवादी तथा साम्राज्यवादी मुलुकहरूले अन्धाधुन्द रुपमा फौजी खर्च बढाउन र बजेट घाटा पूर्ति गर्न बढी मात्रामा कागजका नोट निकाल्छन् । यसले गर्दा बैङ्क नोट र कागजका नोटहरूमा कुनै अन्तर पर्दैन । कुनै पनि देशमा बैङ्क नोटहरू सुनसँग विनिमय हुँदैनन् । यसले गर्दा कागजी मुद्राले सुनको आधिकारिक प्रतिनिधित्व गर्न सक्दैन र मुद्रास्फीति हुन्छ, त्यसैले महङ्गीमा बृद्धि हुन्छ । यस महङ्गीको भार साधारण जनतामाथि पर्न जान्छ र जनताको वास्तविक आय घटेर जान्छ । फलस्वरूप उत्पादन लागत कम हुन्छ र पुँजीपतिको मुनाफा चाहिं बढ्छ । मुद्रा स्फीतिले साना उद्योगहरूलाई नराम्रो असर पार्छ, जसले गर्दा तयारी वस्तुहरूका लागि महङ्गोमा मूल्य चुकाउनु पर्छ । मुद्रास्फीति बाहेक महङ्गीको बृद्धि एकाधिकारवादी पुँजीपतिहरूले मूल्य बढाउने नीतिका कारणबाट पनि हुन्छ ।
वस्तुहरूको चमत्कार वा “दैवी स्वरूप”
वस्तुहरू जब तयार भएर उत्पादकको हातबाट बजारमा जान्छन्, त्यसपछि उत्पादकको निर्णय हुँदैन । आज यदि कुनै वस्तुको सट्टामा उत्पादकहरूले १० रुपियाँ पाउँछन् भने भोलि त्यही वस्तुको ५ रुपैयाँ पनि पाउन सक्छन् । वस्तुको मूल्यसँग उत्पादक र उसको श्रमको कुनै सम्बन्ध छैन जस्तो देखिन्छ । वस्तुको आफ्नो छुट्टै अस्तित्त्व छ र त्यसको मूल्य आफै निर्धारित हुन्छ । वस्तुमा उत्पादकको नियन्त्रण हुँदैन, बरु उत्पादकमाथि वस्तुको नियन्त्रण हुन्छ । माक्र्सले यसको उल्लेख गर्दै लेखेका छन्:“यसप्रकारको वस्तुले एउटा दैवी रुप धारणा गर्छ र यो वस्तुको चमत्कार हो । वस्तुको दैवी स्वरूपको जस्तै मुद्राको पनि दैवी स्वरूप देखिन्छ । वास्तवमा मुद्रा केवल वस्तुको मूल्य नाप्ने एउटा साधन हो र त्यसको विनिमयको माध्यम हो । बाहिरी रुपबाट हेर्दा यस्तो लाग्छ कि मुद्राको मालिकले सबै वस्तुहरू खरिद गर्न सक्छ, त्यसकारण वस्तुहरूमा मुद्राको अधिकार कायम छ र मुद्रा, वस्तुहरूको मूल्यको अभिव्यक्तिको साधन होइन, बरु वस्तुहरूले नै मुद्राको प्रभुत्वलाई व्यक्त गर्दछ, यो मुद्राको चमत्कार हो ।
माक्र्सले लेखेका छन् :“मानिसले आफ्नो किस्मतबाट प्रकृतिले दिएका पदार्थका रुपहरूलाई पढेर आफूलाई उपयोगी हुने चीज बनाउँछन् । ” जस्तो काठको मुढोलाई कुर्सीमा परिवर्तन गरिदिन्छन्, यस्तो परिविर्तन गरिए पनि काठ काठ नै रहन्छ । जब यो मालको रुपमा अगाडि आउँछ, त्यो इन्द्रियजनित वस्तुमा बदलिन्छ । श्रमबाट पैदा हुने वस्तुहरू जसरी मालको रुपमा पैदा हुन थाल्दछन्, त्यसरी त्यसमा यी गुणहरू पनि टाँसिन्छन् । तसर्थ यसलाई मालहरूको उत्पादनबाट अलग गर्न सकिंदैन ।
मानिसको श्रममा सामाजिक दृष्टिबाट उपयोगी हुने जुन गुण छ, श्रमबाट उत्पन्न हुने वस्तु केवल उपयोगी मात्र होइन, अरुका लागि पनि उपयोगी हुनुपर्छ । उसको विशिष्ट श्रममा अरु विशिष्ट प्रकारका श्रमहरू समान हुने जुन गुण विद्यमान रहन्छ, त्यसका कारण श्रमबाट पैदा हुने शारीरिक रुपबाट बेग्लाबेग्लै प्रकारका सम्पूर्ण वस्तुहरूमा एउटा गुण समान रुपमा रहेको हुन्छ, त्यो हो मूल्य । जब वस्तुहरूले मूल्यको गुण प्राप्त गर्छन्, तब ती गुणले मूल्यको मात्राको रुपमा यी वस्तुहरूका पारस्परिक क्रियाप्रक्रियाबाट स्थिरता प्राप्त गर्दछन । मूल्यका यी मात्राहरू बराबर बदलिइरहन्छन् । यसरी बदलिरहनु उत्पादकहरूको इच्छा, दुरदर्शीता र क्रियाकलापबाट स्वतन्त्र हुन्छ । वस्तुहरूले उत्पादकहरूको शासनमा रहनुको साटो उल्टो उत्पादकहरूमाथि शासन गर्न थाल्छन् ।
मूल्यको नियम र उत्पादकशक्तिहरूको विकासमा त्यसको प्रभाव
मूल्यको नियम एउटा वस्तुगत आर्थिक नियम हो र त्यसले माल उत्पादनलाई नियन्त्रणमा राख्छ । यस नियम अनुसार सामाजिक श्रम मालहरूको मूल्यमा व्यक्त हुन्छ र मालहरूको विनिमय त्यसमा लागेका सामाजिक रुपबाट आवश्यक अमूर्त श्रमको मात्रा अनुरुप हुन्छ । फेरि मालहरूको विनिमय जहिले पनि त्यसरी प्रकट हुन्छ, जुन सधै मूल्य अनुसार हुँदैन । व्यक्तिगत स्वामित्वमा आधारित माल उत्पादन अन्तर्गत घटबढ भइरहन्छ । यो उत्पादकहरूका बीच बारम्बार प्रतियोगिता र मागपूर्तिको अनुपातमा निरन्तर परिवर्तनको कारणले हुन्छ । यस्तो घटबढले मूल्यको नियमलाई उद्योगहरू र उत्पादनका विभिन्न शाखाहरूका बीच अनुपातहरूको एउटा स्वाभाविक नियम बनाउँछ । जब पूर्तिभन्दा माग बढी हुन्छ भने माल सस्तो हुन्छ र उत्पादकले उत्पादन कम गर्न बाध्य हुन्छ । जब माग पूर्तिभन्दा बढी हुन्छ उत्पादकले माल उत्पादन बढाउँछ ।
जुन उत्पादकले मालहरू उत्पादन गर्दा सामाजिक रुपको आवश्यक श्रम मात्राभन्दा कम खर्च गर्छ, यसले अतिरिक्त आम्दानी गर्छ । किनभने मूल्य सामाजिक रुपबाट आवश्यक श्रमद्वारा निर्धारित हुन्छ । त्यसकारण उत्पादकहरूले नयाँ नयाँ प्रविधिहरू लागु गर्नु र उत्पादनका सङ्गठनहरू सुधार गर्नु आवश्यक हुन्छ । यसरी मूल्यको नियमको स्वतस्फूर्त क्रियाले उत्पादक शक्तिहरूको विकासलाई प्रोत्साहित गर्छ । यस्तो सीमित रुपबाट नै हुने गर्छ किनभने लामो समयसम्म अतिरिक्त आम्दानी प्राप्त उनीहरूले गरिरहन नयाँ मेसिनहरू र प्रविधिलाई गोप्य राख्दछन् ।
जुन उत्पादकले आवश्यक मात्रा भन्दा बढी लगानी लगाउँछ र उत्पादनलाई सङ्गठित पार्न सफल हुँदैन, त्यो खत्तम भएर जान्छ । यसरी टाट पल्टेका माल उत्पादक मजदुर बन्छन् र विकसित माल उत्पादकहरू अरुको श्रमको शोषक बन्छन् । त्यसकारण साधारण माल उत्पादनले पुँजीवादी सम्बन्धलाई जन्म दिन्छ ।
मुद्रा पुँजीमा रुपान्तरण हुन्छ
मालहरूको परिचलन पुँजीको प्रस्थानविन्दु हो । मालहरूको उत्पादन, त्यसको परिचलन र परिचलनको त्यो बढी विकसित रुप, जसलाइ वाणिज्य भनिन्छ–त्यसबाट त्यो ऐतिहासिकक आधार तयार हुन्छ, जसबाट पुँजी प्रकट हुन्छ । पुँजीको आधुनिक इतिहास सोह्रौँ शताब्दीमा विश्वव्यापी वाणिज्य तथा विश्वव्यापी बजारको स्थापनाबाट आरम्भ हून्छ ।
मालहरूको परिचलनको सरलतम रुप हो –मा–मु–मा, अथवा मालहरू मुद्रामा रुपान्तरण र मुद्रा फेरि मालहरूमा परिवर्तन, भनौँ खरिदका लागि बिक्री गर्नु । तर, यस रुपको साथसाथ हामी अर्को एउटा रुप पनि पाउँछौँ, जुन त्यसभन्दा विशिष्ट रुपबाट भिन्न हुन्छ । त्यो हो, मु–मा–मु, अर्थात् मुद्रा मालहरूको ढङ्गबाट परिचालित हुन्छ, त्यो पुँजीमा रुपान्तरित हुन्छ, त्यो पुँजी बन्न जान्छ ।
हामी मु–मा–मु माथि केही विचार गरौँ । दोस्रो ढङ्गको बाटो जस्तै यो बाटो पनि परस्पर विरोधी अवस्था भएर गुज्रन्छ । पहिलो अवस्थामा मु–मा–मु अथवा खरिदमा, मुद्रालाई मालमा बदलिदिन्छन् । दोस्रो अवस्थामा मा–मु–मा अथवा बिक्रीमा माल फेरि मुद्रामा बदलिन्छ । यसरी कुनै माल बिक्री गर्ने उद्देश्यबाट खरिद गरिन्छ, अथवा खरिद गर्ने र बिक्री गर्नेका बीच जुन अन्तर छ, यदि त्यसलाइृ देखेको नदेखै गर्यो भने यसरी पहिले मुद्राबाट एउटा माल खरिद गरिन्छ र फेरि एउटा मालबाट मुद्रा खरिद गरिन्छ । पूरै प्रक्रियाको परिणाम, जसमा त्यसका अवस्थाहरू लोप हुन जान्छन्, अनि के देखिन्छ भने मुद्रावर्ग मुद्रासँग विनिमय, मु–मु हुन्छ ।
मा–मु–मा को परिचलनको बाटोमा एउटा मालबाट आरम्भ हुन्छ र अर्को मालमा समाप्त हुन्छ, जुन परिचलनभन्दा बाहिर उपभोगमा जान्छ । उपभोग, आवश्यकताहरूको तुष्टि हो, एकै शब्दमा भन्दा उपयोग मूल्य त्यसको लक्ष्य एवं उद्देश्य हुन्छ । यसका विपरीत मु–मा–मु, मुद्राबाट आरम्भ हुन्छ र मुद्रामा गएर समाप्त हुन्छ । त्यसकारण त्यसको प्रमुख उद्देश्य तथा त्यो लक्ष्य, जसले उसलाई आकर्षित गरेको छ, केवल विनिमय मूल्य हुन्छ ।
मालहरूको साधारण परिचलन खरिद गर्नको लागि बिक्री गर्नु एउटा यस्तो उद्देश्य कार्यान्वित गर्ने साधन हो, जसको परिचलनसँग कुनै सम्बन्ध हुँदैन । अर्थात् त्यो उपयोग मूल्यहरूलाईृ हस्थगत गर्ने वा आवश्यकताहरू पूरा गर्ने साधन हो । यसका विपरीत पुँजीको रुपमा मुद्राको परिचलन, आफैमा एउटा लक्ष्य हुन्छ, मूल्यको विस्तार केवल बारम्बार हुने गरिने भित्र नै हुन्छ । त्यसकारण पुँजी परिचलनको कुनै सीमा हुँदैन ।
यस गतिको सचेत प्रतिनिधिको रुपमा मुद्राको मालिक पुँजीपति बन्न जान्छ । त्यसको व्यक्तित्व अथवा त्यसको थैली नै त्यो विन्दु हो, जहाँबाट मुद्राले यात्रा शुरु गर्छ र त्यही फेरि फर्केर आउँछ । त्यसकारण, उपयोग मूल्यलाई पुँजीपतिको वास्तविक लक्ष्य कहिल्यै सम्झिन हुँदैन र न कुनै व्यापारमा मुनाफा कमाउने त्यसको लक्ष्य हो भनेर सम्झिनु हुन्छ । मुनाफा कमाउने र लगातार र अन्तरनिहित क्रिया नै त्यसको एक मात्र लक्ष्य हुन्छ । धनको यो कहिल्यै सन्तुष्ट नहुने लोभ, विनिमय मूल्यको यो प्रबल लालचा पुँजीपति र कन्जुसमा समान रुपमा पाइन्छ । तर, जहाँ पागल भएको पुँजीपति हुन्छ, त्यहाँँ पुँजीपति विवेकपूर्ण कन्जुस हुन्छ । कन्जुसले आफ्नो मुद्रालाई परिचलनबाट बचाए र विनिमय मूल्यमा अन्तहीन बृद्धि गर्ने प्रयास गर्छ, त्यसभन्दा बढी चतुर पुँजीपतिले यही लक्ष्य, आफ्नो मुद्रालाई बारम्बार परिचलन गरेर प्राप्त गर्दछ ।
साधारण परिचलनमा मालहरूको मूल्य, जसले स्वतन्त्र रुप अर्थात् मुद्रा रुपमा धारण गर्दछ, त्यसले केवल एउटै काम गर्दछ, त्यो हो– विनिमय र गति पूरा भएपछि स्वतन्त्र रुप गायव हुनु । यसको विपरीत मु–मा–मु मा मुद्रा र माल दुवैले केवल मूल्यको दुई भिन्न अस्तित्त्व रुपहरूको प्रतिनिधित्व गर्दछन् । मुद्राले त्यसको सामान्य रुपको प्रतिनिधित्व गर्दछ, मालले त्यसको विशिष्ट रुपको अथवा त्यसको छद्म रुपको प्रतिनिधित्व गर्दछ । किनभने भौतिक पदार्थ पुँजी हुँदैन, भौतिक पदार्थको मूल्य पँुँजी हुन्छ । मूल्यले लगातार एउटा रुपलाई छाडेर अर्को रुप धारणा गर्छ, त्यसकारण यो कहिल्यै लोक हुँदैन, यसप्रकार त्यो स्वयं आफै नै सक्रिय रुप धारणा गर्छ । स्वयं आफै विस्तार हुने यो मूल्य आफ्नो जीवनक्रमको दौरानमा पालैपालो बेग्लाबेग्लै रुप धारणा गर्दछ । त्यसमध्ये प्रत्येकलाई हामीले छुट्यायौँ भने हामीलाई दुई प्रस्थापनाहरू प्राप्त हुन्छन् । एउटा हो– पुँजी मुद्रा हुन्छ, दोस्रो पुँजी माल हुन्छ ।
त्यसकारण मूल्य एउटा प्रक्रियाको सारतत्त्व हो, किनभने त्यसले कहिले मुद्राको र कहिले मालको रुप धारणा गरिरहन्छ । तर, यस्तो परिवर्तन भएर पनि स्वयं सुरक्षित रहन्छ र फेरिंदै जान्छ । त्यसकारण त्यसलाई यस्तो स्वतन्त्र रुपको आवश्यकता हुन्छ, जसबाट उसलाई कुनै पनि बेला थाहा पाउन सकियोस् । यस्तो रुप त्यसलाई केवल मुद्राको रुपमा नै प्राप्त हुन्छ । मुद्राको रुपमा नै मूल्य स्वयं आफ्नो स्वतस्फूर्त पुँजीको प्रत्येक क्रियाको आरम्भ गर्दछ ।
क्रमश: