नेपाल कृषि प्रधान देश हो । कृषि प्रधान देशका किसानहरूले पाउनु पर्ने सुविधाहरू पाईरहेका छैनन् । किसानले पाउनु पर्ने समयमा मल, बिउ विजन पाईरहेका छैनन् ।, उचित मूल्य र बजारको अभाव जस्ता समस्याहरू किसानहरूले झेलिरहेका छन् । किसानले मरी मरी काम गरेर उब्जाउनु पर्दछ । किसानले उब्जाउने काम नगरे सबै जना भोकै बस्नुपर्ने हुन्छ । तर किसानहरूले मरी मरी उब्जाउने खेती बाली भने कहिल्यै सुरक्षित हुन सकेको छैन । खेतिबाली जङ्गली जनावरले खाईदिएर सखाप पार्ने गरेका छन् । यसले किसानहरू हैरान छन् । कैयौँ किसानहरू जङ्गली जनावरले बालीनाली नष्ट गरेकाले हैरान भएर बसाई नै सरेका छन् । किसानहरू प्राकृतिक प्रकोप बाढी, खडेरी, भूक्षय र पहिरो, डुवान जस्ता समस्याले संधै जस्तो पीडित बनिरहेका छन् ।
जङ्गली जनावरहरू बाँदर, बँदेल, हात्ती गैडाले बालीनाली नष्ट गरेर रात दिन कुरुवा बस्दा पनि खेती जोगाउन सकिरेका छैनन् । जङ्गलबाट बथानै आउने सुगा, ढुकुर जस्ता चराहरूले लगाएका बाली सबै सकिदिने गरेका छन् । जब पाक्ने बेला आउँछ तब बथानै आएर सबै अन्न बालीलाई सकेर जान्छन् । महङ्गो बिउ, मल पानी, ज्यालाले लगाएको खेती नष्ट हुँदा किसान समस्यामा छन । यस्ता यस्ता समस्याले पीडित भइरहेका बेला अहिले फेरी देशव्यापी रुपमा लम्पी स्कीन जस्तो रोगबाट लाखौँ पशुहरू गाइ, भैसी, गोरु चौँरीहरू मरेका छन्, ठूला सङ्ख्यामा सङ्क्रमित भएका छन् । यसले किसानलाई गर्यो गर्यो केही नहुने अवस्थामा पुर्याएको छ । किसानले निकै आस मानेर पालिरहेका पशु चौपायाँको लगातारको मृत्युले किसानहरू निकै मर्माहात भएका छन् । यसले देशमा दूध, मासुजन्य पदार्थको अभाव हुनेछ । रोग नियन्त्रण गर्नको लागि कहीँ कतै बाट पहल भइरहेको छैन । रोग लागेका पशु चौपायाको छट्पटी हेरेर बस्न बाध्य भएका छन् किसानहरू । यसका कही कतैबाट नत राहतको व्यवस्था हुन सकेको छ नत पशु चौपायाको उपचार नै भएको छ ।
यो लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिको पूर्ति गर्न निकै गाह्रो छ । अहिलेदेशका अधिकांश भागमा खडेरीका कारण रोपाइँ हुन सकिरहेको छैन । हाम्रो खाद्यान्नको भण्डार तराइँमा अधिकांश स्थानमा रोपाइँ हुन सकिरहेको छैन । रोपाइँ भएका जमिनहरू पनि सुकेर रोपो हरू सुकेका छन् । यसले आउनेसाल उत्पादन कम हुनेछ । सकी नसकी महङ्गो ज्याला, महङ्गो प्रविधि । महङ्गो विउ खर्चेर लगानी लगाएका किसानहरू निकै पीडित बनेका छन् । यस्ता समस्याहरू कैयौँ वर्षौङ्का समस्या हुन भने कैयौँ समस्या अहिले मात्र देखिएका समस्या हुन् । वर्षौंदेखि किसानहरूले भोग्दै आएका समस्याको बारेमा देश सञ्चालक, नीति निर्माताहरूले समाधानका लागि खासै ध्यान दिएको देखिँदैन । जस्तो सिँचाईको समस्या समाधान एक्लो प्रयास बाट तत्कालै समाधान गर्न सकिने विषय होईन । सिँचाइको समस्या समाधान गर्नको लागि राज्यले दीर्घकालिन योजना बनाउनु पर्दछ । सिँचाईका ठला आयोजनाहरू छिटो निर्माण गर्नु पर्दछ । देशमा सदावहार बगिरहने ठूला ठूला नदीहरू छन् । सरकारले, सत्तामा बस्नेहरूल,े नीति निर्माताहरूले, चाहने हो भने खडेरी परेर जमिन सुक्खा हुने स्थिति आउँदैन । पानीको पर्याप्तता जति पनि रहेको छ । सदाबहार पानी बगिरहेको छ तर पानी को उपयोग कसरी गर्ने ? र उत्पादन कसरी बढाउने भन्नेमा कसैको ध्यान गएको छैन । किसानहरूले साना तिना खोला नालाबाट परम्परागत रुपमा सिँचाईको व्यवस्था गर्दै आएको जमिनमा उत्पादन राम्रै भएको हुन्छ तरपनि यो उत्पादन सबै जङ्गली जनावरबाट जोगाएर भित्र्याउन निकै गाह्रो हुँदै गएको छ ।
किसानहरू अहिले प्रविधिको प्रयोग उन्मुख भइरहेका छन् जस्तो जोत्ने गोरुको प्रयोगको स्थान अब ट्याक्टरले लिएको छ । झाँट्ने, ठटाउने काममा अहिले मेसिनको प्रयोग हुन थालेको छ । यो सबैको भाडा तिर्न नसकेर किसान हैरान छन् । कैयौँले सहकारी तथा समुहबाट ऋण काढेरमात्रै यी काम गर्ने अवस्थामा पुगेका छन् । यसले किसानहरूको अवस्था झन् पछि झन् दयनीय भएको छ । महङ्गो लगानी उठाउन नसक्ने अवस्थामा किसान पुगेकाले किसानहरू किसानी पेसा पनि छोडेर अरुनै काम गर्नतिर लागेका छन् । किसानका छोराछोरी कामको खोजीमा विदेश गईरहेका छन् । किसानहरूको यस्तो स्थिति भएको अवस्थामा सम्बन्धित पक्षको ध्यान जानु पर्दछ । राज्यले सबै प्राकृतिक तथा अन्य क्षतिबाट पीडित किसानलाई राहत, सुविधा दिन, मल, विउ, विजन दिन, सस्तोमा प्रविध तथा प्राविधिक सुविधाको व्यवस्था गर्न ध्यान दिनु पर्दछ । स्थानीय तहले प्रत्यक्ष स्थानीय किसानसङ्ग सम्पर्क गरी उनीहरूका समस्याको सुनुवाई गर्नु पर्दछ । उत्पादित सामानको कुहिएर जाने अवस्था आउन दिनु हुँदैन । बजारीकरणको व्यवस्था गर्नुपर्दछ । हाल लम्पी स्कीन रोगबाट पशु चौपाया गुमाएका किसानलाई तत्काल राहतको घोषणा गर्नु पर्दछ । यस्ताखालका किसानका समस्यालाई समाधान गर्न राष्ट्रिय स्तरबाटै पहल गर्नु पर्दछ । किसानको राहतको लागि किसान मैत्री नीतिको अवलम्बन गर्नु पर्दछ ।