रामबहादुर बुढा ••
करिव छ महिना पहिले कृष्ण अधिकारी, घनश्याम न्यौपाने, विमल पोख्रेल, दीपेन्द्र कुँवर र म एउटा छोटो चियागफमा नयाँ पुस्तकको विमोचनमा बोलाउँछु चिया खान आउनु पर्दछ भनेर हामी सबैलाई विमल पोख्रेलले निम्तो गरेका थिए । “पुस्तक प्रकाशनको शुभकामना छ । समयले भ्याएसम्म आउँला” भनेको थिएँ । त्यतिन्जेल सम्म किताबको नाम जुरेको थिएन ।
नयाँ पुस्तकले “धरतीको इन्द्रेणी” नाम बोकेर आएछ । स्वागत छ “धरतीको इन्द्रेणी” लाई अनि बधाई छ लेखक विमल पोख्रेलजीलाई ।
पुस्तक विमोचनको आˆनो महत्त्व छँदैछ । पुस्तक विमोचनको बहानामा विभिन्न साथीहरूलाई भेट गराउनु, वर्षौं सम्म पनि भेट हुन नसकेका साथीहरूको जमघट अनि सम्बन्धको नवीकरण विमोचन कार्यक्रम भन्दा महत्त्वको कार्यक्रम थियो भन्ने मलाई लाग्यो ।
कार्यक्रममा पत्रकार तथा लेखक अरुण बराललाई पुस्तक समीक्षकहरू मध्ये एक समीक्षक राख्नुलाई मैले निकै गतिलो कामको रुपमा लिएको छु । साउन १३ गतेको पुस्तक विमोचन कार्यक्रममा म अलि ढिलो पुगेछु । अरुण बरालजीको भाषण सुन्न पाइन । कार्यक्रम सकिए पछि अरुण बरालजीलाई मैले सोधेँ, हैन, प्यूठानको तपाईको सन्दर्भ जोड्नु भयो कि भएन । बोली भुइँमा खस्न नपाउँदै उनले भने, “भने भने, कुरा गरे मैले । ” म ९ कक्षामा पढ्ने बेला अरुण बराल प्यूठानको मच्छीको ओखरकोट हाइस्कूल पुगेका थिए । एक दिन यसो कक्षा दशको झ्यालबाट हेरेको एउटा लिखुरे युवाले अखिल (छैठौँ)को प्रशिक्षण दिइरहेको देखे । उनी नै थिए अरुण बराल । त्यसको केही दिन पछि बिजुवार स्थित स्वर्गद्वारी क्यम्पसमा अखिल (छैठौँ) को आठौँ जिल्ला सम्मेलन भयो ।
विभिन्न ठाउँबाट विद्यार्थीका जुलुस आए । एउटा ट्रेक्टरमा आएको जुलुसमा जिन्स पाइन्ट घुँडामा च्यातिएको, सानो हैण्ड माइकले नारा लगाउँदै गरेका उनै लिखुरे अरुण बराल देखिए । प्यूठानका धेरै ठाउँ घुमेर अखिल (छैठौँ) प्यूठानको आठौँ जिल्ला सम्मेलन सफल पार्न बरालले विशेष योगदान पुर्याएका थिए । मेरो कक्षामा एक जना गुल्मीका पन्थी थरका साथी थिए । ती पन्थीको पनि काटीकुटी अरुण बरालकै अनुहार सित अनुहार मिल्थ्यो । बराल प्यूठान छाडेर गए तर हामीले पन्थीलाई अरुण बराल भनेर हाँसी मजाक गर्दथ्यांै । बराल पछि लेखक, पत्रकार बने । उनको लेखनीमा कहिले काहीँ प्यूठानको सन्दर्भ आउने गर्दछ । जनआस्थाको पत्रकार हुँदा खबाङका मगर बुढा, ढुËे गढीका मगरका कुरा आˆना लेखमा जोडेका थिए ।
पूर्व धनकुटाको व्यक्ति क्रान्तिकारी पार्टी खोज्दै जाने क्रममा उनी मसालको सम्पर्कमा आए । दिनानाथ शर्माले अरुण बराललाई मसालको राजनीति सिक्न भनेर काठमाडौबाट प्यूठान पठाएका रहेछन् । त्यही सन्दर्भमा उनको केही गरौँ भन्ने कलकलाउँदो उमेरको केही समय प्यूठानमा बिताएका थिए । लेखक कुनै ठाउँ बिशेषको हुँदैन । तैपनि, प्यूठानमा जन्मिएका लेखक विमल पोख्रेलले प्यूठानसँग भावनात्मक सम्बन्ध भएका अरुण बराललाई समीक्षक बनाएर प्यूठानसँग टुटेको कडी जोडे भनौ कि सम्बन्धलाई निरन्तरता दिए भनौँ कि सम्बन्धको नवीकरण गरे भनौँ जे गरे पनि राम्रो गरे ।
यस पुस्तकका २३ वटा लेखहरू मध्ये ११ हाँक साप्ताहिकमा, ३ अन्नपूर्ण पोष्टमा, १ योद्दामा, १ अठोटमा, १ नेपाल खबर डटकममा छापिएका र ६ वटा अप्रकाशित लेख रहेकाछन । पोख्रेलका धेरै जसो लेखहरू मैले पहिले नै पढेका लेख रहेछन् । तर पनि पढेका लेख पुन: पढ्दा पुनर्ताजगी भयो । पहिलो लेखको शीर्षक “अङ्ग्रेज हारेको जीतगढी” छ । पाल्पाको तानसेनमा अहिले पनि भगवती जात्रा लाग्दछ । त्यहाँ ठूलो भगतीको मन्दिर छ । त्यो मन्दिर कर्णेल उजिर सिंहले बनाएका हुन ।
नेपाली सेनाका कर्णेल उजिर सिंहले हे भगवती मलाई विजय गराइदेऊ म प्रत्येक वर्ष तिम्रो पूजापाठ गर्ने छु, जात्रा लगाउने छु भनी भाकलगरी युद्धमा गएका र अङ्ग्रेज विरुद्धको युद्ध जिते पछि त्यो जात्राको चलन चलाएका थिए भन्ने भनाइ छ । २०७४÷२०७५ तिर भारतीय राजदूतावासले जीतगढी किल्ला क्षेत्र भित्र स्थायी संरचना बनाउने कामलाई अगाडि बढाउन थाल्यो । त्यो कुराको स्वीकृति प्रचण्ड नेतृत्वको सरकारले विगतमै गरेको थियो । पूर्व सभासद, राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव सन्तबहादुर नेपालीको संयोजकत्वमा बुटवलको जीतगढी किल्लाक्षेत्रमा भारतीय पेन्सन क्याम्पको स्थायी संरचना त्यहाँ बनाउन नदिन ठूलो आन्दोलन चलेको थियो ।
त्यो आन्दोलनलाई सहयोग गर्न रक्तिम साँस्कृतिक अभियानका कलाकारहरूले बुटवलका चोक चोकमा सडक नाटक प्रदर्शन गरेका थिए । अन्तत: त्यो आन्दोलन सफल पनि भयो । भारतीय दूताबासले त्यहाँ स्थायी संरचना नबनाउने भयो । स्वयं बुटवलका कैयौँ मान्छेलाई समेत जीतगढी किल्ला कहाँ हो भन्ने सम्म थाहा थिएन । त्यो आन्दोलन र सडक नाटकले जीतगढी किल्लाको गौरबशाली इतिहासलाई जनताको मन मस्तिष्कमा छाप पार्न सफल भएको थियो । यहाँ यो पुस्तकको लेख त्यो आन्दोलन भन्दा पहिले नै २०७१ तिर लेखिएकाले सन्तबहादुर नेपालीको संयोजकत्वमा सन्चालित आन्दोलन उल्लेख हुने कुरा भएन । त्यही आन्दोलनको पृष्ठभूमिमा प्रकाशित हुन सुरु भएको जीतगढी पत्रिका अहिले पनि संचालित छ ।
दोस्रो लेखको शीर्षक छ “सिन्धुलीगढीको किल्ला माथि” । जीतगढी किल्लाको इतिहास नेपाल एकीकरण पछिको इतिहास हो भने सिन्धुली गढीको किल्ला नेपाल एकीरण हुनु भन्दा पहिलेको इतिहास हो । गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौ खाल्डोलाई कब्जा गर्ने भयो भन्ने डरले काठमाडौका राजाहरूले आक्रमणबाट जोगिन अङ्ग्रेज फौजको सहयोग मागेकाथिए । सिन्धुलीको बाटो हुँदै काठमाडौँ तिर आइरहेका अË्रेज फौजलाई गोर्खालीहरूले सिन्धुलीबाट नै लखेटेका थिए । पुस्तक विमोचन कार्यक्रममा प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोख्रेलले भनेका थिए, “वास्तवमा यी दुई किल्लामा नेपालले नजितेको भए नेपालको इतिहास नै फरक ढËले पनि लेखिन सक्थ्यो । नेपाल नरहन पनि सक्दथ्यो । ” पोख्रेलले ठीकै समीक्षात्मक टिप्पणी गरे भन्ने लाग्छ ।
तेस्रो लेखको शीर्षक छ, “सुस्तादेखि पशुपतिनगर सम्म । ” चौथो लेख छ, गोविन्द गौतमको बलिदानको साक्षी” यो लेखमा लेखक पोख्रेलले कन्चनपुरमा भारतीय सीमा सुरक्षा बलले नेपाली भूमि अतिक्रमणको विरुद्ध सङ्घर्ष गर्दा सहादत प्राप्त गरेका गोविन्द गौतम बारे लेखेका छन् । गोविन्दको हत्या भए पछि लेखक पोख्रेल लगत्तै कन्चनपुर पुगेका थिए । कन्चनपुरबाट फर्किए पछि गौतमको हत्या विरुद्ध काठमाडौँमा अखिल (छैठौँ) र अखिल नेपाल युवक सङ्घले मशाल जुलुसको आयोजना गरेको थियो ।
मशाल जुलुस निकाल्ने बेला डिल्लिबजारको छैठौँको कार्यालय प्रहरीले घेरी सकेको थियो । मूल सडकमा निस्कदा बित्तिकै प्रहरीले हाम्रा राँकाहरू नबल्दै खोस्न लाग्यो । प्रहरीलाई झुक्काएर मसाल बालियो । प्रहरी मसाल खोसेर निभाउने, हामी मसाल खोस्न नदिने, तानातान र एक प्रकारको भीडन्त नै भयो । डिल्लीबजार बाटुलेघरबाट पुतलीसडकसम्म भिड्दै पुग्यौँ । अनिल किशोर घिमिरे र मलाई प्रहरीले गिरˆतार गरी महेन्द्र पुलिस क्लब पुर्यायो । पुलिस क्लब पुगे पछि थाहा भयो । राँकोले पोलेर मेरो दाहिने हातमा ठूला ठूला फोका उठेका थिए । जनमोर्चाका लालबहादुर थापाजीले महेन्द्र पुलिस क्लबमा रिसिभ गर्न जानू भएको थियो । आगोले पोलेको फोका फुट्यो । तर देशभक्त सहिद गोबिन्द गौतमको हत्या विरुद्ध सङ्घर्षको चिनो/टाटा रहिरहृयो ।
पाचौँ लेख छ “अखण्डताको मसाल बाले पछि । ” २०६८ चैत्र १९ गतेको सङ्घीयता विरुद्धमा राष्ट्रिय जनमोर्चाको जनकपुर – सगरमाथा बन्दको कार्यक्रमको नेतृत्व गरेको अनुभवलाई शब्द – चित्रमा लेखकले उतारेका छन । लाहानमा मसाल जुलुस गरेको, मधेशवादीदलका कार्यकर्ताको आक्रमणमा परेको घटनालाई उनले यहाँ उल्लेख गरेका छन । विमल पोख्रेल लाहानमा त्यो आन्दोलनको नेतृत्व गरिरहँदा के भयो होला भन्ने खुल्दुलीले म पटकपटक फोन सम्पर्क गरिरहन्थे । फोनबाट घटनाको रिपोर्ट लिइरहेको थिएँ । यो लेख पढ्नाले मलाई सङ्घीयताविरुद्ध सङ्घर्षका क्रममा पोख्रेल सित फोनमा गरेका कुराको स्मरण भयो ।
छैटौ लेख छ, “कैलालीका गाउँहरू । ” २०६७ साल पौषमा अखिल (छैटौँ) को राष्ट्रिय परिषदको बैठक र प्रशिक्षण धनगढीमा सम्पन्न भएको थियो । म पनि त्यहाँ प्रशिक्षणको लागि भनी पुगेको थिएँ । त्यो प्रशिक्षण पश्चात् म काठमाडांै फर्किएको थिएँ । प्रशिक्षण र परिषद् बैठक पछि विभिन्न टोली बनाएर विद्यार्थीहरूले सुदुर पस्चिमका जिल्लाहरूमा सËठनात्मक अभियान चलाएका थिए । यो लेख अनुसार विमल पोख्रेल कैलालीको टोलीमा परेका रहेछन् । यस लेखमा कैलालीलाई लेखकले काठमाडौँमा चर्चा गरिए जस्तो सुदुर पश्चिम दुर्गम नभएको उल्लेख गरेका छन । त्यो प्रशिक्षण र परिषद् बैठकको कुरा गर्दा मलाई त्यसबेलाको एउटा घटनाको याद आउँछ । दुर्गा शर्मा त्यतिबेला छैठौका अध्यक्ष थिए । मनोज भट्ट राजमोका उपाध्यक्ष र कृष्ण अधिकारी विद्यार्थी मोर्चाका इन्चार्ज थिए । कोठाबाट बाहिर निस्कँदा कृष्ण अधिकारी र मनोज भट्ट झगडा गरिरहेका थिए । कुरो के रहेछ भने कार्यक्रमको सेडुल बनाउँदा कृष्ण अधिकारीले मनोज भट्टलाई प्रमुख अतिथि बनाएनछन । “यदि के सीजी (चित्र बहादुर केसी) यहाँ आएको भए त उहाँलाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथि बनाइन्थ्यो पक्कै पनि । पोर्ट फोलियोको हिसाबले अहिले यो कार्यक्रममा म माथि छु । म नै प्रमुख अतिथि हुनु पर्दछ ।” – मनोज भट्टको कुरा यस्तो थियो । कृष्ण अधिकारीको भनाइ थियो – “यो परिषद बैठक हो । विद्यार्थीहरूले आˆनो बैठकको उद्घाटन आफैले गर्दछन ।” आखिरमा दुर्गा शर्माले परिषदको बैठक र मनोज भट्टले प्रशिक्षणको उद्घाटन गर्ने गरी कृष्ण अधिकारीले कार्यक्रमको सेडुल हेराफेरी गरेछन् । दुई जनाले दुई बेग्लाबेग्लै क्याण्डिल बालेर कार्यक्रमको उद्घाटन भयो ।
सातौ लेख छ, “हराएको साइकल । ” यो लेखमा पोख्रेलले पहिलोपल्ट साइकल देखेको, साइकल प्रतिको मोह, बुटवलमा साइकल चलाउन सिकेको, बुटवलमा चलाएको साइकल र काठमाडौमा हाँक साप्ताहिकको स्टाफ हुँदाको साइकल, अनि साइकल हराउँदाको पीडालाई निकै रोचक पाराले प्रस्तुत गरेका छन । यो लेखमा लेखकले समाजमा साइकल चलाउनेवालालाई तल्लो श्रेणीको ठानेर कसरी हेला गर्छन भन्ने प्रसङ्ग जोड्दै वर्ग भावना र वर्ग प्रेमलाई उजागर गर्न खोजेका छन् ।
आठौँ लेख “भीर पहरा छिचोले पछि”, “नवौँ लेख कालिकोटको जनजीवन”, “दशौँ लेख जहाँ ३२ जना मजदुर मारिएका थिए”, एघारौँ लेख “जुम्ला दुर्गम छैन” बाह्रौँ लेख “राराको सौन्दर्यमा” गरी यी पाँच वटै लेख अखिल (छैठौ) को साËठनिक कामले कर्णालीमा जाँदाको यात्रा संस्मरण समेटिएको छ ।
तेह्रौँ लेख उजाड मरिण खोला । यसमा सिन्धुली यात्राको बर्णन छ । चौधौँ लेख “रेलमा भेटिएको भारत” । पोख्रेलले २०७५ दशैमा भारत भ्रमण गरेका थिए । उनले त्यो भ्रमणकै सिलसिलालाई जोडेर यो शीर्षकमा लेख लेखेका छन । उनले लेखेका छन, “म दिल्ली घुम्ने भनेरै गएको थिएँ । ” उनी दिल्ली मात्र हैन चण्डिगड र चेन्नै पनि घुमेका थिए । यात्रा वर्णनलाई लेखकले रमाइलो पाराले प्रस्तुत गरेका छन । के त्यो भ्रमण साच्चै “घुम्ने भनेर” मात्र तय गरेका थिए ? घुम्नका लागि काठमाडौबाट दिल्ली, दिल्लीबाट चेन्नैसम्म प्लेनको यात्रा ! महत्त्वपूर्ण ठाउँको घुमघाम । त्यो यात्रा तय गर्न भन्दा पहिले कस कस सित सल्लाह भयो ? यी सबै कुरा त उनको लेखमा छैन । कुनै बेला लेखकले त्यो यात्राको अन्तर्य पनि खुलाउलान कि ? जे गर्लान । यो प्रसङ्ग यही छाडौँ ।
पन्ध्रौँ लेख सुदुर पश्चिम: पसिनाको सौन्दर्यता । सोह्रौँ लेख जब ऐरावती डुब्नेछ । यहाँ नौ मुरे जलविद्युत आयोजनाको राष्ट्रघाती पाटोलाई पनि उल्लेख गरेका छन । सत्रांै लेख मकालुको काखमा, अठारौँ लेख दाइजो विरुद्ध नाटक, उन्निसौ लेख आखै अगाडि महाबिपत्ती । विमल पोख्रेलको बानी कतिपय कुरालाई अनावश्यक अवमूल्यन गर्ने वा कहिलेकाही अनावश्यक बढाई चढाई गर्ने असन्तुलित प्रकारका हुन्छन । सुरुमा उनी २०७२ को भुइचालोलाई केही पनि हैन भनेर आँकलन गरेका थिए । भुइचालो पछि उनी बुटवलबाट काठमाडौ आएका थिए । काठमाडौ आएपछि उनले फेसबुकमा स्टाटस नै लेखेका थिए । मिडिया हेर्दा काठमाडौँ सबै ध्वस्त भएछ जस्तो लाग्यो । काठमाडौ केही पनि भएको रहेनछ । दुई चारवटा घर ढलेका रहेछन । सबै घर ठाडै देखे । भाव यही हो । त्यस्तो लेखे पनि पछि उनी छैटौँकोतर्फबाट पुनर्निर्माणमा लागे । उनको स्टाटस हेर्दा यस्तो लाग्दथ्यो । मानौ यो महाविपत्ती नै हैन । तर अहिले लेखमा महाविपत्ती भनिएछ । यो लेख तयारपार्दा लेखक ठीक बुझाइमा आएछन कि भन्ने लाग्यो ।
बिसौँ लेख, “घले गाउँदेखि झिम्रुकसम्म । ” एक्काइसौँ लेख “छुवाछूतको साम्राज्य” । बाइसौँ लेख “कहालीलाग्दो पारिवारिक पीडासँग साक्षात्कार” तेइसौ लेख अलैचीको खेती र मदन भण्डारीको घर ।
लेखकले यो पुस्तकबाट नेपाललाई पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिरबाट जोड्ने काम गरेका छन् । त्यसैले यो पुस्तक देशभक्तिको भावना अभिवृद्धि गर्न उपयोगी पुस्तक हो ।
यो पुस्तक विमल पोख्रेलले लेखेको पुस्तक भए पनि यो उनको मात्र कथा हैन । अखिल (छैठौँ) र छैठौँ सित सम्बन्धित विद्यार्थीहरू, राष्ट्रियता र जनतन्त्रको आन्दोलनका सबै सहयात्रीहरूको साझा इतिहास हो, साझा कथा हो ।
यस भन्दा पहिले पोख्रेलले “अखिल छैठौँको इतिहास” लेखेका थिए । “धरतीको इन्द्रेणी” अधिकांश भाग अखिल (छैठौँ) को राजनीतिक तथा साङ्गठनिक कामको सिलसिलामा तयार पारिएको हुँदा यसलाई लेखकको विगतको पुस्तक अखिल छैठौँको इतिहासको पूरक पठन सामग्री भन्दा पनि फरक पर्दैन । लेखकले राखेका रमाईला सन्दर्भले गर्दा पाठकहरूलाई पढ्न जाँगर बढाउँछ । जस्तै कालिकोटको एउटा मन्दिर नजिक जाँदा जनता डराउँदथे । एक दिन जनमोर्चाका नेता उतिबेलाका शिक्षक हरी आचार्यले मन्दिरमा गएर पिशाब फेरेछन । जनता डर्आउन छाडेछन । एक जना जँड्याहा शिक्षकले अर्काको टाउकोमा शू शू गरेको घटना, कालिकोटमा सूर्तिका अम्मलीहरू ज्याला भन्दा बरु काममा न आउने तर सूर्तिको लोभले ज्यालादारी काममा आउने गरेका यस्ता कैयौँ रमाइला प्रसङ्गले गर्दा पुस्तकले पाठकलाई पढ्न जाँगर बढाउँछ ।
साहित्यकार समीक्षक डा. कौशिला रिसालले यो पुस्तकका २३ वटै शीर्षक माथि संक्षिप्त परिचय दिएकी थिइन । माओवादी जनयुद्धका नकारात्मक पक्षमात्र खोतलियो । माओवादीका केही सकारात्मक पक्ष पनि थिए होलान्, ती पनि केही उल्लेख गरिदिएको भए हुने भन्ने रिसालको टिप्पणी थियो ।
प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष मातृका पोख्रेलले पुस्तक विमोचन कार्यक्रममा नियात्रा बारे स्पष्ट गर्ने प्रयास गरेका थिए । उनका अनुसार हिन्दी साहित्यमा नियात्रा शब्द छैन । नेपाली साहित्यमा सबैभन्दा पहिले नियात्रा शब्द बालकृष्ण पोख्रेलले प्रयोग गरेका हुन् । ताना शर्माको “बेलायततिर बरालिदा” भन्ने रचनालाई समीक्षा गर्दा बालकृष्ण पोख्रेलले यो नियात्रा हो भनेका थिए । नियात्रा निबन्ध विधाको एक शाखा हो तर यो यति व्यापक भएर गएको छ कि यसले बेग्लै विधाको रुप ग्रहण गर्न थाले जस्तो देखिन्छ । बालकृष्ण पोख्रेलका अनुसार नियात्रा हुनका लागि एक, निजात्मकता हुनुपर्छ ; दुई, लयात्मकता हुनु पर्दछ ; तीन, यात्रा बर्णनमा आख्यानात्मक पनि हुनु पर्दछ । मातृका पोख्रेलका अनुसार विमल पोख्रेल लिखित यो पुस्तकले नियात्रामा हुनु पर्ने तत्त्वहरू पक्रन सकेको छैन । यो नियात्रा हैन यात्रा वर्णन हो ।
मलाई के लाग्यो भने केही लेखहरूमा नियात्राका तत्त्वहरू अवश्य छन् । जस्तै कर्णाली यात्राका ५ वटा लेखमा नियात्राका तत्त्वहरू धेरै छन् । जस्तो कि जीतगढी किल्लालाई नियात्रा नै भन्न मिल्दैन होला किनभने त्यहाँ यात्रा वर्णन हैन कि इतिहासको वर्णन छ । “अखण्डताको मसाल बाले पछि” शीर्षकको रचना पनि नियात्रा हैन । बरु त्यो सङ्घीयता विरुद्ध सङ्घर्षको वर्णन हो । मातृका पोख्रेलले इतिहास, समाज र राजनीतिको अध्ययनको लागि यो पुस्तक आवश्यक हुने बताए । पूर्व सांसद दुर्गा पौडेलले लेखकको प्रशंसा गरिन । पौडेलले आफुले पनि जनमोर्चा पार्टी र महिला सङ्घको थुप्रै अभियानको नेतृत्व गरेको भन्दै यदि ती अभियानहरूलाई लेख्दै जाने हो भने महत्त्वपूर्ण पुस्तक बन्ने बताइन ।
जतिसुकै कमजोरी गर्दैन भन्दा पनि लेखकीय कमजोरी हुने गर्दछ । सही सूचनाको अभाबमा, अध्ययनको कमी विभिन्न कारणले लेखमा कमजोरी हुने गर्दछन । यस पुस्तकमा पनि साना तिना कमजोरी छन । जस्तै लेखकले कंचनपुरको पुनर्बास क्षेत्रमा विभिन्न ठाउँहरू ताप्लेजुङ, इलाम, पाँचथर म्याग्दीबाट पहिरो पीडितलाई लगेर बस्ती बसाइएको लेखेका छन् । धादिङका तामाङहरू नछुटाएको भए हुन्थ्यो भन्ने मेरो मत रहृयो किनभने पुनर्बासको ठूलो जनसङ्ख्या धादिङबाट लगिएका तामाङहरू हुन । (पृष्ठ ३०) धेरै ठाउँमा उदयपुरका गङ्गाध्वज खडका भनिएको छ । लेखकले सिन्धुलीका गËा खडका भनिरहेको बानीले खडका भनेर लेख्नु भयो कि ! हुनु पर्ने हो – गËध्वज कार्की । (पृष्ठ ३६,३९, ४०) काठमाडौँ मार्च लेखिएकोछ, काठमाडौँ केन्द्रित आन्दोलन हो । (पृष्ठ ३७)
“रुकुम र रोल्पामा बोलिने मगर खाम भाषा अर्घाखाँचीको सिमानामा पर्ने प्यूठानको दाङबाङमा पनि बोलिन्छ । ” (पृष्ठ १३१) रुकुम र रोल्पामा बोलिने मगर खाम भाषा नै हो तर प्यूठानको दाङबाङ, हंसपुर, ढुËेगढीमा बोलिने मगर खाम भाषा हैन । त्यो पूर्वेली मगर भाषा हो । तिनीहरू पाल्पा, स्याङ्जाबाट आएका हुन । प्यूठान बसाई सरेर आउँदा उनीहरूले आˆनै भाषा लिएर आएका थिए । स्मरणीय छ अहिलेसम्म भाषा शास्त्रीहरूले मगरका तीन फरक फरक भाषा भएको बताका छन– पूर्वेली मगर भाषा, खाम मगरभाषा र डोल्पाको काइके । यस्ता टिप्पणीहरू अरुबाट पनि आउन सक्दछ । अर्को संस्करण प्रकाशन गर्दा यस्ता कमी कमजोरी सच्चाउँदा हुन्छ भन्ने मेरो लेखकलाई सुझाव छ ।
उनलाई जीवन – व्यबहारमा “अराजक” को ट्याग लाग्ने गर्दछ । उनको लेखनीमा पनि “अराजकता” कति छ ? त्यो त थप बेग्लै अध्ययन गर्नु पर्दछ । उनलाई “अराजक” भनिए पनि व्यवहारमा देखिएको एउटा राम्रो पक्ष के हो भने उनले विद्यार्थी सङ्गठनमा काम गर्दा आˆनो नेतृत्व कृष्ण अधिकारी, राजेन्द्र, दुर्गा, अनिल कसैलाई पनि असहयोग गर्ने, असफल पार्न खोज्ने काम गरेनन्, बरु राम्रै सहयोग गरे ।
पोख्रेलको यो पुस्तकलाई वैचारिक आलोकमा हेर्दा यो प्रगतिवादी रचना हैन । यो प्रगतिशील रचना अवश्य हो भन्ने मेरो बुझाई रहृयो । आमूल परिवर्तनका लागि सङ्घर्षको तयारी बारे वा त्यतातर्फ निर्दिष्ट एउटा रचना पनि छैन । अन्त्यमा लेखकको आगामी दिनमा सृजना कर्ममा निरन्तरताको कामना गर्दछु ।