दमक, १ भदौ । नेपालमा हुने मृत्युमध्ये सबैभन्दा बढी नसर्ने रोगकै कारण भएको एक अध्ययनले देखाएको छ । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमकको सरकारी अस्पतालमा सञ्चालन गरिएको ‘पेनप्लस’ कार्यक्रमबारे सरोकारवालाबीच छलफलमा सहभागी स्वास्थ्य अनुसन्धानकर्ताले पछिल्ला बर्ष नेपालमा नसर्ने रोगको जोखिम दिनदिनै बढ्दै गएको औँल्याएका थिए ।
काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा भएको छलफलमा किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान् कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा हुने मृत्युको तथ्याङ्क प्रस्तुत गर्दै नसर्ने रोग भयावह बन्दै गएको बताए ।
अहिले नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगकै कारण हुने गरेको छ भन्दै उनले यस्ता रोग नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको औल्याए । ‘पेनप्लस’ कार्यक्रम प्रभावकारी ढङ्गले अगाडि बढे आगामी पाँचदेखि १० वर्षमा मृत्युदर धेरै घटाउन सकिने डा कोइरालाको भनाइ थियो । रोगको पहिचान नभई अकालमा हुने मृत्यु रोक्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले जनाए ।
“रोगको पहिचान भयो भने उपचार तथा व्यवस्थापन हुनेछ र यसबाट अकाल मृत्यु टार्न सकिन्छ”, डा. कोइरालाले भने, “आर्थिकरूपमा कमजोर रहेर स्वास्थ्योपचार गराउन नसकेका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने, औषधि उपलब्ध गराउने र थप उपचार गराउनुपर्ने अवस्थामा पनिसहयोग मिल्ने छ ।”
‘पेनप्लस’ कार्यक्रमअन्तर्गत नसर्ने रोगका मुख्यगरी मुटु, मधुमेह, श्वासप्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता बिरामीको परीक्षण, उपचार र औषधिलगायतको सेवाबारे उक्त नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिबीच छलफल गरिएको थियो ।
नेपालको ७१ प्रतिशत नसर्ने रोगकै कारण मृत्यु
Comments

