-कृष्णराज पौडेल
दक्षिण कोरियाको छल्लानाम्दो स्थित बंगुर फार्ममा काम गर्ने म्याग्दीका तुलसी पुनमगरले पछिल्लो पटक आत्महत्या गरे । यस अघि धेरै नेपाली कामदारले आत्महत्या गरी ज्यान गुमाइसकेका छन् ।
२००९ देखि २०१८ सम्ममा कोरियामा काम गर्न आएका मध्ये १४३ जनाले ज्यान गुमाएका थिए । जस मध्ये ४३ जनाले आत्महत्या गरी ज्यान गुमाए । २०२२ सम्ममा कोरिया काम गर्न आएर ज्यान गुमाउनेको संख्या १७३ पुगेको छ । हालका पछिल्लो पाँच वर्षमा ८५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।
हालसम्म ज्यान गुमाएका मध्ये झण्डै ३१% ले आत्महत्या गरी ज्यान गुमाएका छन् । धेरै औद्योगिक दुर्घटना, असुरक्षित बस्ने ठाउँ र अन्य कारण ज्यान गुमाएका छन् । आत्महत्या गरी ज्यान गुमाउनेमा अरु देशका कामदारको तुलनामा नेपालीको दर बढिरहेको छ ।
त्यसो त दक्षिण कोरिया विश्वकै चौथो धेरै आत्महत्या गर्ने मुलुकमा पर्छ । विकसित राष्ट्रहरु ओ.ई.सि.डि. का देशहरु मध्ये पहिलोमा पर्छ । प्रत्येक एक लाख जनसङ्ख्यामा २७.५ जनाले आत्महत्या गर्छन् । दक्षिण कोरियामा एकदिनमा ३७.५५ जनाले आत्महत्या गर्छन ्।
आत्महत्या बाहेक औद्योगिक दुर्घटना र खराब बसोवासको कारण धेरै कामदारले ज्यान गुमाउने गरेका छन् । २०२३ मा मात्र २००० कामदार औद्योेगिक दुर्घटनामा ज्यान गुमाएका थिए ।
२०२० को डिसेम्वरमा एक कम्वोडियन महिला कामदार प्लाष्टिक घरभित्र जाडोले कठाङ्ग्रिएर ज्यान गुमाइन । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तको पुच्छनमा कृषि फार्ममा काम गर्ने ती कामदारलाई साहुले –१८ डिग्री सेलसियसको जाडोमा पनि प्लाष्टिक घरभित्र बस्ने व्यवस्था मिलाएको थियो ।
यो दुर्घटना पछि मजदुर संगठनले धेरै विरोध गरेपछि प्लाष्टिक घरभित्रको र कन्टेनरको बसोवासलाई गैर कानुनी मानेको छ । तर हालसम्म पनि ७०% प्रतिशत बढी कृषि र मत्स्य क्षेत्रका मजदुर टिनको कन्टेनरमा बस्न बाध्य छन् । गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुने कारण टिनको कन्टेनरमा निसासिएर मर्ने वा आगलागी हुने डर अत्यधिक हुन्छ ।
कोरियाको पछिल्लो जनसांख्यिक तथ्याङ्क अनुसार १.४३ मिलियन (करिव पन्द्र लाख) विदेशी कोरियामा बसोवास गर्छन् । त्यस मध्ये १७ देशका करिव ३७४००० कामदार सिकारु कामदारको रुपमा काम गरिरहेका छन् । सिकारु कामदारलाई कोरियन सरकारले ई वर्गको भिसा दने गरेको । ई वर्गको भिसावाहक सबै कादारलाई खासगरी थ्रि डि वर्गको काम जस्तो गाह्रो, फोहर र खतरा युक्त कामको क्षेत्रमा काम गराइएको छ ।
ई वर्गको भिसामा करिव साठी हजार नेपाली कामदार दक्षिण कोरियामा काम गरिरहेका छन् । कामदार थपिने र कार्य अवधि सकेर फर्किने क्रम जारी छ । यस बाहेक विद्यार्थी र पारिवारिक भिषामा रहने नेपाली प्रशस्त थपिदै गएका छन् ।
जुनसुकै भिषामा रहेका भए पनि अधिकांश नेपालीहरु रोजगारीकै लागि कोरिया आउने गरेका छन् । अधिकांश, ईपियसको भाषा परीक्षा प्रणाली मार्फत् कामदार कोरिया आउछन् । धेरैले ईपियस प्रणाली भनेको नेपालबाट कोरिया कामदार ल्याउने प्रणाली हो भनेर बुझ्ने गरेका छन् । त्यस्तो होइन । ईपियस प्रणाली, बाहिरी देशबाट सिकारु कामदारको रुपमा कामदार ल्याइसकेपछि ती कामदारलाई कज्याउने प्रणाली हो । यस प्रणाली अन्तर्गत आएका कामदार र कोरियन कामदार वा डब्लुपियस प्रणाली अनुसार आएका कामदारको बीचमा भेदभावपूर्ण कानुन छ ।
ईपियस ( झउयिथmभलत उभचmष्त कथकतझ) अनुसारको कामदारलाई ई वर्गको भिषा दिइन्छ । यो वर्गको भिषावाहक कामदारलाई रोजगार प्राप्त नभएसम्म लामो अवधिको भिषा दिईदैन । रोजगार कामदार आफैले खोज्न पनि बन्देज छ । रोजगार प्राप्त भैसकेपछि रोजगारदाता (मालिक) को अनुमति बिना रोजगार फेर्न पनि कानुनी रुपमै बन्देज छ । जसले अनुमति बिना रोजगार परिवर्तन गर्छ वा छोड्छ उसको भिषा स्वतः खारेज हुन्छ ।
ईपियस प्रणाली एक प्रकारको दास प्रणाली हो । जसरी पुरानो दास प्रणालीमा दासमाथि दासमालिकको हक लाग्थ्यो, दासले दाशमालिकको अनुमति बिना अर्को मालिक फेर्न पाउँथेन त्यसैगरी कम्पनीको साहुको अनुमति बिना अर्को कम्पनीमा गएर काम गर्न मिल्दैन । त्यसो गरेमा भिषा रद्द गर्ने र जबरजस्ती स्वदेश फिर्ता गर्न पाउने कानुनी व्यवस्था छ । यसैले गर्दा साहुको दमन, शोषण, हेलाहोचो सहेर पनि काम गर्नुपर्ने बाध्यता छ ।
तुलसी पुन मगरको आत्महत्या प्रकरण पनि यही आफुखुशी कम्पनी परिवर्तन गर्न नपाउने ईपियस कानुन प्रणाली सँग जोडिएको छ । साहुले जबरजस्ती काम गराउने, कुटपिट गर्ने, धम्क्याउने आदि प्रमाणहरु प्राप्त भएर साहुलाई समेत गिरफ्तार गरी अनुसन्धान हुँदैछ । तुलसी पुनले आत्महत्या अघि वयान दिएर आत्महत्या गरेको हुनाले केही प्रमाण बाहिर आयो । अरु धेरै आत्महत्या साहुको शोषण, दमन, कामको अस्वस्थ वातावरण आदिको कारणले भएको भएपनि ती कुराहरु त्यत्तिकै दबिएर हराए ।
नेपालमा सरकार र अरु सत्ताधारी निकायले नेपाली कामदारको आकर्षक गन्तब्यस्थल कोरिया हो भनेर निकै प्रचारप्रसार गर्ने गरेका छन् । नेपाल सरकार र मौजुदा उदार अर्थव्यवस्थाको कारण उद्योग कलकारखाना टाट पल्टाएर सामान्य गर्जो टार्न पनि गाह्रो अवस्था सिर्जना भएको छ । यही कुरालाई ढकछोप गर्न सरकार र उदार अर्थव्यवस्था पक्षधरहरुले हुदै नभएको किर्ते कुरा गरेर झुट फैलाउने काम गरेको छ ।
दक्षिण कोरिया कुनै आकर्षक गन्तव्य होइन । यहाँ पाउने तलव यहाँको महङ्गीको तुलनामा निकै कम हो । कामको वातावरण विश्वकै घटिया छ । यहाँ कामदारले जति कमाएर पठाएका छन् त्यो रकम उनीहरुको व्यक्तिगत ईच्छा, आकांक्षा, आदि धेरै कुरामा तिलाञ्जली दिएर जोगाएको रकम हो । स्वदेशमा सामान्य गुजारा चलाउने अवस्था पनि नभएको कारण गोरुकै जिन्दगी जिएर थोरै पैसा कमाउन र परिवार पाल्न सक्दा उत्पन्न भएको सन्तुष्टि हो कोरिया ।
दक्षिण कोरिया, प्रवासी मजदुरको आकर्षक गन्तव्य भित्रको वास्तविकता

Comments