फिलिपिन्समा सेनाले कम्युनिष्ट नेताको हत्या गरेको विद्रोहीको दावी

मनिला । विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहको नेतृत्व गरेका फिलिपिन्सका एक दम्पतीको केही महिनाअघि हत्या भएको कम्युनिस्ट विद्रोही र सुरक्षा अधिकारीहरूले बिहीबार बताएका छन् ।

कम्युनिस्ट विद्रोही नेता बेनिटो टियाम्जोन र उहाँकी पत्नी विल्मा टियाम्जोन दशौं हजारको ज्यान जाने गरी भएको द्वन्द्व अन्त्य गर्न नर्वेमा भएको वार्तालाई सघाउन जमानतमा रिहा गरिएको एक वर्ष पछि सन् २०१७ देखि फरार थिए ।

तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले शान्ति स्थापनामा चासो नदेखाएको आरोप लगाउँदै शान्ति वार्ता स्थगित गरी फिलिपिन्सको कम्युनिस्ट पार्टी (सीपीपी) र यसको सशस्त्र शाखालाई ‘आतंकवादी सङ्गठन’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

टियामजोनले सिर्जना गरेको सीपीपीको न्यू पिपुल्स आर्मीले ५० वर्षभन्दा बढी समयदेखि एसियाको सबैभन्दा ठूलो धनी–गरीब विभाजनहरू मध्ये एक सिर्जना गरेको प्रणालीलाई उल्टाउन सङ्घर्ष गरिरहेको छ ।

सीपीपीले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै आफ्नो केन्द्रीय समितिले अगस्टमा तियामजोन र अन्य आठ जनालाई सेनाले यातना दिएको र मारेको निष्कर्ष निकालेको जनाएको छ ।

फिलिपिन्सको सेनाको आठौं इन्फेन्ट्री डिभिजनका प्रवक्ता क्याप्टेन जेफरसन मारियानोले समर प्रान्तको मध्य शहर क्याटबालोगननजिकै समुद्रमा भएको गोली हानाहानमा १० जना विद्रोही मारिएको बताएका छन् ।

“उनीहरूको डुङ्गालाई हाम्रो सेनाले पक्रन लागेको समय उनीहरूले जवाफी फायर गरे । त्यसपछि कुनै पनि कारणवश अचानक डुङ्गा विस्फोट भयो,” मारियानोले एएफपीलाई बताए । उनले मारिनेहरूको पहिचान हुन नसके पनि उनीहरूलाई ‘उच्च मूल्यको लक्ष्य’ को संज्ञा दिएका छन् ।

सीपीपीका अनुसार उक्त समूह समरको राजमार्गमा निहत्था यात्रा गरिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको हो ।

“केन्द्रीय समितिले संकलन गरेको जानकारीअनुसार टियामजोनले अपहरणकारीको हातबाट गम्भीर कुटपिट भोगेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

फिलिपिन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार सेक्रेटरी एडुआर्डो एनोले अधिकारीहरूले लामो समयदेखि तियामजोनहरू मरेको आशङ्का गर्दै आएको बताए ।

“अन्ततः उनी (आतङ्ककारी)हरू हामीमध्ये धेरैले धेरै महिनाअघि नै शङ्का गरेको कुरा स्वीकार्न बाध्य भएका छन्,” एनोले एक विज्ञप्तिमा भन्नुभएको छ ।

सन् २०२० मा मनिलाको एक अदालतले सन् १९८८ मा मनिला नजिकै चार सैनिकको अपहरण गरेको अभियोगमा उक्त दम्पतीलाई ४० वर्षको जेल सजाय सुनाएको थियो । अपहरण गर्ने विद्रोही लडाकूहरूलाई कुनै क्षति नपुर्‍याई छोडियो ।

एनपीए फिलिपिन्सको सबैभन्दा घातक सशस्त्र समूहमध्ये एक हो तर सेनाको अनुमानमा यसको सङ्ख्या सन् १९८० को दशकमा २६ हजारबाट घटेर दुई हजारमा झरेको छ ।

राष्ट्रपति फर्डिनान्ड मार्कोसले मार्चमा कम्युनिस्टहरूसँगको लडाइँ ‘अन्त्य हुन लागेको’ बताएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित