असार २६ काठमाण्डौ । युक्रेन नेटो (नर्थ एटलान्टिक ट्रीटी ओर्गनाईजेसन) सदस्यताको लागि आतुर रहेको छ । युक्रेनका राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीले नेटोले युक्रेनलाई सदस्यता दिन ढिला गरेको बताएका छन् ।
नेटोको जुलाई ११ देखि १२ सम्म लिथुवानियाको राजधानी भेलनियसमा वार्षिक शिखर सम्मेलन जारी रहेका बेला जेलेन्स्कीको यो भनाई आएको हो । नेटोका कतिपय सदस्य राष्ट्रहरुले युक्रेनलाई हाल द्वन्दरत अवस्थामा सदस्यता दिन नहुने भन्ने विवाद रहेको बताईएको छ । नेटोमा हाल ३१ देशहरु संलग्न छन् ।
नेटोको मूल्य भनेको एक सदस्यमाथिको आक्रमण सबैमाथिको आक्रमणभन्ने रहेको छ । सामुहिक रुपमा मिलेर आक्रमणको सामना गरेमा रुसलाई हराउन सकिन्छ भन्नेमा युक्रेन पुगेको देखिन्छ ।तर कतिपय सदस्य राष्टहरुको रुससंगको सम्बन्ध बिग्रने डरले युक्रेनलाई सदस्यता दिन नहुने धारणा रहेको छ ।
युक्रेनले गत सेप्टेम्बरमा नेटोको सदस्यताको लागि निवेदन दिएको थियो ।जेलेन्स्की छिमेकी संग लड्नको लागि अन्य देशसंग हार गुहार गरिरहेका छन् । छिमेकीलाई सैन्य सहयोगमा जित्ने मनसायमा रहेको उनका गतिविधिले पुष्टि गरेको छ । युक्रेनमा रुस र युक्रेनको युद्ध भएको १ वर्ष नाघिसकेको छ ।