लक्ष्मी प्रसाद देवकोटा
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दीवार
मस्तिष्कको यो सुनको छानो, इन्द्रियहरूका द्वार
नसा-नदीका तरल तरङ्ग, मन्दिर आफू अपार
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार?
मनको सुन्दर सिंहासनमा, जगदीश्वरको राज
चेतनको यो ज्योति हिरण्मय, उसको शिरको ताज
शरीरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिँड्छौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर?
खोजी गर्छौ ? हृदय लगाऊ, बत्ती बाली तेज प्रचुर ।
साथी यात्री ! बीच सडकमा, ईश्वर हिँड्दछ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेको हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको माथ।
सडक किनारा गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीँ दिँदैन, चर्म-चक्षुले कानामा
कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिसहरू भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।