टङ्कराज ढकाल तितेपाती ••
छन्द–अनुष्टुप
आँसुका भेलमा डुब्दै सयौँ ठक्कर हुण्डरी
बहेर यामको बाढी कष्टमा बित्छ जिन्दगी । १
इन्द्रिय सुखका लागि बहकिन्छ कतै कतै
भ्रान्ति छ मनमा थुप्रो कष्टसाध्य छ जिन्दगी । २
तामझाम कतै गर्ने जसै मैदानमा यतै
झिटिगुण्टा छ यात्रीको गुज्रान हुन्छ जिन्दगी । ३
नातागोता र आफन्त सम्बन्ध नाद बन्दछन्
सËीत मधुरो लाग्ने यात्रामय छ जिन्दगी । ४
सËीसाथी हतारोमा लाग्दछन् यातना दिन
लहडी तालमा चल्ने घाटुनाच हो जिन्दगी । ५
छायाँ छ सुखको जालो आलोपालो छ चल्दछन्
दायाँवायाँ नदेख्ने जो दु:खदायी छ जिन्दगी । ६
अौँशी र पुर्णिमा जस्तै चक्रबात बगे गए
धारा बनेर बग्दैछ पानीजस्तो छ जिन्दगी । ७
असार मासको गर्मी तुषारो लाग्छ पौषमा
माघको मधुरो सूर्य भदौरे भेल जिन्दगी । ८
सृष्टिको लहरा माझ सन्तान फल्छ के गरी
यसैको तालमा हिंड्ने विरेचन छ जिन्दगी । ९
सेपिलो तापमा बाँच्ने हराभरा कसैगरी
रापले बल्छ यो धप्प बाँकटे हान्छ जिन्दगी । १०

