– कुमार
समयमै बाबुआमा गुमाउनुको पीडालाई मुटुभरी सजाएर राख्न अभ्यस्त बनिसकेको म ३५÷३६ वर्षको उमेरमा दिदीले श्रीमान गुमाउनुको पीडालाई खै कति बुझ्न सके भन्नै सक्दिन । तर अनुमान लगाउन चाहिं पक्कै सक्छु ।
वावुआमाको असमयको मृत्युको पीडाले छटपटिएको मलाई मेरो भन्दा झनै कहालीलाग्दो विक्षिप्त पीडाले आहत दिदी मीनाको राहाराले लौरोको टेकोमा तातेताते गर्नु अनिवार्य आवश्यकता बनेको परिवेश र सन्दर्भ कोट्याउँदा अहिले पनि म त्यहि परिवेश वरिपरीनै घुमिरहे जस्तो अनुभूतिमा गाँजिन्छु । यो त्यतिबेलाको सन्दर्भ हो जतिबेला मलाई भारतीय पेन्सन वितरण कार्यालय पोखरामा नोकरीको लागि समय दिइएको थियो । मेरो सारथी दिदी भएकाले एक्लै जान सक्ने अवस्था थिएन । दिदीसंगै जान उहाँको निम्ति समाजले सिर्जना गरेका कति धेरै चुनौतीहरु थिए तिनलाई बुझ्न र चिर्न त्यतिबेलाको मेरो बीस वर्षे उमेर र अनुभवले सक्ने कुरै थिएन ।
मलाई बागलुङसम्म पुग्न पनि कति कठिन थियो भने पहिलो कुरा म परिवारमा रहेको सबैभन्दा सानो तर समाजले दायित्व थपेको अभिभावक थिएँ । तर अभिभावकत्वको लेश पनि थिएन मेरो मस्तिष्कमा । जिम्मेवारीबोध भएर पनि निकासको कुनै सम्भाव्यता नदेख्नु त्यसको एउटै कारण थियो जस्तो लाग्छ । दुईजना दिदीहरुलाई आफू नोकरीको लागि जाने बताएर घरमा आइपरेका समस्याहरुमा सतर्कतापूर्वक व्यवस्थापन गर्न अनुरोध गरेर छिमेकी सानो वुवा जसलाई समाजले स्याना कान्छा भनेर सम्बोधन गर्छ उहाँसँग पोखरासम्म जानका लागि बाटो खर्च पाँचसय रुपैंयाँ मागेर सामल जुटाएर बागलुङतर्फ लागेको थिएँ । यतिबेला मेरो अतितलाई आँखीझ्यालबाट चियाएर हेर्दा लाग्छ यदि उहाँले रुपैंयाँ नदिएको भए अथवा तत्कालीन परिवेश र सन्दर्भ अनुसार नै मलाई त्यसको ग्यारेण्टीको लागि धन जमानी वा कुनै धितो मागेको भए मैले के गर्थे ? अहिलेसम्म पनि त्यसको जवाफ मसँग छँदैछैन । जेहोस न्यूनतम सामल जुटाएर म बागलुङतर्फ लागेको थिए ।
मेरा लागि दिदीले सबैप्रकारका पारिवारिक र सामाजिक बन्धनहरुलाई तोड्दै भारतीय पेन्सन वितरण कार्यालय‚ पोखरा तर्फ लाग्यौं । त्यहाँ पुगेर कार्यालय प्रमुखलाई भेटेर मेरो व्यवस्था मिलाए पछि साथमा साथी बनेर गएको भाइलाई पनि पोखरामै छाडेर समाजले दिएको विधवाको पगरी गुथेकी मेरी दिदी बागलुङतर्फ एक्लै फर्कदै गर्दा कसरी फर्कनुभयो होला ? त्यो पनि त त्यतिबेला मेरो मस्तिष्कले ठम्याउन सक्ने कुरै थिएन नि ! आज जब दिदीको सान्निध्यमा मैले ती दिनहरुलाई चियाउने प्रयास गर्छु सजल आँखाहरु जोगाउनै हम्मेहम्मे पर्छ ।
दिदीले कार्यालय प्रमुख आर. एस. खन्नासँग भेट गराएर फर्केपछि कडा अनुशासनका बीच मेरो काम गराई शुरु भयो । म स्वयंमा अनुशासनमा बाँधिएर हुर्के बढेकाले मलाई त्यो फलामे अनुशासनको ढोका पार गर्न कुनै कठिनाई भएन । क्रमश ः पोखरासंग परिचित हुँदै गएँ । साँच्चै भन्ने हो भने त्यतिबेला पोखरा मेरो लागि अपरिचित थियो । त्यहाँ बस्दै गर्दा कहिलेकाहीं प्रचलित अर्थमा पेन्सन क्याम्पको चारदिवारी नाघेर बाहिर सुस्ताउने अवसर पनि मिल्दथ्यो । पेन्सन क्याम्पबाट कहिले पृथ्वीचोक जाँदै गर्दा पुलको बीचभागमा उभिएर सेतीनदीको निश्छल प्रलाप आस्वाद लिएरै पीडामय विगत बिर्सेर सुनौलो भविष्यको मार्गचित्र कोर्न मन लाग्दथ्यो भने कहिलेकाही हरियाखर्कतिर पुग्दा याम्दीमा देखिएकी सेती भन्दा विचित्र सेतीको दर्शन पाएर जीवन पुलकित भएको अनुभूत हुन्थ्यो ।
हप्ताको दुईदिनको विदा खर्च गर्न हम्मे हम्मे पर्ने समय थियो । त्यसैले पनि होला कहिले फेवातालमा पुगेर सुस्ताएर दिन कट्थ्यो‚ कहिले बेगनासमा पुगेर माछा खाएरै साँझ पर्दथ्यो । आखिर हतार गरेरै फर्कदा पनि मलाई क्वाटरमा पर्खेर बस्ने कोही त थिएन । मलाई पर्खनेहरु त कोही सदाका लागि विदा भएर निर्मोही हात हल्लाउँदै आफ्नो गन्तव्य पक्रिसकेका थिए‚ कोही भने गन्तव्य नमिलेरै मन अमिलो पार्दै आफैले छाडेर हिंड्नु परेको थियो । दिदी मीना ! भाइलाई मनमुटुमा सजाउँदै कर्तव्यबोधले ओतप्रोत भएर आमाको अन्तिम अवस्थामा आमा ! ‘भाइबहिनीहरु टुहुराटुहुरी हुन दिनेछैन तिनीहरुको अभिभावकत्व मैले ग्रहण गरे’ भन्ने जुन वचनबद्धता गर्नुभएको थियो । त्यसको केही भाग भाईको जागीरसंगै पोखरामा बिसाएर केही हल्का भएर फर्किसक्नु भएको थियो ।ं
मान्छेहरुले सुनाउने गर्थे ‘नेपाल गए कपाल संगै‚ बर्मा गए कर्मसंगै’ । आफ्नै अनुभवले पनि के भन्थ्यो भने ‘तँ जहाँसुकै गए पनि तेरो मनमस्तिष्कमा रहेका पीडाहरुको समन आखिर तेरो कर्ममा लुकेर बसेका छन् तिनलाई उजिल्याउने प्रयत्न गर’ । तर म आफैलाई भने कर्मलाई उजेलो पार्न गर्नुपर्ने काम कुराहरु के के हुन सक्छन केही थाहै थिएन । यस्तै द्वन्द्वहरुका बीचमा पनि मलाई ढाडस दिने चीज भनेको एउटा यस्तो विचार थियो जसले मनमा जतिसुकै वह‚ पीडा‚ कुण्ठाहरु उत्पन्न भएता पनि एउटा निर्दिष्ट अनुशासनमा बाँधिएर बस्ने‚ समाज र राष्ट्रका लागि केही सोच्ने र आफू र आफ्ना पीडाहरुलाई पनि समाज सापेक्ष भएर समाजमा विद्यमान समस्याहरुसंगै त्यसकै आलोकमा समाधान पहिल्याउने । यही विचारले मेरो जीन्दगीलाई हालसम्म पनि निर्देशित गरिरहेकै छ ।
सैनिक अनुशासनमा बाँधिएर जागीर खानु पर्ने संस्थामा कार्यरत म‚ एकदिनको कुरा हो एउटै टेबलमा बसेर डिबी थापाद्वयसंगै मैलेपनि झण्डै आफ्नै साइजका लेजरहरुमा केही तथ्याङ्कहरु प्रविष्टी गर्दै गर्दा एक जना सहयोगीले ‘एसटीओ साबले बोलाउनु भएकोछ’ भन्ने निर्देशन छाडेर गएपछि भनिन्छ नि मुटुले ढ्याङ्ग्रो ठोक्ने, त्यस्तै हुन थाल्यो । दुईजना साथीहरु सिनिएर थिए बोलाइयो मलाई । मनले सोच्न हुने, नहुने सबै कुराहरु सोच्दासोच्दै साथीहरुले जाउ भने । सन्नाटा छाएको मनलाई दह्रो बनाएर विस्फारित नेत्रहरुलाई सजल हुनबाट जोगाउँदै एसटीओको चेम्बरतर्फ लागे । मलाई देख्ना साथै आफ्नो सिटबाट उठेर म तर्फ हात बढाउँदै “आपने पिएससीका कोई एक्जाम दिया था” भनेर जिज्ञाशा राखे । मैले सकारात्मक सन्देश प्रवाह गरे लगत्तै लोक सेवा आयोग धवलागिरी अंचल कार्यालय बागलुङले पठाएको आ.वा.आफ्ना टेबलबाट उठाएर बधाई दिंदै मलाई आ. वा. को पत्र दिएर अब के गर्ने भनेर प्रश्न पनि तेर्साए । म किंकर्तव्यविमुढ भएर पछि सोचर जानकारी गराउने शर्तमा त्यहाँबाट आफ्नो सेक्शन तर्फ अगाडि बढे ।
आफ्नो कार्यकक्षमा पुग्दा नपुग्दै साथीहरुले घेरी हाले के भयो भनेर । मैले एसटीओको कार्यकक्षमा भएका कुराहरुका साथै आफूलाई प्राप्त आ.वा. समेत देखाए पछि साथीहरुले पनि हाकिमले सोधे जस्तै प्रश्न तेर्साए । म स्वयंंमा अनिणिर्त भएको प्रश्नमा के हुन सक्दथ्यो जवाफ ? जसले स्वयंको जीवन नौकालाई समुद्रको छालतर्फ धकेल्ने वा त्यसको प्रलापबाट जोगाएर जीवनको सुन्दरतम् आनन्दको आस्वाद चखाउने दोसाधको स्वणिर्म मार्ग तय गर्ने सामर्थय राख्दथ्यो । केहीबेर घोरिएर सोधें स्वयं मित्रहरुलाई मेरो जीवनको सुन्दर फूल फुलाउने जिम्मा तपाईंहरुको पनि हो‚ मालीको भूमिका निर्वाह गर्दा नोक्सान कसैको हुँदैन । साथीहरुले भने जीवन स्वयंमा कसरी अगाडि बढ्छ निश्चित नभए पनि त्यसले पनि स्थायित्वको खोजीमा समुद्र मन्थन देखि विभिन्न ग्रहहरुका अन्धकारमा प्रकाश छर्ने प्रयत्न जारी राख्छ । यो अस्थायी परम्परामा बाँधिएर सुन्दर संसार विचरण गर्ने सुअवसर किन खेर फाल्छस भने । गह्रुङ्गो मनले राजीनामा नामको औठा छापविहीन निवेदन तयार गरें यो अन्त्य हो कि शुरुवात थाहै नपाई ।
अफिसबाट क्वाटरमा फर्केर दाजु र एकजना मित्रलाई दिनभरको दौडधुप र हारगुहारलाई एकैक्षणमा सुनाएर शान्त हुन खोजे तर तन र मनमा सल्किएको आगो चाहीं निभ्ने भन्दा झनै दनदन दन्कन थाल्यो । दाजु पूर्णले सहपाठी र भाइको रुपमा जो घरमा कहिल्यै केही गरेको छैन सदा अभिभावकको रुपमा सघाएर भोलि विदाई गर्ने भनेर उहाँमा भएको कला र शिल्पको प्रयोग गरी मिठासले भरीपूर्ण परिकार तयार गरेर खान दिनुभयो । भोलिपल्ट छिटै उठेर निस्कने मनस्थितिमा निद्राको शरणमा गएको म प्राय रातभर जाग्राम बसेरै रात बिताए । विहान उठेर दैनिकीका केही कामहरु गरेपछि दाजु र अर्को स्याङ्जाली मित्रसँग विदाईका हात हल्लाउँनै लाग्दा दाजुले गाडी चढाउन जाने भनेर संगै निस्क्यौं ।
गाडीमा चढेर विदाईका हात हल्लाए पछि हामी पनि छुट्यौं । गाडीको सिटमा बसेपछि पोखरादेखि बागलुङसम्मका दृश्यहरु आँखामा नाच्न थाले सुदूर भविष्यको कल्पनामा डुव्दै । अब मेरो नयनबाट जसरी पोखरा ओझेलिदै थियो ठिक त्यसैगरी मन‚ मस्तिष्कबाट पनि विस्तारै ओइलाउन थाल्दो थियो । पृथ्वीचोकबाट गाडी चढेर स्याङ्जातर्फ लाग्दै गर्दा बाटोमा कुन दृश्यहरु कस्ता थिए त्यो भन्दा मेरा लागि नागडाँडा पुगेर कसरी बागलुङ पुग्ने भन्नेमा केन्द्रित थियो । मलाई जति हतार थियो त्यो भन्दा कम हतारो गाडीलाई पनि थिएन भन्ने मैले अनुमान गर्दै गर्दा गाडी नागडाँडा पुगिसकेको थियो ।
नागडाँडामा गाडीबाट झरेर केही नसोची म ओरालो झर्दै गए । तल झर्दै गर्दा वर्षे भेलरुपी जवानीले मदमत्त भएर गोमन सर्पले फणा फुलाएर स्वाँस्वाँ र फ्वाँफ्वाँ गरेजस्तै गरी अगाडि बढिरहेकी आँधीखोलाको किनारमा पुगेर नदीको नागबेली आकारसंगै एकाकार हुँदै निरन्तर रुपमा अगाडि बढिरहें । जब नदीको समतल भूभाग समाप्त हुँदै थियो मेरो आफ्नो शरीर पनि गल्दै थियो तर मनचाही चङ्गा पनि बन्दै थियो । यस्तैमा अब मेरै नाक ठोक्किने गरी कार्कीनेटाको उकालो मेरै अगाडि ठिङ्ग भएर उभिएर मेरै बाटो छेकिरहेको थियो । अब मेरो लागि गर वा मरको अवस्था थियो । सबै चुनौतीहरुलाई स्वीकार गर्दै आएको म यो चुनौतीलाई पनि सकारेर बिस्तारै उकालोतर्फ लम्किँदै गए । मनले हार नमानेको मेरो शरीर पसिनाले भिजेर निथ्रुक्क हुँदा पनि कार्कीनेटाको शिखर चुम्ने लय त्याग्ने कुरै भएन । अन्तत ः प्रकृत्ति पनि हारखाएर असारे मासको वर्षेझरी वषिर्ने समयमा पनि सिमसिमे झरी वर्षाएर मेरो शरीरलाई भिजाएर गलाउने प्रयत्नरुपी पसिनाहरुलाई बगाएर सौम्य‚ शान्त र सुन्दर कार्कीनेटाको वक्षस्थालमा लेफ्टराइटको तालमा कदम बढाउँदै खुइय काढेर एउटा पसलमा पसेर केही विश्राम र वर्षातको सामल छाता किनेर जागीरको मोहलाई सबैतिरबाट जोगाएर हृदयभरी सजाएर राखें ।
बेलाबेला खुट्टा बाउँडिन्थे‚ शरीर गलेर फत्रक्क भएर बसेको ठाउँबाट उठाउनै कठीन हुन्थ्यो तर जागिरको जिजीविषाले मन चङ्गा बनिरहन्थ्यो । यही द्विविधाको सङ्घर्षमा मनलाई नायक र शरीरलाई खलनायक बनाउँदै बागलुङ पुगेको थिए । बागलुङ जिल्ला मेरो आफ्नै घर भएको जिल्ला भएता पनि बागलुङ बजार चाहिं मेरो लागि माइती जस्तै प्रिय थियो । जहाँ बच्चादेखिनै प्रिय दिदी मीनाको घरमा प्यारो भाई बनिरहने सुअवसर प्राप्त थियो । मेरालागि सारथी बन्नुभएकी प्रिय दिदीको अवर्णनीय पीडा पनि म बागलुङ पुग्दा झिनो रुपमै भएपनि मथ्थर भएर समन हुनपुगे जस्तै लाग्दथ्यो ।
सामान्य रुपमा भन्दा म मेरो आफ्नै पीडापनि बुझ्न सक्ने अवस्थामा थिइन । सानै उमेरमा वावुआमा गुमाइसकेको‚ आम्दानीको श्रोतमा पहुँचको डरले दाजुहरुबाट अपहेलित भएर रछ्यानमा फ्याँकिएको‚ जिम्मेवारीका हिसाबले क्वीन्टलको भारवहन क्षमता आवश्यक पर्ने व्यक्ति उमेर र अनुभवका दृष्टिले कमजोर‚ बीस वर्षे उमेर‚ जागिरको लागि तेश्रो पटक नियुक्तिको खोजीमा बागलुङ बजार पुगेको साबालक यही थियो मेरो व्यक्तिगत विवरण !
तर दिदी मीना ?
३५÷३६ वर्षको उमेरमा श्रीमान गुमाएकी विधवा जसका चारवटी छोरीहरु जन्मँदा पनि छोरा नजन्माएको आरोपको सामनाका साथै आफू जस्तै विधवा सासु‚ अनि एउटी छोरी सहितकी नाताकी सौताकी अभिभावक । दिदीको जिम्मेवारी बेहाल घरसम्म मात्र सिमित नभएर टुहुरा माइतीमाथिको अभिभावकत्व पनि । श्रीमानको अन्त्येष्टिका लागि खौरिएको कपाल छ महिना अवधि भित्रैको भएकाले पलाएको राम्रोसँग पनि देखिँदैनथ्यो । लाली गुराँस भएर ढकमक्क फक्रनु त तत्कालीन समय र समाजमा वर्जित नै थियो । तर येनकेन जीवन निर्वाह गर्दै हाम्रो अभिभावकत्व ग्रहण गर्नु चाहिं सामाजिक‚ पारिवारिक र मानवीय दायित्व थियो ।
बागलुङ पुगेकै दिन मेरो जागिरको संघर्षको कथा सुन्ने अवसर प्राप्त गरे । म जति कष्टसाध्य यात्रा तय गरेर बागलुङ पुगेको थिएँ असार महिनाको वर्षेझरीको प्रवाह नगरिकनै तर त्यो भन्दा महान् संघर्षको गाथा त म पुग्नुपूर्व देखिनै बागलुङमा चलिरहेको रहेछ । लोक सेवा आयोगले मेरो सिफारिस जिल्ला पञ्चायत सचिवालय बागलुङमा गरेको रहेछ । उक्त विज्ञापनमा १ र २ नम्बरमा नाम निकाल्नेहरुलाई खरिदारमा र बाँकी अन्यलाई गाउँ पञ्चायत सचिवमा पठाएको रहेछ । मेरो नाम ३ नम्बरमा सिफारीस भएकाले जिल्ला पञ्चायत अन्तर्गत काम गर्न पठाएको रहेछ । यसलाई सौभाग्य अथवा दुर्भाग्य के भनेर सम्बोधन गर्न सकिन्छ ? जागिर सकिएर अवकास जीवन व्यतित गर्ने समयसम्म पनि म यही हो भन्नेमा यकिन छैन । शायद यही निर्णयहीनताको फाइदा उठाउन प्रयत्नरतहरुले जीवनलाई उकालीतिरै धकेलीरहेका होलान तर मेरो गन्तव्यले गति पक्रन सकेको छैन ।
म कार्यालयमा नियुक्ति लिन पुग्दा धेरै साथीहरुले नियुक्ति पत्र बुझिसकेका रहेछन । मैले पनि नियुक्ति पत्र बुझें । केही दिनको बागलुङको बसाईपछि तोकिएका कार्यालयहरुतर्फ प्रस्थान गर्नुपर्ने अवस्था भयो । मैले नियुक्तिपत्र बुझ्नुपूर्व नै मलाई पश्चिमी भेकमा पठाएको कुरा जानकारी पाएर हाम्रो आफ्नै पञ्चायतमा ठाउँ खाली भएकाले त्यही पठाउने व्यवस्थाका लागि दाजु खिम बहादुर जि.सी. (जि.सी. गुल्मीका बासिन्दा जोसंग नोकरीको सिलसिलामा परिचय भयो‚ पारिवारिक हेलमेल भयो र पछि कृषि विकास बैंकमा पनि संगै भयौं । उनी रिसाहा छन‚ सहयोगी मनका धनी छन् मेरा लागि रक्तनातामा परिवार बाहिरका भएपनि व्यहारले आफ्नै दाजु भन्दा नजिक छन‚ लामो समयदेखि बिरामी रहेका उनलाई यस सन्दर्भमा स्मरण गर्दै स्वास्थ्यलाभको कामना गर्दछु) माफर्त अनुरोध गरेर उक्त स्थानबाट अर्जेवामा पठाउने निर्णय भएको जानकारी प्राप्त भयो । यसैले पनि मेरो मनमा कतिबेला कस्तो अवस्थामा कहाँ कसरी दुर्घटना हुनसक्छ ? सोच्न बाध्य बनाएको थियो ।
केही दिनको जिल्ला पञ्चायत सचिवालय बागलुङको बसाईपछि साउन १ गतेदेखि खटाइएका कार्यालयहरुमा हाजिर हुनजाने गरी पत्र बुझाउने जानकारी प्रशासनले गराएकाले संख्या पनि धेरै भएको हुँदा खटाइएको पत्र बुझ्न लाइन बस्दै गर्दा आज अबेर भएकाले भोलि दश बजे बुझाउने भन्ने निर्देशन पछि हामी आ–आफ्नै स्थानतर्फ लाग्यौं । कार्यालय बाहिरपट्टि निस्कँदा दुईजना मान्छेहरुलाई देखें । उनीहरुलाई देखेपछि मनमा चियो पस्यो । कुनै अपशकुनको पीडाले छटपटिन थाले दिदीको घरमा पुगेर । विगतमै उनीहरुसँग जागिरको बारेमा केही खटपट भएर एउटा जागिरमा अनायसै आफ्नै हातले राजिनामा लेखेर हिंडेको स्मरण ताजै थियो । मनमा विभिन्न शंका उपशंकाहरु उत्पन्न भए‚ राम्रोसँग खान पनि मन लागेन र रात पनि असमन्जसमै बित्यो ।
दैनिकी सकेर दिदीले बनाएको खाना खाएर म कार्यालयतर्फ लागे । साथीहरु पत्र बुझ्ने भनेर लाइनमा रहेछन‚ म पनि त्यहीं मिसिएर पत्र बुझें । खोलेर हेर्दा मेरो आशंका पुष्टि भयो । मलाई खटाइएको पत्रमा अर्जेवा काटेर अमरभूमि लेखिएको थियो । मेरा आँखाले त्यो भन्दा बढी केही देखेनन । आकाश खसेजस्तै‚ धर्ती भासिए जस्तै‚ मेघ गर्जिए जस्तै मेरो वरिपरी सन्नटाले छायो । मेरो अनुमानमा मैले हिजो देखेका अनुहारको चुक्लीमा सभापतिबाट भएको कार्य भन्ने अनुमान गरेर उपसभापति मार्फत् गुनासो राखे । एलडीओले श्री ५ को सरकारको निर्णय हो भने । उपसभापतिले प्रतिवाद गरेर श्री ५ को सरकारले रातभर निर्णय गर्छ भनेर कडा कुरा गरेपछि म मिलाउँछु त भने तर वहाँ कार्यालय बाहिर निस्केपछि मलाई बोलाएर धम्क्याए । यसपूर्वको जागिर छोडिसकेकाले प्रसँग जोड्नु परेन तर लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर प्राप्त जागिरमा पनि शुरुमै कवावमा हड्डीको अवस्थाबाटै जागिरको थालनी भयो जुन अतित तर्फ नियालेर हेर्दा जागिरमा संघर्षको शुरुवातको दिन थियो ।
तर म विवश थिएँ‚ पोखराको जागिर राजिनामा गरेरै छाडेको थिएँ । मलाई ‘नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छावावुको अनुहार’ को अवस्था भएको थियो । मेरो जागिर बाहेक अन्य विकल्प पनि थिएन त्यो समयमा । वैदेशिक रोजगारको गन्तव्य भारत मात्र थियो भने त्यो समयमा अहिले अमेरिका‚अष्ट्रेलिया भनेजस्तै ब्रिटिस सेना र भारतीय सेनामा भर्ना हुनु थियो जो दुईवटा कारणले मेरा लागि वर्जित बनेको थियो । त्यसमध्येको एउटा कारण मेरो आफ्नै वुवा भारतीय सेनाको पूर्व जागिरे र दाजु सोही सेनाको वर्तमान जागिरे हुनुहुन्थ्यो भने अर्र्कोे महत्वपूर्ण कारण चाहिं वैदेशिक भर्ती केन्द्र खारेजीको विचार वाहक भएकाले नैतिकताको विषय पनि थियो जो मेरा लागि सदाकाल चिरस्थायी छ ।
जागिर‚ जागिरेहरुको लागि त्यस्तो नशा हो जसले जागिरेलाई मर्नबाट बचाउँछ तर कहिल्यै मोटाउन दिंदैन तर विचौलियाहरुको हकमा यो लागु हुँदैन । यतिबेला नेपालमा कति जागिरे होलान‚ कति विचौलिया होलान त्यो अनुमानको विषय मात्र हुन सक्छ अनुसन्धानको होइन ।
जडीबुटी, कोटेश्वर, २०८०÷१२÷११