- मानबहादुर भण्डारी
मेरो प्यारी दिदी
खै म कसरी बुझाउँ हजुरलाई
मौन छु म सङ्ग शब्द छैन
न त छ कुनै दिने उत्तर हजुरलाई
हजुरको निश्छल आँखामा
हरदम छचल्किन्छन प्रेमहरु
बोली अनि ब्यवहारमा
देखिन्छ अटुट हार्दिकता
हजुरका इच्छा चाहना
सोचाई अनि बुझाईहरुमा
न कुनै खोट छ
न त छ कुनै स्वार्थिपना
त्यसैले हजुरप्रती
मेरो आदर सम्मान छ
हजुर प्रती मेरो
कुनै पनि गुनासो छैन दिदि
म आफ्नै कथाब्यथामा
अकारण छटपटिएको छु
बिशालु काँडाद्वारा
पलपल हरपल कोतरिएको छु
हाम्रा मेहनती हातले
सिंगारिएका सुन्दर बगैँचा माथि
निर्दयिहरुका हातहरुले
निर्ममता पुर्बक डोजर चलाईएको छ
सुन्दर कोपिलाहरुलाई
न निमोठ न चिथोर बिन्ती भन्दा
अहंकारी सनकीद्वारा
सुन्दर सपनाहरु जलाईएको छ
मन बिचल्लित हुँदा
म कुन गर्वले हास्न सक्छु दिदी
गुनासो गर्दै हजुर सामु
न त भक्कानिंदै रुन सक्छु दिदी
हाम्रो रंगिन बगैंचा
बगैंचाप्रतिको लगाव अनि मेहनत
खेर गएकाले आक्रोसित छु
त्यसैले मौन बनेर दिदी
बगैंचा तहसनहस पार्नेका बिरुद्ध
आजकल म बिद्रोह उमारी रहेको छु
सुन्दर राता फुलहरुका
बेर्ना जम्मा गरेर पुनः सारी रहेको छु ।