– टङ्कराज ढकाल तितेपाती
छन्द– मेघविस्फूर्जिता
गण य म न स र र गु यति ६,१२ मा
हरायो रायो जो अवनि तलमा लोप थुन्से र डालो
मकै खै रैथाने लहलह हुने लाग्न थाल्यो तुवाँलो
जरायो हात्ती यी अलमल परे छोप्न थाले कठालो
कताको हावा हो युवक युवती खोज आफ्नै उज्यालो।१
नपाल्छन् मान्छेले पशुधन यहाँ गोठ छाप्रो करालो
र रेखा रेखामा कलह झगडा गर्न कस्को धरालो
छ आलोपालोमा लुटपुट भयो गर्न मस्ती बिरालो
गधाले झैं भारी गुटुमुटु भयौ खोज आफ्नै उज्यालो।२
भकिम्लो कुम्लोमा नपस कमिला चढ्न सक्छौ उकालो
दलाली लालीमा अभर जनको पर्न सक्ला निगालो
अँध्यारो बाटोमा नहिंड जन हो भालु हिंड्ने छ पालो
उचाल्दै फाल्दैछन् सकल सुख यी खोज आफ्नै उज्यालो।३
दुलोमा लुक्दैछन् दनुज भरिया भ्रष्ट सत्ता छ कालो
छ आफ्नो आफ्नोमा रजगज जहाँ दुष्ट साली र सालो
फटाहा जालीको धन महलको बस्तु धार्ने पहेंलो
घरीको केरामा नजर नडुलुन् खोज आफ्नै उज्यालो।४
चमेराको ताँती नगर रमिता हुन्न दोषी बकुल्लो
बलेको यो बत्ती कपट नरहोस् शक्ति घट्ला भँगालो
नटालेको छाना अतिशय झरी बास उठ्ला दियालो
म नेपाली छोरा दिगमिग नभै खोज्छु आफै उज्यालो।५
छ भ्रष्टाचारीको दलन अहिले चोर्न थाले भदालो
र दानापानी नै पर मुलुकको त्रस्त आचार मैलो
मुनाफाखोरी छन् दमन भरमा भाँच्न साकार मौलो
कटारी टारीको जनमन उठौं खोज्न आफ्नै उज्यालो।६