चिरन पुन ‘मिलन’ को ‘संगीत अभियात्रा सिंहावलोकन’ को समीक्षा

-गंगा पौडेल
कमरेड, चिरन पुन ‘मिलन’ द्वारा लिखित एवं संकलित कृति “संगीत अभियात्रा सिंहावलोकन’ को अध्ययन गर्ने अवसर मिल्यो । नेपालका प्रगतिशील तथा जनवादी कलाकारहरुले २०७९ चैत्र ४ गते कैलालीको धनगढीबाट शुरु गरेर पूर्वमा इलामको फिक्कलसम्म कार्यक्रम सम्पन्न गरी २०८० वैशाख २५ गते काठमाडौं प्रज्ञा भवनमा भव्य कार्यक्रम सम्पन्न गरी “अभियात्रा” समापन गरिएको थियो । यस पुस्तकमा लेखक चिरनले त्यो अभियात्राको विस्तृत वर्णन गर्नुभएको छ । आफू पनि प्रगतिशील गीत संगीतको जिज्ञासु भएको नाताले पनि होला ‘राष्ट्रका लागि संगीत अभियात्रा’ को बारेमा मसिनो गरी बुझ्ने उत्सुकता जागेर आयो । हुन त मैले यो अभियानको सुरुदेखि कार्यक्रमको अन्त्यसम्म सामाजिक संजालमा रंगिएका लाइभ कार्यक्रम पनि हेरिरहेको थिएँ । त्यसका साथै नवलपुर जिल्लाको गैंडाकोटस्थित ताजमहल एभरेष्ट होटलमा संचालन भएको कार्यक्रममा म र मेरो जीवन संगीनि सरस्वती पौडेल प्रत्यक्ष सहभागी भएर बडो आनन्द लिएका थियौं । कैलाली जिल्लाको धनगढीदेखि सुरु गरिएको कार्यक्रम सुर्खेत, घोराइ, बुटवल, गैडाकोट, भरतपुर, मकवानपुर, बर्दिवास, विर्तामोड, इलामको फिक्कल लगायत पोखरा हुँदै काठमाडौंको प्रज्ञा भवन कमलादीमा समापन गरिएको थियो । धनगढीदेखि काठमाडौंसम्म आइपुग्दा यो कार्यक्रमलाई प्रत्यक्ष वा परोक्ष युटुव, फेसुबक लाइभबाट लाखौं जनताले नियालेका थिए । काठमाडौं लगायत विभिन्न स्थानमा संचालन भएको कार्यक्रममा वर्तमान, निवर्तमान प्रधानमन्त्री, सांसद, विभिन्न पार्टीका नेता, उद्यमी व्यापारी, डाक्टर, वकिल, राष्ट्रसेवक, कर्मचारीहरु, बुद्धिजीवी, पत्रकार, साहित्यकार, हाँस्यव्यंग्य कलाकार लगायत त हजारौं जनताहरुको भौतिक रुपमा नै उपस्थिति रहेको थियो । विभिन्न चिरामा विभक्त नेपालका वामपन्थी दल र तिनका नेताहरुलाई खबरदारी गर्दै देश र जनताको उत्थान, विकास र सम्बृद्धिमा एकताबद्ध भई अगाडि बढ्न प्रेरित गरेको कुरा गीत, संगीत, नृत्य र अभिनयबाट प्रष्ट हुन्थ्यो । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ कार्यक्रममा नेपालका ख्याती प्राप्त प्रगतिशील कलाकारहरुले सामूहिक रुपमा आह्वान गरिएको महान यात्रा पहिलो नै हो । विभिन्न चिरामा छिरिएका वामपन्थी पार्टीहरुको छत्रछायामा रहेका कलाकारहरु पार्टीका संकिर्ण सोंच भन्दा माथि उठेर एकै ठाउँमा उभिएर यसरी देश दौडाह गरी वामपन्थी पार्टीका नेता र तिनै पार्टीमा आस्था राख्ने कार्यकर्ता, शुभचिन्तकहरुलाई एक ढिक्का भएर देश विकासको अभियानमा लाग्नका लागि आह्वान गर्दै हिंडेको यो यात्रालाई सकारात्मक रुपमा लिनुपर्दछ ।
०६२÷०६३ को महान तथा तथा ऐतिहासिक आन्दोलनबाट व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएको छैन । उही पुरातनवादी सोंचबाट मुक्त नभइसकेका राजनीतिक पार्टीका प्रमुख नेता र कार्यकर्ताहरुलाई उर्जा दिनका लागि यो कार्यक्रमको सुरुवात गरिएको कुरा बुझ्न गाह्रो पर्दैनथ्यो । पटकपटकका जनआन्दोलन तथा सशस्त्र युद्धलाई उत्प्रेरणा दिन, गतिशील बनाउन वा विजयको शिखरमा पु¥याउन साँस्कृतिक आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा इतिहास साक्षी छ । यो कार्यक्रमको महत्व पनि विशेषतः यही अर्थमा लिन सकिन्छ । यद्यपि अहिले नेपालमा क्रान्तिको वस्तुगत स्थिति तयार रहेका भएतापनि आत्मगत स्थिति कमजोर छ । आत्मगत स्थिति कमजोर हुनुको कारण कम्युनिस्ट पार्टीहरु विभिन्न चिरामा वा समूहमा रहेको हुँदा क्रान्तिकारी शक्ति कमजोर भएको स्थिति छ । विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेका उग्रवामपन्थी तथा दक्षिणपन्थी अवसरवाद र सैद्धान्तिक राजनैतिक आन्दोलनमा भएको विकृति र विसंगति पार्टीमा भएका टुट, फुट र विभाजनबाट सर्वसाधारण जनता, पार्टी कार्यकर्ता वाक्क, दिक्क र निरास बनिरहेको सन्दर्भमा यो अभियात्राले सामाजिक रुपान्तरणको पक्षमा रहेका जनतालाई ब्यूँताउने वा उर्जा प्रदान गर्ने सह्रानीय काम गरेको छ । यसलाई नेपाली जनताले स्वागत गरेको बुझ्न सकिन्छ । तर यो एउटा अभियानले मात्र राजनीतिक दल र नेता सच्चिने छैनन् र आमूल परिवर्तन पनि हुने वाला छैन । चीनको सर्वहारा सांस्कृतिक अभियानको झल्को मेट्ने गरी नेपालमा पनि सांस्कृतिक आन्दोलनको खाँचो रहेको छ । यो यात्रालाई अझै फराकिलो र विशाल छाती बनाएर बाँकी रहेका तितरवितर भएका प्रगतिशील तथा क्रान्तिकारी कलाकारहरु, लेखक, साहित्यकार वामपन्थी बुद्धिजीवीहरुलाई पनि समेटेर राजनीतिक पार्टीका नेता, कार्यकर्ता र आम सर्वसाधारणको समेत सहभागिता हुने गरी विद्रोहको सांस्कृतिक आन्दोलनको आँधीवेहरी ल्याउने गरी पुनः एक पटक जनतालाई जुरुक्क उठाएर विद्यमान दलाल पुँजीवादी राज्य व्यवस्थाको अन्त्य र नयाँ जनवादी व्यवस्थाको खुड्किलो पारा गरे वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आम जनवादी कलाकारहरुले पनि पहल गर्न पर्ने आवश्यक छ । सांस्कृतिक आन्दोलन समाज रुपान्तरणको एउटा महत्वपूर्ण पार गरी वैचारिक रुपले जतिसुकै क्रान्तिकारी कुरा गरेपनि सांस्कृतिक रुपान्तरण नहुने हो भने पार्टी संगठन र आन्दोलनमा कैयौं समस्याहरु आउँदछन् । आज कम्युनिस्ट आन्दोलनमा टुटफुट र विभाजनको समस्या भनेको पार्टी, तिनका नेता र कार्यकर्तामा सांस्कृतिक रुपान्तरण नहुनुु हो ।
क. चिरन पुनले अत्यन्त मेहनत गरेर तयार पारेको यो ‘सिंहावलोकन’ कृतिमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रीहरु र अन्य बुद्धिजीवीहरुले पनि आ–आफ्ना समीक्षात्मक धारणाहरु राखेका हुन् । सरसरती अध्ययन गर्दासम्म सबैको भावना एउटै रहेको पाइयो । उनीहरुले यो अभियात्रालाई सकारात्मक रुपमा लिएका छन् । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले ‘राष्ट्रका लागि संगीत अभियात्रा’ लाई यसरी बुझेका रहेछन् । उनको भनाईका केही महत्वपूर्ण वाक्यांश यहाँ जस्ताको त्यस्तै राख्न चाहन्छु ।
“कलाकारहरुले संगीतम शैलीमा भने, अब कम्युनिस्ट आन्दोलन छरिएर हुँदैन । कोही जवजको डम्फु बजाउने, कोही नयाँ जनवाद कै पुराना बाजा बजाउने, कोही माओवादीको जलप लगाएर नथाक्ने तर कांग्रेससँग गठबन्धन गर्ने, यो त विडम्वनापूर्ण स्थिति भयो । अव त साम्राज्यवादलाई लक्ष्य बनाऔं वैज्ञानिक समाजवादलाई अर्जुनदृष्टि बनाऔं । त्यसलाई प्राप्त गर्न सही क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्त निर्धारण गरौं । नेपाली विशेषता अनुरुपको समाजवादी कार्यक्रम सारौं । त्यसलाई प्राप्त गर्नका लागि विभिन्न क्षेत्र, र तहबाट वर्गसंघर्षको श्रृंखलाबद्ध विकास गरौं । यिनै लक्ष्य र कार्यभारका निम्ति एकजुट बनौं ।’ (संगीत अभियात्रा पृष्ठ–११५)
पूर्व प्रधानमन्त्री माधवकुमार यसो भन्दछन्ः “राष्ट्रका लागि संगीत अभियात्रा कार्यक्रम संचालन गरेर असाध्यै राम्रो काम गर्नुभयो । देशका सबै जनवादी कलाकारहरुलाई उत्प्रेरित पार्नुभयो ।” उनी अगाडि भन्छन् “यो निकै प्रशंसनीय र अनुकरणीय छ । किनकि प्रत्येक राजनीतिक आन्दोलनको अगाडि अगाडि सांस्कृतिक आन्दोलन नै हिंड्ने गर्दछ । हरेक युद्धहरु र आन्दोलनहरुमा सांस्कृतिककर्मीहरुको भूमिकाले नै मानिसलाई लड्न, जित्न, अघि बढ्न उत्प्रेरणा पैदा गर्दछ ।” (संगीत अभियात्रा पृष्ठ १११)
यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को भनाई यस्तो छ, ‘म आफू जनवादी गीतहरु रुचाउने भएकाले फुर्सद भएको बेला जनवादी, प्रगतिशील र देशभक्तिपूर्ण गीतहरु नियमित जस्तो नै सुन्छु ।यसले मेरो जीवन र राजनीतिक सक्रियतामा समेत उर्जा दिने गरेको छ । जनवादी क्रान्तिको कार्यभार मूलभूतरुपमा पूरा गरेर हामी समाजवादी क्रान्तिको तयारीको चरणमा प्रवेश गरेका छौं । यसका निम्ति वैज्ञानिक समाजवादका पक्षधर शक्तिहरु एकीकृत हुन आजको आवश्यकता हो ।” (संगीत अभियात्रा पृष्ठ ११०)
क. प्रचण्डको चार पष्ठ लामो समिक्षात्मक टिप्पणीमा धेरै कुराहरु सकारात्मक रहे तापनि उनको भनाई जो नयाँ जनवादी क्रान्तिको कार्यभार मूलभूतरुपमा पूरा भएर समाजवादी क्रान्तिको तयारीमा प्रवेश गरेका छौं भन्ने कुरा सरासर गलत छ । नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको अवस्था हैन । त्यसैगरी झलनाथको भनाईमा पनि केही त्रुटी रहेका छन् । यद्यपि सबै वामपन्थी एकजुट नभए आमूल परिवर्तन सम्भव छैन भन्नेमा उनीहरुको चेत खुलेको छ । संगीत अभियात्राबारे अन्य धेरै व्यक्तिहरुका पनि सकारात्मक टिप्पणीहरु रहेका छन् । सारमा विद्यमान रहेका वाम तथा क्रान्तिकारी पार्टीहरु सबै एकजुट हुनै पर्दटछ र क्रान्तिका अधुरा कामहरुलाई पूरा गर्नु पर्दछ भनेको कुरा बुझ्न गारो पर्दैन ।
वामपन्थी आन्दोलन धेरै पछाडि पारेको कुरा नेताहरुलाई हेक्का हुन पर्ने हो । विगतमा हाम्रो के कति कमी कमजोरीहरु रहे । अबको बाटो अथवा जनवादी क्रान्तिको कार्यदिशा के हुनुपर्ने भन्नेबारे आत्मसमिक्षा गर्न धेरै विलम्व भएको छ । अझै विलम्व गर्ने हो भने देश ठूलो संकटको भुमरीमा फस्नेछ । कलाकारहरुले पनि यही कुरालाई सुझाउनका लागि अभियान सुरु गरेका हुनु भन्ने लाग्दछ । टिप्पणी गर्ने सबै व्यक्तित्वहरुले पनि वामपन्थीहरु एकै ठाउँमा उभिएर राष्ट्र र जनतालाई निकास दिनुपर्दछ भन्ने कुरा व्यक्त गरेका छन् । वामपन्थी पार्टीहरुमा आस्था राख्ने सबै कलाकारहरुले एउटै साझा मञ्च बनाएर देश दौडाह गरेको कुरा सुखद सन्देश मान्नु पर्दछ । उनीहरुले नेताहरुलाई भनेका छन् हामी अब एक भएका छौं, तपाईहरु पनि यसैगरी एकभएर अगाडि बढ्नुहोस् । त्यसैगरी कलाकारहरुले गाएका प्रत्येक गीत, संगीत र अभिनयहरुमा गरिव, किसान, सुकुम्वासी, भारी बोक्ने भरिएकाहरुका पीडा झल्किएका छन् । शोषित, उत्पीडित महिलाहरु, गिटी कुट्ने ज्यामीहरु, विदेशी भूमिमा दुस्मनहरुसँग लड्न गएका फौजी दाजुभाइका पीडाहरु भारत तथा तेस्रो मुलुकहरुमा रोजगारका लागि गएका लाखौं युवायुवतीहरुका वेदनाका गीतहरु कलाकारहरुले गाएका छन् । विदेशमा बेचिएका नेपाली चेलीहरु नारकीय जिन्दगी जिउन बाध्य भएर छट्पटिएका आवाजहरु गीतबाट सम्बोधन गरिएका छन् ।
कलकारहरुले दर्शकबीच पस्केका दर्जनौं गीतहरु छन् । तिनी सबै गीतका भावहरु यहाँ प्रकट गर्दा यो स्तम्भले धेरै लामो आकार लिन्छ । मैले धेरै स्पेस लिन चाहन्न । तर पनि एक दुईवटा गीतहरुका केही अंशहरुलाई यो छोटो समिक्षात्मक टिप्पणीमा नराख्दा पनि अन्याय होला भन्ठानेर संक्षेपमा उल्लेख गर्न मन लाग्यो । एउटा सामूहिक गीतमा भनिएको छ ः ‘टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर, एक ढिक्का एकताको कुरा गर, विरताको कुरा गर ।’ यो गीतले चिराचिरा परेर छिरलिएका वामपन्थी पार्टीहरुलाई एकजुट हुन आह्वान गरिएको छ । यसैगरी भारतमा चौकीदारी गर्ने अनन्त नाम गरेको युवाले सिठ्ठी फुक्दै, लौरो समातेर रातिको समयमा जागते रहो, जागते रहो भन्दै रहेको अवस्थामा छुट्टीमा घर गएर फर्केको शेर सिंह नाम गरेको अर्को युवाले अनन्तको घरको चिठ्ठी बोकेर अनन्तले डिउटी गर्ने स्थानमा पुगेर चिठ्ठी दिन्छ । चिठ्ठी खोलेर हेर्दा घरमा अनन्तको सासुआमा बितेको खबर लेखिएको हुन्छ । गाउँमा गएर साहु, फटाहाको अन्याय अत्याचारबाट गाउँलेहरु र स्वयं अनन्तको परिवार समेतको विल्लीवाठ भएको कुरा चिठीबाट थाहा हुन्छ । चिठी पढेपछि अनन्त मुर्छित हुन्छ । त्यसपछि अनन्तले फटाहा गब्बरेका विरुद्ध लड्न र गाउँलेहरुलाई मुक्ति दिलाउन गाउँमा जाने प्रण गर्दछ । उक्त गीतको अभिनय रक्तिम अध्यक्ष नारायण शर्मा र डम्मर भण्डारीले गर्नुभएको छ । अभिनयमा अन्य धेरै कुरा जोडिएका छन् । त्यसरी नै कलाकारले सामूहिक रुपमा गाएको गीतको अलिक फरकपनको महशुस हुन्छ । गीतले भन्दछ “आउ मिलाऔं हाम्रा हातहरु, तिमी देउ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु, न्याय र समानताको लागि आउ मिलाऔं हाम्रा हातहरु, तिमी देऊ तिम्रा स्वरहरु, म दिन्छु मेरा स्वरहरु, आऊ मिलाऔं हाम्रा स्वरहरु, राष्ट्रियता र स्वतन्त्रताको लागि आऊ मिलाऔं हाम्रा स्वरहरु ।”
अर्को गीतको बोल छ ः
“चाहिंदैन मलाई सुनको दरबार, चाहिंदैन मलाई
हिरामोती हार, यसै छ राम्रो मेरो पैदलयात्रा
चाहिंदैन मलाई टलिकने कार”
जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकहरुले लगातार ताली बजाएको सुनिन्थ्यो । कसैले जीवन शर्माको स्वरमा स्वर मिलाएर गाएका थिए । कतिपय नाचेका थिए । जीवन शर्माका अन्य प्रस्तुति मध्ये वर्षौपछि घर फर्केको प्रवासी नेपालीको भावना समेटिएको गीत जस्तै “म हिंडेको गाउँको बाटो मुस्कुरायो, पाटो मुस्कुरायो” भन्ने प्रस्तुतिबाट दर्शकहरु निकै प्रभावित देखिन्थे । त्यसरी नै दलितको गीतमा भनिएको छ, ‘ ए राज्य मन तिमीले अझै के के गर्नुपर्दछ, पानी चल्ने देश बनाउन अझै कति लड्नु पर्दछ ।’


दर्शनौं कलाकारहरुबाट जनताको पक्षमा, क्रान्तिको पक्षमा गीतहरु गाइएका छन् । सबै गीतहरुमा आ–आफ्नो महत्व र सबैका भावनाहरु समेटिएका छन् । कलाकारहरुले दर्शकलाई कतिबेला रुवाउने, कतिबेला हसाउने, कतिबेला जुरुक्कै उठाउने, क्रान्तिको चेतना जगाउने गरेका थिए । कलाकारहरुको अभिनय, गीत र नृत्यबाट जनता निकै उत्साहित देखिन्थे । कति कति बेला भावुक पनि देखिन्थे । जेहोस् सबै प्रस्तुतिहरु बेजोड थिए । कलाकारहरुका गीत, संगीत र अभिनयहरुमध्ये कुनै पनि कम महत्वका थिएनन् ।
यो यात्रामा रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष तथा चर्चित जनगायक जीवन शर्माको त झनै ठूलो योगदान रहेको छ । जीवन शर्माको योगदान यतिमा मात्र सीमित छैन उहाँ जीवनकोउर्वरा अवस्थादेखि प्रगतिशील गायन क्षेत्र जस्तै गरिब किसान, मजदुर, सुकुम्बासी, भरिया, दलित, जनजाति, विभेदमा परेका महिलाहरुको न्याय र समानताको पक्षमा क्रान्तिको पक्षमा देश, विदेश र भारतका गल्ली गल्लीहरुमा गीत र संगीतलाई निरन्तरता दिइरहेको कुरा जगजाहेर छ । देश र विदेशमा दर्जनौं कलाकारहरुलाई जीवन शर्माले प्रशिक्षण दिने गरेको कुरा पनि कसैले विर्सन सक्दैनन् । जीवन शर्मा भन्दा अगाडि पनि कैयौं अग्रज कलाकारहरु नभएका हैनन् । उनीहरुको पनि मुलुक परिवर्तनको लागि ठूलो योगदान र भूमिका रहेको छ । उदाहरणको लागि रामेश, रायन, मञ्जुल, खुसीराम पाख्रिन, जेवी टुहुरे, रामकृष्ण दुलाल, श्याम तमोटा लगायत मैले नाम बिर्सेका थुप्रै कलाकारहरुलाई लिन सकिन्छ । उहाँहरु मध्ये कतिपय कलाकारहरुको त निधन पनि भैसकेको छ । उहाँहरु सबैको योगदानलाई पनि हामीले उच्च मूल्यांकन गर्दा अर्को पक्षलाई पनि नजरअन्दाज गर्नु हुँदैन । जुनकलाकारहरुको उदय भयो त्यसमा वामपन्थी तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको पनि लगानी रहेको छ । विभिन्न प्रतिभा भएका कलाकारहरुलाई पार्टीहरुले आ–आफ्नो प्लेटफार्ममा समेटेर उनीहरुलाई राजनैतिक, सैद्धान्तिक, सांस्कृतिक र व्यवहारिक तथा अनुशासनको पक्षमा प्रशिक्षण गरेर नै कलाकारहरु यहाँसम्म आउन सफल भएको कुरालाई हामीले अथवा कलाकारहरुले विर्सियौं भने पार्टीहरुप्रति अन्याय हुनेछ । त्यसैले जनवादी कलाकारहरुको जग कम्युनिस्ट पार्टीहरु नै हुन । यद्यपि पार्टीको आडमा छुट्टाछुट्टै प्रतिभाहरुको विकास भयो, त्यसमा कलाकारहरुको क्षमताको प्रदर्शनलाई पनि धन्यवाद दिनुपर्दछ । मुलुकमा आमूल परिवर्तनका लागि कलाकारहरुले जसरी योगदान पु¥याए तर त्यसको सार्थक परिणाम भने प्राप्त हुन सकेन । त्यसमा राजनीतिक पार्टी र स्वयं कलाकारहरु एक जुट भएर प्रतिक्रियावादी राज्य व्यवस्थाका विरुद्ध लड्न नसक्नु ठूलो कमजोरी भएको छ । यसबारे छुट्टै मूल्यांकन हुनुपर्दछ र केही हदसम्म भएको पनि छ ।
अभियानमा जीवन शर्मा, लक्ष्मी रिजाल ‘उदय’, चिरन पुन, ओम श्रेष्ठ, कर्ण विद्रोही, लक्ष्मण पाख्रिन, कविता पुन, सन्ध्या मगर, माधव प्रधान, नारायण शर्मा, डम्बर भण्डारी, रेश्मा बुढा, मोहित श्रेष्ठ, निलिमा पुन, काजीबाबु श्रेष्ठ, हिरा दर्लामी, विकास लुंगेली, अनु शर्मा, आकृति भण्डारी, उदय श्रेष्ठ, नारायण दंगाल, लक्ष्मी केसी., शक्ति वि.क, टेक ब. बलाम्पाकी, केशर कालिकोटे, काजीबाबु श्रेष्ठ, केसरी धर्ती, विरप्रसाद भन्सारी, राजेन्द्र गौतम, सरल माझी, बालकृष्ण गजमेर, डिवि वान्तवा, वीरेन्द्र सूर्यवंशी, शान्ति बलाम्पाकी, कमला श्रेष्ठ, प्रगति महरा, सिर्जना थापा, रोशन गुरुङ, लोचना गौतम, समिक्षा प्रजा, निशा प्रजा, रिश्मा घलान, सुमिना घलान, सजिना वल, रोशनी रुम्बा, विपसा रुम्वा, सिमा प्रजा, रञ्जना प्रजा, समृद्ध तामाङ, गोविन्द विक लगायतका कलाकारहरु रहेका थिए भने । वरिष्ठ बाद्यवाधकहरुमा कुमार महाराज, भरत बुढाथोकी, सुशिला चौधरी, पोषण घर्तिमगर, अनुपदास, दिपक थापा, रुपेश सिंह, प्रदिप श्रेष्ठ, गोपाल देव, सुरज सिंहठकुरी, कमलकुमार वि.क, आर्यन थापा,खेम लामा, सिमोन राना, नारायण दंगाल रहेका थिए । कलाकारहरुका गीत, संगीत, नृत्य र अभिनयहरुबाट कार्यक्रमस्थल अत्यन्त रोचक र मनमोहक देखिएको थियो । सबै कार्यक्रमहरुमा २ दर्जन भन्दा बढी गीत, नृत्य र अभिनयहरु प्रस्तुत भएका थिए । प्रस्तुत गीत, नृत्य र अभिनयहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, भूगोलको रक्षा, जनताका पीडा, प्रवासी नेपालीहरुका कथा र व्यथा, भ्रष्टाचार, बेथिति, अनियमितता, अन्याय, अत्याचारसँग सम्बन्धी रहेका थिए । साथै जनताका यावत समस्याहरुलाई गीत, संगीत र अभिनयबाट झल्काइएको थियो ।
अन्तमा ‘संगीत अभियात्रा सिंहावलोकन’ कृतिलाई बडो मेहनत गरी प्रकाशन गरेर जनतासामु ल्याउने मेरो अनन्य मित्र क. चिरन पुन र म लगायत नेपालका अन्य रक्तिमका कलाकारहरु सहित सन् २००० मा भारतस्थित नेपालीहरुको सामाजिक संगठन अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको भारत व्यापी नगर सम्मेलनको सन्दर्भमा मध्य प्रदेश हुँदै उडीसा, बंगाल, आसाम, मेघालय, नागालैण्ड, मिजरोम राज्यहरुमा सँगै हिंडेका थियौं । त्यतिबेलादेखि मैले क. चिरन पुनलाई नजिकबाट चिन्ने गर्दछु । दुर्भाग्यवस हामी ०६२÷६३ को आन्दोलनपछि अलग अलग धारमा विभाजित हुन पुग्यौं । समय परिस्थितिले पुनः हामी भेट हुने अवसर जुरेको छ । क. पुन प्रगतिशील सांस्कृतिक क्षेत्रमा निकै सक्रिय कलाकार हुनु हुन्छ । त्यति मात्र नभएर उहाँ एउटा कुशल संगठक, साहित्यमा रुचि राख्ने व्यक्ति र पार्टीको नेता पनि हुनुहुन्छ । उहाँ जीवनमा जस्तासुकै अप्ठेरोमा पनि निरास हुनुहुन्न । सधै क्रियाशील र आसावादी हुनुहुन्छ । शुरुमा उहाँले जीवन शर्माका गीत, संगीतलाई मन पराउनुहुन्थ्यो । आफू पनि गीत गाउनु हुन्छ, रचना गर्नुहुन्छ, संगीत भर्नुहुन्छ । उहाँका गीति एल्वमहरु पनि बजारमा उपलब्ध छन् । क. चिरन यो अभियानमा पनि प्रमुख अभियन्ताको रुपमा टोलीको नेतृत्व गर्दै सक्रियतापूर्वक लाग्नु भयो । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा सय कडौं कलाकारहरुको भूमिका रहेको छ । तर धेरै मानिसले आफ्ना संस्मरणहरु लेख्ने गर्दैनन् । त्यसैले ती आन्दोलनहरुमा भाग लिने मानिसबारे जानकारी मात्र नहुने होइन, त्यो बेलाका घटनाक्रम वा इतिहास नै ओझेलमा परेका छन् वा सधैका लागि लोप भएर गएका छन् । यसप्रकारको पृष्ठभूमिमा क. चिरन पुनले प्रकाशन गरेको कृति प्रशंसनीय रहेको छ । प्रशंसनीय मात्र नभएर ऐतिहासिक दस्तावेज नै बन्न पुगेको छ । उहाँको यो प्रयत्नबाट राजनैतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा काम गर्ने सबैले शिक्षा लिनुपर्दछ । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा कलाकारहरुको महत्वपूर्ण योगदान रहने गरेको छ । प्रजातान्त्रिक आन्दोलनमा होस् वा झापा विद्रोह, माओवादी जनयुद्ध वा ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको छ । निरंकुश शासन र पंचायती तानाशाही व्यवस्थाका विरुद्ध भूमिगत रुपमा जनताका बीच पुगेर जनचेतना जगाउने काममा पनि अतुलनीय योगदान छ । कलाकारहरु निरंकुश शासकहरुको निसानामा थिए ।उनीहरु भूमिगत रुपमा जनताका बीचमा जाने गर्दथे । जनचेतना जगाउने क्रममा उनीहरुले यातनाको सिकार हुनुपर्दथ्यो । प्रहरी हिरासत, जेल, नेलको यातना भोग्न परेका कैयौं उदाहरणहरु पनि छन् । अहिलेको अभियान विगतको टुटेको कडीलाई जोड्ने अभियान पनि हो । क. चिरनले यो कृतिलाई लेखनकार्य शुरु गर्दा एउटा पाटोमा ध्यान नपु¥याएको मलाई महशुस भयो । उहाँले लेख्दै गर्दा प्रत्येक कार्यक्रम स्थलमा कुन कलाकारले कुन गीत गाए कसले कुन गीतमा नृत्य र अभिनय गरे भन्ने पनि सुचिकृत गर्नुभएको छ । सूचिकृत गर्ने क्रममा पुस्तकको एक ठाउँमा मात्र सबै गीत, नृत्य समेटिने गरी लेख्नु भएको भए पुस्तकको केही पृष्ठ कमी पनि हुन्थ्यो । गीत र कलाकारको नाम ठाउँठाउँमा उल्लेख गर्न पर्ने थिएन भन्ने लाग्दछ । यो मेरो व्यक्तिगत सुझाव हो । अन्य सम्पादन, साजसज्जाको पाटो राम्रो छ ।
अन्त्यमा पार्टीका नेता पार्टी निकट र बाहिरका बुद्धिजीवी, व्यवसायीहरुले पनि अभियानलाई साथ सहयोग र व्यवस्थापन गरेर कार्यक्रमलाई सफल पार्नु भएको छ । उहाँहरुले र कलाकार तथा अभियानको नेतृत्व गर्नु भएको मूलतः जीवन शर्मा, चिरन पुन, मणि थापा लगायत अन्य सम्पुर्ण कलाकारहरुलाई पुनः सम्झिन चाहन्छु । पाश्चात्य छाडा साम्राज्यवादी साँस्कृतिकका विरुद्ध लड्न, राष्ट्र र जनतालाई एक ढिक्का बनाउन नेताहरुलाई खबरदारी गर्दै हिंड्नु भएका सबै सबैलाई सलाम छ । अभियान अझै निरन्तर रहोस्, लेखक चिरन पुनको कलम निरन्तर चलोस् शुभकामना ।
मितिm २०८१ कार्तिक ५ गते ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित