केशव गाहा (पाल्पाली)
प्रिय कम्रेड
तपाईको विचार
त्यो नीति सिद्धान्त
किन हो किन
हिजो आज अलमलिएको
कतै कतै अल्झिएको
र खोक्रो बन्दै गएको
महसुस भैरहेछ
समाज र यो देशको
आमूल परिवर्तनको उद्देश्य
दिन प्रतिदिन जीर्ण बन्दैछ
मार्क्सवाद लेनिनवाद माओ विचारका
ति राता किताब
ति किताब भित्र कोरिएका
क्रान्तिकारी शब्दहरू
ओझेलमा परिरहेछन्
जोशिला ति अक्षरहरू
दुब्लाईरहेछन् ।
पूँजीवादको अन्त्य
समाजवादको स्थापना
तपाईँले पाठ सिकाउँदै हिँडेको
त्यो सपना आज
पूँजीवादकै अँगालोमा
न्यानोपन लिइरहेको छ
स्तनपान गरिरहेको छ ।
पूँजीवादकै सहारामा उभिएर
सर्बहाराको झण्डा बोक्ने
उ विरुद्ध आन्दोलन गर्ने
सिध्दान्त विपरीतको
यो कस्तो
नयाँ सिध्दान्त
आफ्नै पाराले,आफ्नै ढङ्गले
प्रतिपादन गर्नु भएको छ
त्यसैले आज तपाई प्रति
मलाई सन्देह छ
कम्युनिजमको आडमा
सर्बहारा दृष्टिकोण को सहारामा
उभिएर कतै
दलाल पूँजीवादकै सेवा
उस्कै पक्षपोषण गरिरहनु त भाछैन
कम्युनिजमको भ्रम जालमा
रातो झण्डाको खोल भित्र
राता अक्षरको भुमरीमा
कार्यकर्तालाई अल्मल्याएर कतै
साम्राज्यवादको इसारामा
वर्ग संघर्षलाई कमजोर पार्ने
कम्युनिष्ट विचारधारालाई उठ्न नदिने
अभियान त होइन हजुरको?
सन्देह छ मलाई ।