सहिद रोशनध्वज मल्लको संक्षिप्त जीवनी

सहिदको नाम ः रोशन ध्वज मल्ल
जन्म स्थान ः बागलुङ जिल्ला तत्कालीन देबिस्थान गाउँ पंचायतको हर्पे भन्ने ठाउँमा उहाँको जन्म भएको थियो ।
जन्म मितिः नागरिकता अनुसार बि. स. २०१२ साल श्रावण १६ गते ।
बुबाको नामः चक्र बहादुर मल्ल, आमाको नामः तिला कुमारी मल्ल, बुबा आमाको एक्लो छोरा हुनुहुन्थ्यो । उहाँका तीन दिदी बहिनी हुनुहुन्थ्यो ।


पारिवारिक अबस्थाः
रोशनध्वज मल्ल सामान्य किसान परिवारमा जन्मनु भएको थियो।
बिबाहः उहाँको बिबाह लाममेलाका मते गुरुङ र धनी गुरुङकी छोरी गौमला गुरुङ सित २०३५ सालको फागुनको अन्त्यमा भएको थियो ।
सन्तानःउहाँका ४ भाइ छोराहरु हुनुहुन्छ । क्रमशः गामुध्वज मल्ल, पृथुध्वज मल्ल , सुगमध्वज मल्ल र
बल्सिपध्वज मल्ल । कान्छा बल्सिपको १६ बर्षकै उमेरमा मृत्यु ।
छोरीहरु क्रमशः भिमु, हुमु, फामु, चितु, ज्योतिन्द्रा र लिनु ।
सामाजिक संघ, संस्थामा कामः
रोशनध्वज मल्लले देबिस्थान मा. वि.को संचालक समितिको अध्यक्ष भएर काम गर्नु भएको थियो । स्थानिय सामुदायिक वनमा पनि नेतृत्व गर्नु भएको थियो । उहाँले स्थानीय विकास निर्माणका कार्यको अगुवाई गर्नु हुन्थ्यो ।
शिक्षा ः उहाँले बागलुङ बुर्तिबाङको उत्तरगङ्गा मा. बि . मा कक्षा ९ सम्म अध्ययन गर्नु भएको थियो।
स्वभाब÷ चरित्र ः
उहाँ सिद्धान्तनिष्ठ ,निडर,हक्की स्वभाबका र सत्यप्रेमी ब्यक्ति हुनुहुन्थ्यो । समाजका अन्याय अत्याचारका बिरुद्धमा उहाँले डटेर सामना गर्नु हुन्थ्यो । अत्याचारीहरुका उहाँ शत्रु हुनुहुन्थ्यो भने सोझा सिधा र न्यायप्रेमी जनताका लागि प्रिय नेता हुनुहुन्थ्यो ।
उहाँ युवाकाल देखि नै राजनीतिक गतिविधिमा सङ्लग्न हुनुहुन्थ्यो। २०३६ को जनमत सङ्ग्रहमा उहाँले वहुदलको पक्षमा प्रचार प्रसार गर्नु भएको थियो ।
उहाँ पंचायतकालमै नेकपा (मसाल) को समर्थक ग्र्रुप र सेल कमिटीमा बसेर काम गर्नु भएको थियो । २०४८ मा नेकपा (मसाल) को संसदीय निर्वाचन बहिस्कार कार्यक्रममा सक्रिय हुनु भएको थियो । २०४९ को स्थानीय निर्वाचनमा मसाल समर्थित अखिल नेपाल किसान संघका उम्मेदवारहरुलाई जिताउन सक्रिय हुनु भएको थियो । २०५४ को स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट देबिस्थान गा. वि.सं.को अध्यक्ष उम्मेदवार बन्नु भएको थियो । थोरै मतले मात्र उहाँ पराजित हुने भएको थियो । उहाँ नेकपा (मसाल) बागलुङ जिल्लाको १ नम्बर एरिया कमिटी अर्थात निशिखोला एरियाको सदस्य हुनुहुन्थ्यो ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संचालन गरेको किसान मार्च २०५४ र २०५६ मा उहाँ सक्रियतापूर्बक सहभागी हुनु भएको थियो ।
राजकुटको गोली काण्ड ः
२०४९ को स्थानीय तह निर्बाचनको सिलसिलामा देबिस्थानको छिमेकी गा.बि. स. राजकुटमा गोली काण्ड भएको थियो । रोशनध्वज मल्लको त्यसमा कुनै सङ्लग्नता थिएन । तर रिसिबी राखेर रोशनध्वज मल्ल र मानबहादुर पुनलाई बागलुङ हिरासतमा लगिएको थियो । चुनाबलाई प्रभावित गर्न उहाँहरुलाई गिरफ्तार गरी हिरासतमा राखिएको थियो । उहाँको जीवन संघर्षपूर्ण रहेको छ । त्यस भन्दा पहिले एउटा घटनामा उहाँ माथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाइएको थियो । उपचार पछि मात्र उहाँ निको हुनु भएको थियो । २०५५ मा सम्पन्न जिल्ला विकास समिति प्युठानको निर्वाचनमा रोशन ध्वज मल्ल बागलुङबाट प्यूठान जानू भै स्वयमसेवकहरुको नेतृत्व गर्नु भएको थियो ।
घटनाको प्रारम्भः
२०५८ पौष ११ गतेबाट नेपालमा संकटकाल लागू भएको थियो । नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाको प्रधानमन्त्रीत्वमा देशको शासन ब्यबस्था चलिरहेको थियो । त्यति बेला बागलुङको देबिस्थान गा.बि.स.मा नेपाली कांग्रेसका तर्फबाट बिजेता गा. बि.स.अध्यक्ष हर्क बहादुर गुरुङ र उपाध्यक्ष डिलबहादुर कार्की थिए । सङ्कटकालमा गा. बि. स. अध्यक्ष गुरुङ काठमाडौ तिर बस्थे । उपाध्यक्ष डिलबहादुर कार्कीले भिमगिठे सैनिक क्याम्पबाट पठाएको पत्र लिएर आएका थिए । सोधपुछको लागि पत्र पठाएको छ । उनले हामी पनि जाने हो सङ्गै जाउ भनेका थिए । राष्ट्रिय जनमोर्चाका १० जनालाई सोधपुछको लागि बोलाइएको थियो । २०५८ चैत्र २८ गते १० जना जम्मा भएर जाने कि नजाने भनेर उहाँहरुले सल्लाह गर्नु भएको थियो । त्यो भेटघाटमा मानबहादुर पुनले बेला खराब छ अहिले नजाउ कि ! पार्टीमा अरु साथीहरु सित सल्लाह गरेर जाने नजाने निधो गर्ने कि भनेर कुरा राख्नु भएको थियो । रोशन ध्वज मल्लले हामी निर्दोश छौँ, माओवादी पनि हैनौ किन डराउनु प¥यो र भन्नू भयो । त्यो टोलीमा मुख्य नेता रोशन ध्वज मल्ल हुनुहुन्थ्यो । नून, चामल पनि लिने सेनाको क्याम्पमा पनि जाने र फर्किने भनी सोही दिन फागुन २९ गते सबै जना भिमगिठे जानु भएको थियो ।
षडयन्त्रपूर्ण घटना ः
पत्र अनुसार निम्न दश जना ब्यक्तिहरु नेकपा (मसाल) बागलुङ जिल्लाको बुर्तिबाङ एरिया सदस्य रोशन ध्वज मल्ल, राष्ट्रिय जनमोर्चाका तर्फबाट देबिस्थान गा. बि. स. वडा न ६ का निर्बाचित वडा अध्यक्ष डोर बहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चाका सदस्य टीका छन्त्याल, अखिल नेपाल महिला संघ बागलुङ जिल्ला सदस्य रिमा छन्त्याल, अखिल नेपाल जनजाति सम्मेलनका मानबहादुर पुन, राजमोका तर्फबाट निर्वाचित देबिस्थानका वडा सदस्य मनबहादुर नेपाली, शिक्षक पदम छन्त्याल, शिक्षक टेक बहादुर छन्त्याल, अखिल नेपाल युबक संघकि न्याउली छन्त्याल, नेकपा मसाल एरिया सदस्य झमबहादुर कुवरलाई उपाध्यक्ष डिलबहादुर कार्कीले भिम गिठे सैनिक ब्यारेकमा लिएर गएका थिए । भिमगिठे सैनिक क्याम्पमा पुगेर सेनाका मेजरलाई भेट्दै डिलबहादुर कार्कीले उहाँहरुलाई लिएर आए सर भनेका थिए । मेजरले स्याबास तपाईको काम सकियो तपाईं जानुस यी आतंककारीलाई हामी ठीक पार्छौ भनेर डिलबहादुर कार्कीलाई पठाएर कुटपिट गर्न सुरु गरेका थिए । केही समय पहिले झिवा खोलाको चौकीमा माओवादीहरुले आक्रमण गरेका थिए । झिवा खोला चौकी आक्रमणमा रोशन ध्वज लगायतको संलग्नता थियो भन्ने झुठो बिबरण दिई उहाँहरुलाई सैनिक क्याम्पमा बोलाइएको थियो । स्वयम् माओवादीहरुबाट पनि रोशन ध्वज मल्ललाई धम्कीपूर्ण पत्र पठाएको अबस्थामा उहाँहरुको चौकी आक्रमणमा सङ्लग्न हुने कुरा नै थिएन । त्यो दिन उहाँ घरमै रहेको कुरा गाउँलेहरु साची थिए र छन । राजनीतिक पूर्बाग्रह राखेर झुठो आरोप लगाएर रोशन ध्वज मल्ल र साथीहरुलाई फसाइएको थियो । त्यतिबेला संकटकालको अबस्था थियो । बागलुङ पश्चिम भेगमा संचारको सुविधा थिएन । पार्टीको केन्द्र र जिल्लाबाट गाउँसम्म सही सूचना लिन दिन पनि सम्भब थिएन ।
उहाँहरुलाई खाल्डोमा राखेर आखामा पट्टि बाँधेर हात खुट्टा समेत बाँधेर भोकै प्यासै मानसिक र शारीरिक यातना दिइयो । राइफल पड्काएर लौ फलानो मरि सक्यो बाँच्ने मन भए माओवादी हुँ भनेर बयान दे भनेर तर्साइयो । तर उहाँहरुले जस्तो सुकै कठोर यातना दिए पनि गलत बयान दिनु भएन, हामी जनमोर्चा हौँ भन्न छाड्नु भएन ।
चैत्र २ गतेका दिन सेनाले बाहिर निकाल्यो । त्यहाँ १० जना मध्ये ७ जना मात्र हुनुहुन्थ्यो । खै तीन जना साथीहरु भन्दा उहाँहरु बागलुङ जानू भएको छ, आउनु हुन्छ तपाईहरु जानुस भनेर ७ जनालाई आफन्तको जिम्मा लगाएर पठाइयो । यथार्थता के थियो भने रोशन ध्वज मल्ल, डोरबहादुर छन्त्याल र टीका छन्त्याललाई चैत्र १ गते नै रातिमा हेलिकप्टरमा राखेर बागलुङको अर्गल पु¥याएर गोलि हानेर मारेर खाल्डो खनी पुरेर छाडिएको थियो । पछि स्थानीय जनताले खोज्दा उहाँहरुको शव भेटिएको थियो । रोशन ध्वज मल्ल सहित तीन जनालाई पाशबिक तरिकाले मारिएको थियो ।
नेपालमा गणतन्त्र घोषणा भएको १७ वर्ष पूरा भएर १८ वर्ष पनि पूरा हुने बेला हुन थाल्यो । नयाँ संविधान घोषणा भएको छ वर्ष पूरा भैसक्यो तर अहिलेसम्म रोशन ध्वज मल्ल, डोरबहादुर छन्त्याल र टीका छन्त्याल लगायतका शहिदहरुलाई राज्यले सहिद घोषणा गरेको छैन । सामान्य क्षतिपूर्ति बाहेक शहिद परिवारलाई अन्य सुबिधा वा ब्यबस्था राज्यबाट हुन सकेको छैन । धन्यवाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित