टङ्कराज ढकाल (तितेपाति)
छन्द- हारिणी समस्या
गण म भ न म य ल गु यति ४ १०मा
टाढा टाढा पर मुलुकमा के वाध्यतामा जुटे
टाँठा बाठा शकुनि घरका यी चोर घाती जुटे
यो धर्तीमा सकस अति भो लाचार दस्ता जुटे
भ्रष्टाचारी खल दल मिले शङ्का अनेकौं उठे ।१
चोरी खाने छलफल जहाँ उल्का सयौं छन् जुठे
नाफाखोरी दमन छ युवा के थेग्न सक्लान् जुटे
तानाशाही चलन ननिको यी तस्करी झन् कुटे
घुर्मैलो यो गगनतलमा धन्दा अनौठा जुटे।२
कस्ले ल्यायो सुन सय किलो भन्दै तमाशा छुटे
को होला त्यो मनुज भरिया लेघ्रो पसार्ने छुटे
सत्ताधारी दल सब मिले चोरी चकारी रिठे
स्वार्थी डाँको मन खलबली जुम्रा र किर्ना जुटे।३
कालापानी अपचलनमा बेच्दा करोडौं लुटे
सोझा निर्धा जन कहरमा पार्दै फटाहा जुटे
सारा मान्छे हलचल बने जो बन्धकीमा छुटे
माथापच्ची कलह लुटको शङ्का सयौं ती उठे।४
छैनन् कोही सबल बलिया लाखौं युवा जो छुटे
बृध्दा बाला चरिचरनमा पुग्छन् कता को छुटे
सुन्दा किस्सा हृदय अमिलो पार्दैछ दाह्रा किटे
व्याधा साक्षात् गलित भरिया काला बजारी जुटे।५
ब्यापारी छन् सदन तिर जो ब्वाँसा हरामी छुटे
कालो फन्दा पुलकित भयो लाठा छुरामा जुटे
फर्किन्नन् यी मधुर लयमा नाङ्गो सुरामा मुठे
आफ्नै आमा चरचर चिरा पार्ने मलामी जुठे।६