आमा एक विलक्षण प्रतिभा !

निलिमा पुन ••

बिग्रिन्छन् अंग प्रत्यङ्गहरु सबै
भाँचिन्छन् मुद्राहरु पनि
निहुरिन्छ मेरुदण्ड अनि
घोप्टिन्छ गर्धन पनि
धमिलिन्छन् नजर मोतिविन्दुले
सुन्दिनिन् आवाज आफ्नै सन्तानको
बुझ्छिन् इशारामा मुहारको क्षति
कमी हुदैन ममता एक रति
आफू सकिएर अरुलाई सपार्ने
आमा एक अथक साधक हुन्

भुइमा ठोक्दाठोक्दै छिप्पिएका
पैतालाहरुले
भाँचिन्छन् बाटाका तिखा काँडाहरु पनि
ठेला परेका गोली आँख्लाले
थाम्छन् शरीरका सबै भार
घण्टौ जाँतोमा फन्को मार्दै
मर्काउछिन् कम्मर बारम्बार
मौसमले रोकिन्न आमाको नृत्य
देखाउछिन् चौगुनमा तोडा र ततकार
धड्कनले दिन्छ सुर र ताल
बोलसँगै चाल्छिन् खुट्टाका चाल
आमा एक कुशल नृत्याङ्गाना हुन्

सबै रसले भरिपुर्ण छ जीवन
प्ररस्तुति जीवन्त छ
कलामा निखार छ
प्रदर्शनमा छैन कुनै भय
आफ्नै गतिमा भर्छिन् छन्द र लय
कहिले नथाक्ने,कहिले नसकिने
परिवेश अनुकुल रुप धारणा गर्ने
श्रृङ्गार,हाँस्य,करुण,वीर,
रौद्र,भयानक,बीभत्स,अदभुत
अनि शान्त,पुर्ण छन् यी सबै रुप
आमा एक अब्बल अभिनेत्री हुन्

मायाको अथाह भण्डारण छ,
प्रलय सहने चौडा छाती छ
दृढ विश्वासको अग्लो चुचुरो छ
इमानको गह्रौं पहाड छ
दयाको विशाल आकाश छ
सबैलाई जोडेर एक बनाउने
आमाको अदभूत कला छ
नृत्य,नाट्य र अभिनयमा पोख्त
आमा एक विलक्षण प्रतिभा हुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित