काठमाडौं । निर्वाचन आयोगले महानगरपालिको मतगणना भैरहेको ढिलाइप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मतगणनामा निकै ढिलाइ भइरहेको प्रति आयोगको जानकारीमा रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताएका छन् ।
‘काठमाडौं महानगरको मतगणनामा ढिलाई भएकै हो । यस विषयमा हामी छलफल गरिरहेका छौं । थप स्थानमा पनि मत गणना गर्नेगरी काम गर्छौं,’ प्रवक्ता पौडेलको भनाइरहेको छ ।
धेरै ठाउँबाट एकै पटक मतगणना गर्दा आयोगसँग उपलब्ध स्रोत साधनले कतिको सम्भव छ भन्ने विषयमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भइरहेको जानकारी पौडेलले दिए ।
काठमाडौं महानगरपालिकामा एक मत गन्न २० मिनेटभन्दा बढी समय लागिरहेको छ । यस हिसाबले मत गन्न महिनौं लाग्ने देखिन्छ ।
काठमाडौंमा ३१ वैशाख बिहान १० बजेदेखि मत गणना गर्न थालिएको हो । मतगणनामा ढिलाइ भएपछि आयोगले विकल्पको खोजी गर्न थालेको हो । स्मरणरहोस् यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनको काठमाडौं महानगरको मतगणना १३ दिनमा सकिएको थियो ।