धादिङ अस्पतालमा आजदेखि शय्या शुल्क नलाग्ने

मलेखु, १ भदौ । धादिङ अस्पतालले आज (भदौ १ गते) देखि बिरामीलाई नि꞉शुल्क शय्या उपलब्ध गराउन थालेको छ । आइसियु, एनआइसियु र क्याबिनबाहेक जनरल वार्डमा रहेका शय्या बिरामीलाई नि꞉शुल्क उपलब्ध गराएको हो ।

प्रादेशिक अस्पतालको शय्या शुल्क नि꞉शुल्क गराउने बागमती प्रदेश सरकारको निर्णयानुसार शय्या नि꞉शुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए । दैनिक एक सय रूपैयाँ शुल्क लिँदै आएकोमा अबदेखि नि꞉शुल्क गराइएको उनले जानकारी दिए ।

पचास शय्या स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० शय्या सञ्चालन गरिरहेको छ । सूचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा शय्या नि꞉शुल्क गरिएको छ । दुई चार दिन अघिदेखि भर्ना भएका बिरामीलाई शुल्क लिइए पनि शुक्रबारदेखि भर्ना भएका बिरामीलाई शय्या नि꞉शुल्क गरिएको रिजालको भनाइ छ ।

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा आठ सय ११ शैय्या नि꞉शुल्क उपलब्ध गराइने प्रदेश मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पुन꞉स्थापना र फिजियोथेरापी सेवा नि꞉शुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित