काठमाडौं । पाँच दलीय गठबन्धनको देउवा सरकारले फेरि अर्को जनघाती कार्य गरेको छ । देउवा सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृद्धि गरेको छ । देउवा सरकारले पेट्रोलियम पदार्थमा पछिल्लो मूल्यबृद्धि गरे सँगै अब पेट्रोल १८०, डिजेल र मट्टितेलको मूल्य १६३ प्रति लिटर पुगेको छ भने ग्याँस प्रति सिलिण्डर १८ सय पुगेको छ । पेट्रोलियम पदार्थमा उच्च मूल्यबृद्धि गरिएसँगै दैनिक उपभोग्य बस्तुहरुको बजारमूल्य पनि आकासिएको छ । महंगी, देउवा सरकारले नेपाली जनतालाई दिएको नयाँ उपहार बन्न पुगेको छ । स्थानीय निर्वाचन–२०७९ को सम्पूर्ण नतिजा अझै आइसकेको छैन । जनताको ध्यान चुनावी नतिजा तर्फ केन्द्रित भइरहेका बेला देउवा सरकारले पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृद्धि गरेको हो । पाँच दलीय गठबन्धनको देउवा सरकारको पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृद्धि गर्ने जनघाती निर्णयको चौतर्फी रुपमा विरोध भैरहेको छ ।
राजमो समन्वयद्वारा निन्दा
पाँच दलीय गठबन्धनेको देउवा सरकारद्वारा पेट्रोलियम पदार्थमा पटकपटक गरिएको मूल्यबृद्धिको राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिले घोर निन्दा एवं भत्र्सना गरेको छ । राजमो समन्वयले चर्को मूल्यबृद्धिका विरुद्ध देशव्यापी संघर्षमा उत्रन आम जनतालाई अपिल समेत गरेको छ । राजमो केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेलद्वारा २०७९ जेठ ९ गते जारी प्रेस वक्तव्यमा उक्त अपिल गरिएको हो । अध्यक्ष पौडेलद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “नेपालको वर्तमान गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिबारे हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचन हुनु भन्दा पहिले र निर्वाचन पछि पटकपटक गरेको मूल्यबृद्धिले सरकारको जनविरोधी चरित्र अरु उदांगो भएको छ । यसले यातायात, कृषि, उद्योग, ढुवानी लगायतका क्षेत्रमा प्रत्यक्ष असर पारेको छ ।
करिब १ वर्षको अवधिमा पटकपटक गरेर दैनिक उपभोग्य बस्तुमा नेपाली जनताले थेग्नै नसक्ने गरी मूल्यबृद्धि भएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले हरेक क्षेत्रमा मूल्यबृद्धि हुन्छ । लामो समयदेखि नेपाल खाद्यन्न लगायत दैनिक उपभोग्य वस्तुमा परनिर्भर बन्दै गइरहेको छ । यस स्थितिमा महंगीको मारमा पिल्सिएका किसान, मजदुर लगायत सर्वसाधारण जनतालाई जीवन जिउनै नसक्ने स्थिति सिर्जना हुँदै गइरहेको छ । सरकारको यसप्रकारको जनविरोधी क्रियाकलापको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ र सरकारलाई मूल्यबृद्धिको निर्णय फिर्ता लिन जोडदार माग गर्दछ । हामीले मूल्य बृद्धि फिर्ता गराउन देशव्यापी रुपमा संघर्षमा उत्रन आम जनतासँग अपील गर्दछौं ।”
विद्यार्थी संगठनहरु आन्दोलनमा
पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृद्धि गरिएपछि त्यसको विरोध गर्दै १३ विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन । चर्को मूल्यबृद्धिका विरुद्धमा पाँच दलीय गठबन्धनमा आबद्ध राजनैतिक पार्टी तथा प्रमुख प्रतिपक्षी दल आबद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । २०७९ जेठ ९ गते संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले मूल्यबृद्धिका विरुद्ध संयुक्त आन्दोलनको घोषणा गरेका थिए । घोषित संघर्षका कार्यक्रम अनुसार उनीहरुले १० जेठमा अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । जारी विज्ञप्तीमा जनाइए अनुसार १३ विद्यार्थी संगठनहरुले मूल्यबृद्धिका विरुद्धमा जेठ ११ गते नेपाल आयल नियमको केन्द्रीय कार्यालय टेकु–काठमाडौंमा घेराउ गर्ने छन् । सोही दिन विद्यार्थीहरुले देशभरका क्याम्पसहरुमा कालो व्यानर राख्ने छन् । जेठ १२ गते साँझ ६ बजे काठमाडौंमा टर्चलाईट जुलुश प्रर्दशन गर्ने विद्यार्थी संगठनहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तीमा नेविसंघका अध्यक्ष डोजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष सुनिता बराल, अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (छैठौ)का अध्यक्ष देवेन्द्र कुँवर, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कमल बम, राष्ट्रिय विद्यार्थी संघका नेता रन्जित निष्पक्ष, राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछाने र अखिल नेपाल विद्यार्थी युनियनका संयोजक मनिष भट्टराईको हस्ताक्षर रहेको छ ।
संयुक्त विरोध ः
पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्यबृद्धिका विरुद्ध संयुक्त विरोध कार्यक्रम जेष्ठ १० गते रुपन्देहीमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) समन्वय समिति, नेकपा(क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालर नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले संयुक्त कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा राष्ट्रिय जनमोर्चा समन्वय समितिका हिमलाल वाग्ले, क्रान्तिकारी माओवादीका प्रेम सुवेदी, नेकपा (बहुमत)का सन्देश शर्मा, वैज्ञानिक समाजवादीका लक्षीराम वि.क.लगायतले विरोध सभामा मन्तव्य राखेका थिए ।
भक्तपुरमा पनि विरोध प्रदर्शन
सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा जेठ ९ गते भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा गरेका हुन् । जुलुस भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको थियो । कमलविनायकबाट जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुस कमविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो । त्यहाँबाट पुनः गहिटी, रामन्दिर हुँदै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका थिए ।
आवश्यकता देशव्यापी आन्दोलनकोः
पाँच दलीय गठबन्धनको देउवा सरकारले जनताको ढाडनै सेक्ने गरी पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यबृृद्धि गरेपछि त्यसको चौतर्फी रुपमा विरोध त भएको छ तर देशव्यापी रुपमा जुन प्रकारले आन्दोलन उठ्नु पर्ने हो त्यो अझै उठ्न सकिरहेको छैन । त्यो आन्दोलन उठाउनु पर्ने आवश्यकता नितान्त जरुरी देखिएको छ ।
देउवा सरकारले एकपछि अर्को गर्दै राष्ट्रघाती तथा जनघाती निर्णयहरु गर्दै आइरहेको छ । पेट्रोलियम पदार्थमा देउवा सरकारले पटकपटक मूल्यबृद्धि गर्दै अहिले मूल्यबृद्धि इतिहासमै उच्च विन्दुमा पु¥याएको छ । यस अघि पाँच दलीय गठबन्धनको देउवा सरकारले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट अनुमोदन गराएको थियो । यसरी देउवा सरकारको गठन नै राष्ट्रघाती र जनघाती कार्यहरु गर्नका लागि प्रष्ट हुँदै गैरहेको छ । विडम्बना ! त्यही राष्ट्रघात र जनघातको नेतृत्व गरिरहेको नेपाली कांग्रेस नै भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली बन्न पुगेको छ । नेकालाई ठूलो र शक्तिशाली दलको रुपमा स्थापित बनाउन आफूलाई वामपन्थी कम्युिनस्ट र क्रान्तिकारी पार्टी बताउनेहरुको नै मुख्य हात रहनु झनै विडम्बनापूर्ण स्थिति हो । पाँच दलीय गठन्धनको देउवा सरकार राष्ट्रघात र जनघातको मार्गमा यसैगरी अघि बढिरहेमा यो देशको राष्ट्रिय स्वाधिनता र अस्तित्व नै संकटको भुमरीमा फस्ने निश्चित छ । त्यसैले देउवा सरकारको जनघाती र राष्ट्रघाती कार्यहरुको सशक्त विरोध गर्नु प्रत्येक स्वाभिमानी नेपालीहरुको अहिले कर्तव्य हुन आएको छ । जनताले सडकबाट सशक्त रुपमा खबरदारी गरियो भने राष्ट्रघात र जनघातको मार्ग तर्फ लम्किरहेका पाँच दलीय गठबन्धनको देउवा सरकारका पाइलाहरु रोकिन सक्नेछन् । यो तथ्यलाई सबैले आत्मसाथ गरौं र पेट्रोलियम पदार्थमा देउवा सरकारले गरेको चर्को मूल्यबृद्धिका विरुद्धमा देशव्यापी आन्दोलनको उठान गरौं !