काठमाडौं । जाजरकोट जिल्ला, भेरी–४, रानागाउँका २० वर्षीय नवराज वि.क.ले आफ्नी प्रेमिकालाई विवाह गर्न भनी रुकुम चौरजहारी–८, पुगेका बेला नवराज सहित ६ जनाको गाउँलेहरुद्वारा हत्या गरिएको थियो । २०७७ जेष्ठ १० गते त्यो घटना भएको थियो । नवराज वि.क. सहित उनका साथीहरु टिकाराम सुनार, गणेश बुढामगर, सन्दिप वि.क., लोकेन्द्र सुनार र गोविन्द शाहीलाई गाउँलेहरुले लखेटी लखेटी मारेर भेरी नदीमा फ्याँकेका थिए । वि.क.सँगै गएका उनका अन्य साथीहरुमाथि सांघातिक आक्रमण भए पनि भागेर बाँच्न सफल भएका थिए ।
उक्त जघन्य अपराध भएको यही १० गते २ वर्ष पूरा हुँदैछ । यस सन्दर्भमा कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत नागरिक आन्दोलनले संयुक्त रुपमा भेरी प्रतिरोध मार्च गरेका छन् । त्यस अवसरमा विरोध सभाका साथै विभिन्न साहित्यिक प्रस्तुतिहरु पनि गरेका थिए ।
त्यसका साथै काठमाडौंको माइतीघर मण्डला लगायत देशका विभिन्न ठाउँहरुमा प्लेकार्ड र जुलुश सहित उक्त विरोध कार्यक्रम सम्पन्न भएका छन् । एक्काइसौं शताब्दीमा पनि अन्तर्जातीय प्रेमकै कारण हत्या हुनु पर्ने अत्यन्त पाशविक घटना हो । अदालतले अझै यस घटनाका दोषीहरुमाथि अन्तिम फैसला सुनाएको छैन । यदि यस घटनाका अपराधीहरुलाई कार्वाही गरिएन भने अपराधीहरुको मनोबल बढ्ने छ । र पीडितहरुले न्याय पाउने छैनन् । अपराधीहरुमाथि कार्वाही हुनुपर्दछ र त्यसप्रकारका घटना दोहोरिन नदिन राज्य, राजनीतिक दल, नागरिक समाज सबैले ध्यान दिनुपर्दछ । सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गर्न लागिएको जनाइएको छ ।