काठमाडौँ, ६ भदौ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।
सिंहदरबार, माइतीघर, थापाथली, गोँगबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा अविरल वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित परेको वर्षाका कारण उपत्यकाभित्रका केही स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या परेको बताएका छन् । “ठूलो पानी परेपछि साघुँरा, खल्डाखुल्डी भएका सडकमा पानीको निकास नहुँदा समस्या भएको छ”, उनको भनाई थियो । “सडकका खाल्डोमा पानी जम्दा सवारी आवागमनमा समस्या भएको हो ।”
भट्टका अनुसार उपत्यकाभित्र दैनिक सवारी साधनको सङ्ख्या बढे पनि बाटो नबढ्दा लामो समयसम्म सावरी जाम हुने गरेको छ । “कार्यालय समयमा बढी जाम हुने गरेको हो”, उनले भने, “उपत्यकामा दिनानुदिन जनसङ्ख्या बस्ती बढेको छ । सडक विस्तार तथा पूर्वाधार निर्माणको अवस्था उस्तै छ ।”
हाल देशभर झन्डै ३५ लाख र बागमती प्रदेशमा मात्रै १८ लाखभन्दा बढी सवारी साधन रहेका यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यकाभित्र मात्रै १३ लाख सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।
नेपालमा विं २००४ देखि विधिवत् रुपमा सवारी साधन दर्ता प्रक्रिया सुरु भए पनि विसं २००७ देखि मात्र ट्राफिक व्यवस्थापनका लागि रामदलको स्थापना भएको थियो ।
कम बाटो र सीमित सवारीसाधनका कारण विसं २०१२ मा केन्द्रीय ट्राफिक कम्पनीका रूपमा एक सय २५ को सङ्ख्यामा ट्राफिक प्रहरीले काम गरेका महाशाखाका प्रवक्ता भट्टले जानकारी दिए । उनका अनुसार हाल एक हजार आठ सय ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकाभित्र दुई हजार किलोमिटर सडक भए पनि सवारी साधन ओहोरदोहोर गर्ने मुख्य सडक भने पाँच सय किलोमिटर मात्र रहेको उनले जानकारी दिए ।
वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या
Comments