सरकारको नीति तथा कार्यक्रम परनिर्भरताको निरन्तरता

काठमाडौं । जेष्ठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा कुनै नौलोपन छैन । नीति तथा कार्यक्रममा छलफल पछि आर्थिक वर्ष २०७९÷०८० को बजेट  संसदमा पेश हुनेछ । प्रस्तुत नीति तथा कार्यक्रमबाट आगामी बजेटले अर्थतन्त्रमा परनिर्भरता बढाउने निश्चित छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न हुनु र कोभिड नियन्त्रण हुँदै जानुलाई सरकारको नीति तथा कार्यक्रममा सरकारको ठूलो उपलब्धीको रुपमा लिइएको छ । विगतका नीति तथा कार्यक्रमहरुमा भने झैं आयात घटाउने र निर्यात बढाउने उद्देश्य राखिएको छ । तर सरकारको समग्र नीति कार्यक्रम हेर्दा आयात घटाउने निर्यात बढाउने भन्दा पनि झन झन नेपाललाई आयात बढाउने र निर्यात घटाउनेतिर नीति तथा कार्यक्रम उन्मुख भएको देखिन्छ ।

नीति तथा कार्यक्रमले कृषि, उद्योग, पर्यटन आदिलाई विशेष ध्यान दिंदै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने भनिएको छ । सरकारले नै युवाशक्तिलाई विदेश पठाउने कार्यलाई प्राथमकिता राखेपछि अर्थतन्त्रमा विकास हुन्छ भन्ने कुरा जनता प्रति ढाँट छलको खेती शिवाय केही हैन ।

नीति तथा कार्यक्रममा एमसीसी सम्झौतालाई कार्यान्वयनमा लैजाने भनिएको छ । यो नीति तथा कार्यक्रमले राष्ट्रघातलाई प्रोत्साहन गरेको छ । “गरिब घर परिवार परिचय पत्र” वितरण गर्ने भनिएको छ । त्यो परिचय पत्र वितरण केही जिल्लामा विगतमा भएका र विवादित भई अर्थहीन भएको सन्दर्भमा त्यसको विश्वसनीयता माथि थप प्रश्नचिन्ह उठाउने ठाउँ छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, “विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा पारित गरिनेछ ।” नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका कारण लामो समयदेखि नागरिकता विधेयक पारित हुन सकेको छैन । नागरिकतामा  राष्ट्रघात हुने खतरा नीति तथा कार्यक्रमले संकेत गरेको छ । नागरिकतामा राष्ट्रघातका विरुद्ध नेपाली जनता चनाखो हुनुपर्ने देखिन्छ । राष्ट्रिय परिचयपत्र वितरण, औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता, “पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित गराउने” पाँच वर्ष भित्रमा पूर्व पश्चिम राजमार्गलाई चार लेन बनाउने लगायतका विषयहरु नीति तथा कार्यक्रममा राखिएका छन् । यो नीति तथा कार्यक्रम जनपक्षीय भन्दा पनि सस्तो लोकप्रियताका लागि अगाडि सारिएको देखिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित