डुम्रे (तनहुँ), ७ भदौ । तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।
गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिए । “किरा नास गर्न काम थालिसकेका छौँ”, उनले भने । उनका अनुसार यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको छ ।
गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको थियो । समस्या समाधानका लागि विभिन्न उपाय कृषकलाई सिफारिस उपयोग गर्न आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताए । “गत वर्षको तुलनामा कम भएको छ, यस वर्ष पनि देखिएकाले समाधान समयमा गर्नेछौँ”, उनले भने ।
खेतबारीमा धेरै झार, घाँस रहन नदिई सरसफाइ गरेर किराबाट बचाउन सुझाव दिइएको गाउँपालिकाले जनाएको छ । खाद्यतत्व कमी भएका खेतबारीमा कृषि प्राविधिकले सिफारिस गरेका परिमाणमा रासायनिक मल प्रयोग गरेमा यस्ता समस्या छिट्टै समाधान हुने उनको भनाइ छ । विगतका समस्या यस वर्षमा नदोहोरियोस भनेर अनुगमन र समाधानका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको शाखाले जनाएको छ ।
गत वर्ष देखिएको मिली बग देखिएकाले आफ्नो बालीको स्थितिको जानकारीका लागि समय समयमा अनुगमन र निरीक्षण गरी समाधानतर्फ लाग्न सुझाव दिइएको कृषि शाखा प्रमुख घिमिरेले बताए । उनका अनुसार मिलि बग रोग लागेका खेतीमा कम्तीमा हप्ताको एक पटक अनुगमन तथा निरीक्षण गर्नुपर्छ । किसानलाई धानबालीमा खाद्यतत्वको कमी हुन नदिनका लागि एनपिकेको फोलिएर स्प्रे ९पानी मिसाएर छर्किने० गर्नुपर्ने सुझाव दिइएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भने, “पानी नपर्दा देखिने किरा हो, पानी परिरहेकाले अब विस्तारै हराउँछ । ” केही दिन सुक्खा भएको अवस्थामा यो किरा देखिएकाले त्यस क्षेत्रका किसानलाई पोटास लगेर धानबालीमा छर्कन सुझाव दिइएको उनले बताए ।
म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा सुक्खापन देखिनासाथ किराको सङ्क्रमण देखिने भएकाले खेतमा पर्याप्त मात्रामा पानी र मल राख्नुपर्ने प्रमुख तिवारीले बताए । वर्षाले यस्तो समस्या आफैँ समाधान हुँदै जाने उनले जानकारी दिए । तनहुँमा आठ हजार तीन सय २० हेक्टर क्षेत्रफल जमिनमा धानखेती भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा कार्यालयले धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेकोे थियो । चालु आवमा धानखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको तुलनामा रकम बढाएर रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।