शहिद शोभाखरको सपना साकार पार्न हाम्रो पार्टी लागिरहने छ

काठमाडौं, ११ भाद्र । शहिद शोभाखरको सपना साकार पार्न आफ्नो पार्टी नेकपा (मशाल) लागिरहने नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले बताएका छन् । शहिद शोभाखरको ३७ औं स्मृति दिवसको सन्दर्भमा भाद्र ११ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुरा बताइएको हो । वक्तव्यमा शहिद शोभाखर धनञ्जय (सरोज शर्मा) पार्टीका एउटा होनाहार, जुझारु तथा संघर्षशील कार्यकर्ता रहेको बताउँदै २०४३ साल भदौ ११ गते दिल्लीको बेलारोडमा तीज मेलाबाट फर्किंदा उहाँको पंचायती गुण्डाहरुद्वारा रहस्यमय हत्या भएको, उनको शहादतबाट पार्टीलाई ठूलो क्षति हुन पुगेको उल्लेख गरिएको छ । २००१ सालमा अर्घाखाँचीको सन्धिखर्क, कुरमा जन्मि भएका शोभाखर शुरुमा नेपाली कांग्रेसमा रहेका र पछि नेपाली कांग्रेसको राजनीति व्यवहार दलाल भूमिकाको रहेकोले उसप्रति असन्तोष हुँदै रामराजा प्रसाद सिंहको जनवादी मोर्चा हुँदै ०४१ सालमा नेकपा (मसाल) मा प्रवेश गरेका थिए ।

क्रान्तिकारी व्यक्तित्वको रगत पसिनाबाट देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि दलाल पुँजीवादी सरकारले शहिदको रुपमा उहाँलार्ई सम्मान गर्न नसकेको मोहनविक्रम नेतृत्वको मसालले शहिदको सूचिमा नामाकरणका लागि सिफारिस गर्न पनि नचाहेको र शहिदको अपमान गरेको वक्तव्यमा उल्लेख छ । उहाँ मशालको मात्र शहीद नभएर पंचायत विरोधी सबै शक्तिहरुको समेत शहिद रहेको जनाउँदै पार्टीले उहाँले देखाएको बाटोमा सधै अगाडि बढिरहने बताइएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“क. शोभाखर धनञ्जय (सरोज शर्मा) हाम्रो पार्टीका एउटा होनहार, जुझारु तथा संघर्षशील कार्यकर्ता हुनुहुन्थ्यो । २०४३ साल भदौ ११ गते दिल्लीको बेलारोडमा तीज मेलाबाट फकिंदा उहाँको पंचायती गुण्डाहरुद्वारा रहस्यमय ढंगले हत्या भयो । हाम्रो पार्टीलाई उहाँको शहादतबाट ठूलो क्षति हुन पुग्यो । वीर शहीद क. शोभाखर धनञ्जय प्रति पार्टीको तर्फबाट हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

२००१ सालमा अर्घाखाँचीको सन्धिखर्क, कुरमा जन्मिनु भएका क. शोभाखर धनञ्जय शालिन, भद्र, मिलनसार र नम्र स्वभावको उच्च सर्वहाराकृत व्यक्तित्व हुनु हुन्थ्यो । प्रारम्भमा नेपाली कांग्रेसको एउटा क्रान्तिकारी कार्यकर्ताको रुपमा राजनीति शुरु गर्नु भएका का. शोभाखर २०४० पछि कांग्रेसको भारतपरस्त र दलाल भूमिका देखेपछि सो पार्टी परित्याग गरी राम राजा सिंहको जनवादी मोर्चा हुँदै ०४१ सालमा हाम्रो पार्टीमा प्रवेश गर्नु भएको थियो । पार्टीले उहाँलाई अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयको जिम्मा दिएको थियो । “नेपाली एकता” मासिक पत्रिका बिक्री गर्न बेलारोड तीज मेलामा गएर फर्किने क्रममा उहाँको रहस्यमय ढंगले हत्या गरियो । चारैतिर उहाँको खोजि भयो । त्यसैक्रममा ४ दिनपछि उहाँको शवको फोटो नवभारत टाइम्समा प्रकाशित भएपछि हत्या भएको थाहा हुन आयो ।
भाद्र ११ गते उहाँले शहादत प्राप्त गरेको दिन हो । उहाँ जस्ता क्रान्तिकारी व्यक्तित्वको रगत पसिनाबाट देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । तर यो दलाल पुँजीवादी सरकारले शहीदको रुपमा सम्मान गरेको छैन । मोहनविक्रम नेतृत्वको मसालले शहिदको सूचिमा नामाकरणका लागि सिफारिससम्म पनि गर्न चाहेन । मसालले शहिदको अपमान गरेको छ ।

हाँक साप्ताहिकका संस्थापक÷सम्पादक समेत रहनु भएका क. शोभाखर धनञ्जयले जीवनको अति छोटो अवधिमा पनि शोषित पीडित जनतालाई पंचायती व्यवस्थाका विरुद्ध जगाउन गरेको अथक मेहनत अतुलनीय रहेको छ । उहाँ मशालको मात्र शहीद होइन, पंचायत विरोधी सबै शक्तिहरुको समेत शहिद हुनुहुन्छ । हाम्रो पार्टी उहाँले देखाएको बाटोमा सधै अगाडि बढिरहने छ । देशमा नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उहाँको सपना साकार पार्न सदवै लागि रहने छ । अन्तमा, पुनः उहाँप्रति श्रद्धासुमन व्यक्त गर्दछौं ।”

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित