सन्तबहादुर नेपालीको संयोजकत्वमा ६६ सदस्यीय आयोजक समिति गठन
काठमाडौं । नेकपा (मसाल) को विशेष महाधिवेशन हुने भएको छ । विशेष महाधिवेशन सम्पन्न गर्नका लागि सन्तहादुर नेपालीको संयोजकत्वमा ६६ सदस्यीय आयोजक समिति गठन गरिएको छ । विशेष महाधिवेशन आगामी केही महिनाभित्रै सम्पन्न गर्ने गरी व्यवस्थापन समिति समेत गठन गरिएको छ । तर विशेष महाधिवेशनको ठोस मिति भने खुलाइएको छैन ।
नेकपा (मसाल) भित्र विगत केही वर्षदेखि दक्षिणपन्थी संशोधनवादी विचार समूह र क्रान्तिकारी विचार समूहबीच तीब्र अन्तरसंघर्ष चलिरहेको छ । त्यही अन्तरसंघर्षको सिलसिलामा मसाल भित्रको क्रान्तिकारी विचार समूहले नेकपा (मसाल) केन्दीय समन्वय समिति गठन गरेर आफ्ना कार्यक्रमहरु अगाडि बढाइरहेको छ । दक्षिणपन्थी संशोधनवादी मार्ग समातेको पार्टी नेतृत्वलाई आफ्ना गलत नीतिहरुलाई सच्चाउन पटकपटक दबाब दिंदा पनि सुनुवाई नभएपछि मसालभित्रको क्रान्तिकारी विचार पक्षले विशेष महाधिवेशन गरेर अघि बढ्ने निर्णय लिएको हो । नेकपा (मसाल) केन्द्रीय समन्वय समितिको नामबाट परिचित मसाल भित्रको उक्त क्रान्तिकारी विचार समूहको हालै सम्पन्न केन्द्रीय समितिको विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । मसालको बहुमत पक्षले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि आठौं महाधिवेशनका दक्षिणपन्थी नीतिहरुलाई सच्चाएर पार्टीलाई क्रान्तिकारी दिशा दिने जिम्मा आफ्नो काँधमा आएकोले विशेष महाधिवेशनको तयारी अगाडि बढाउने निर्णय सो बैठकले गरेको बैठक पश्चात् जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा अहिलेसम्म मसालको बहुमत पक्षको दक्षिणपन्थी कांग्रेसपरस्त नीतिबारे स्पष्ट हुन नसकेका इमान्दार तथा क्रान्तिकारी कार्यक्रमहरुलाई समन्वय समितिमा आउन बैठकले अपिल गर्ने निर्णय गरेको समेत उल्लेख गरिएको छ ।
नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीद्वारा २०७९ जेठ २१ गते जारी उक्त विज्ञप्तीमा, स्थानीय निर्वाचनको समिक्षा, संयुक्त क्रान्तिकारी मोर्चाको गठन, पाँच दलीय गठबन्धनको देउवा सरकारले प्रस्तुत गरेको आ.व. २०७९÷८० को बजेट लगायतका विषयहरुमा बैठकले लिएका निर्णयहरुबारे समेत प्रकाश पारिएको छ । संयोजक नेपालीद्वारा जारी उक्त विज्ञप्तीमा अगाडि भनिएको छ–“नेकपा (मसाल) केन्द्रीय समन्वय समितिको बैठक संयोजक क.सन्तबहादुर नेपालीको अध्यक्षतामा हालै देशको कुनै भागमा सम्पन्न भएको छ । बैठकले विशेष महाधिवेशन, निर्वाचनको समीक्षा तथा कतिपय संगठनात्मक तथा समसामयिक प्रश्नहरुमा गम्भीर छलफल गरेर निर्णयहरु गरेको छ ।
बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गरेको छ । अहिले पार्टी पुनर्निर्माणको चरणमा रहेको, विशेष महाधिवेशन प्रक्रृयामा रहेको, निर्वाचन आयोगमा पार्टी दर्ता नभएको तथा पार्टी पूर्ण रुपले संगठित हुन नसकेको अवस्था भएपनि निर्वाचनलाई उपयोग गर्नु आवश्यक थियो । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका तर्फबाट सम्भव भएका पालिकाहरुमा स्वतन्त्र उम्मेदवारहरु खडा गर्ने नीति अनुसार ६० भन्दा बढी उम्मेदवारी दिन पार्टी सफल भएको छ । उम्मेदवारी दिएका कतिपय पालिकाहरुमा समन्वय समितिका उम्मेदवारहरु निर्वाचत हुनुभएको छ । वैठकले उहाँहरु सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट गरेको छ । कैयौं स्थानहरुमा सन्तोषजनक मत प्राप्त भएका छन् । तर पनि उम्मेदवारहरु तथा स्थानीय समितिहरुको उत्साहजनक प्रचार कार्यले गर्दा निर्वाचनमा हाम्रो पार्टी जनता बीच परिचित भएको छ । यो सफलता स्थानीय निर्वाचनमा भएको उपलब्धी हो ।
बैठकमा विशेष महाधिवेशनको आयोजना गर्ने विषयमा छलफल भयो । मसालको बहुमत पक्षले विशेष महाधिवेशन गर्न अस्वीकार गरेपछि आठौं महाधिवेशनका दक्षिणपन्थी नीतिलाई सच्चाएर पार्टीलाई क्रान्तिकारी दिशा दिने जिम्मा हाम्रो काँधमा आएको छ । गत वैठकले महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो । त्यसको लागि दस्तावेजहरु तयार गर्ने, पार्टीभित्र छलफल चलाउने, जिल्ला भेला वा सम्मेलन गर्ने, महाधिवेशन सम्बन्धी अन्य व्यवस्थापन गर्ने आदि विषयमा यो बैठकले कतिपय निर्णय गरेको छ । अहिलेसम्म मसालको बहुमत पक्षको दक्षिणपन्थी कांग्रेस परस्त नीतिबारे स्पष्ट हुन नसकेका तमाम इमान्दार तथा क्रान्तिकारी कार्यकर्ताहरुलाई समन्वय समितिमा आउनका लागि अपील गर्ने निर्णय भएको छ ।
बैठकले समन्वय समितिलाई विशेष महाधिवेशन आयोजक समितिमा परिणत गर्दै क.सन्तबहादुर नेपालीको संयोजकत्वकमा ६६ सदस्यीय आयोजक समिति गठन गरिएको छ । त्यसका साथै आगामी केही महिनाभित्रै विशेष महाधिवेशन सम्पन्न गर्नलागि व्यवस्थापन समिति समेत गठन गरिएको छ । बैठकले माक्र्सवाद, लेनिनवाद, माओविचार धारालाई पथप्रदर्शक सिद्धान्त मान्ने, नयाँ जनवादी क्रान्ति र सर्वहारा साँस्क्रृतिक क्रान्तिलाई स्वीकार गर्ने तथा समाजवाद र साम्यवादको लक्ष्य लिने लगायतका विषयमा समान धारणा राख्ने विभिन्न कम्युनिस्ट घटक, समुह वा व्यक्ति व्यक्तित्वहरुसित सहकार्य गर्दै कम्युनिस्ट पार्टीको एकीकरण, ध्रुविकरणको दिशामा जानका लागि पहल गर्ने विषयमा पनि छलफल गरेको छ । त्यस सन्दर्भमा संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको गठन गर्ने कार्यमा सकारात्मक पहल भएको छ ।
बैठकले अहिलेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनाले आगामी संसदीय निर्वाचनमा पनि पहिलो पार्टी हुने संकेत गरेको छ । कांग्रेसको यो विजयले देशमा राष्ट्रियताको प्रश्न झन गम्भीर बन्न गएको छ । कांग्रेसलाई पहिलो पार्टी बनाउनमा बहुमतपक्ष मसाल लगायत कम्युनिस्ट भनिने पार्टीहरुको भूमिका रहेको छ । गठबन्धनमा रहेका कम्युनिस्ट घटकहरुको सहयोगमा कांग्रेसले एमसीसी पारित ग¥यो । असंलग्न परराष्ट्र नीतिको विपरीत अमेरिकाको सूरक्षा छाताभित्र राखेर देशलाई साम्राज्यवादीहरुको रणभूमि बनाउँदैछ । महंगी दिनदिनै बढेको छ । महंगीका विरुद्ध मिल्न सक्ने सबै पक्षहरुसित, जहाँ जे सम्भव छ, विरोध कार्यक्रम गर्ने बैठकले ठेगान गरेको छ । जेठ १५ गते सरकारद्वारा प्रस्तुत गरिएको झण्डै १८ खर्बको आर्थिक बजेट परम्परागत तथा वितरणमुखी प्रकारको रहेको निष्कर्ष बैठकले निकालेको छ । बजेटले देशमा उर्लंदो महंगी र भ्रष्टचारलाई नियन्त्रण गर्न, विकासका नयाँ योजना प्रस्तुत गर्न, आयातलाई प्रतिस्थापन गर्ने भने तापनि त्यसको योजना ल्याउन, बेरोजगारीको समस्या हल गर्न असफल देखिएको छ । सामाजिक सुरक्षा भत्ताको लागि उमेर हद ६८ वर्ष कायम गर्ने, सरकारी कर्मचारीहरुको तलब बृद्धि गर्ने, किसानलाई कृषि क्षेत्रमा कर्जा कार्यक्रम जस्ता मनमोहक कार्यक्रम ल्याए पनि महंगी घटाउने कार्यक्रम नभएपछि यी सबै आगामी निर्वाचनलाई केन्द्रित गरेर ल्याइएको प्रचारमुखी बजेट बाहेक केही होइन भन्ने पुष्टि भएकोछ । स्वास्थ्य र शिक्षामा न्यून रुपमा बजेट छुट्टाइएकाले त्यो क्षेत्रमा सुधारल्याउन सम्भावना देखिंदैन । झण्डै १८ खर्बको बजेटमा करिब ४ खर्ब आन्तरिक र बाह्य ऋणमा भर गरेको छ । निम्नस्तरका जनतालाई कुनै राहत नहुने प्रकारको भएकाले यो बजेट दलाल नोकरशाही पुँजीपति वर्गको हित प्रति लक्षित छ, त्यसकारण जनविरोधी छ । देशमा आर्थिक मन्दी चर्किरहेको बेला उत्पादनमा जोड दिने र आत्मनिर्भरतालाई बढाउने बजेट नभएको हुँदा कतै देश श्रीलंकाको अवस्थामा पुग्ने त होइन ? भन्ने आशंका पैदा गराएको छ । यो अवस्थामा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरु जनताको हकहित तथा अधिकार र राष्ट्रिय स्वाधीनताका लागि एकताबद्ध भई संघर्षका लागि बैठकले जोड दिएको छ ।”