काठमाडौं । पाँच दलीय गठबन्धनको देउवा सरकारका निर्णयहरु कति फितला र हचुवा प्रकृतिका हुन्छन् भन्ने दृष्टान्त दुई दिने विदा सम्बन्धी निर्णयले प्रष्ट पारेको छ । एक हप्तामा दुई दिन सार्वजनिक विदा दिने देउवा सरकारको निर्णय कार्यान्वयनमा गएको एक महिना नपुग्दै उल्टीन पुगेको छ ।
सातामा दुई दिन विदा दिने निर्णयबाट सरकार पछि हटेको छ । २०७९ जेठ २३ गते सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुइृ दिन विदा दिने पूर्व निर्णय खारेज गर्ने निर्णय गरेको हो । नयाँ नियम अनुसार अब असार १ गतेबाट लागु हुनेगरी आइतबारको विदा हटाइएको छ । सरकारको नयाँ निर्णय अनुसार अब १ असारदेखि पहिलेकै व्यवस्था लागु हुने छ । अर्थात् हप्तामा एक दिन शनिबार मात्र विदा हुने छ भने अन्य दिन विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कार्यालयहरु संचालन हुनेछन् ।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा दिंदै आएको थियो । सेवा प्रवाहमा समस्या देखिएपछि सरकारको उक्त निर्णयको व्यापक आलोचना भइरहेको थियो । संघीय सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय कार्यान्वयन गरे पनि स्थानीय तहहरुले भने अवज्ञा गर्दै आएका थिए । हप्तामा दुई दिन विदा दिने निर्णय खारेजको माग गर्दै २३ जेठमा सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
स्मरणरहोस् हप्तामा दुई दिन विदा दिने निर्णय तत्कालिन सरकारले २०५६ सालमा पनि गरेको थियो । जनस्तरबाट नै व्यापक विरोध भएपछि त्यतिबेला पनि सरकार उक्त निर्णयबाट पछि हट्न बाध्य भएको थियो ।