काठमाडौं । अब काठमाडौं महानगरपालिका भित्र बसोबास गर्ने जो कोहीले पनि कुहिने र नकुहिने फोहर छुट्टाउनै पर्ने भएको छ । त्यसरी नछुट्टाइएको फोहर काठमाडौं महानगरपालिकाले नउठाउने भएको छ ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले सामाजिक सन्जाल मार्फत् उक्त जानकारी दिएका हुन् । “नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ । तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौ ।” – मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकै ठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन ।”
अहिले सम्म फोहोर उठ्न नसक्दा नगरबासीले पाएको सास्ती प्रति मेयर शाहले क्षमायाचना गरेका छन । “अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुःखका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुःख दिंदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ ।” – मेयर शाहले लेखेका छन – “हामी फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्याँकेर वा थुपारेर हुँदैन ।” कुहिने र नकुहिने फोहरलाइ घर घर बाट नै छुटाइदीने हो भने त्यसलाइ ब्यवस्थापन गर्न सहज हुने मेयर शाहको तर्क छ । “अब तपाईँको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् ।” – शाहले लेखेका छन – “अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।”