एसपीपीमा हस्ताक्षरको खतराका विरुद्ध संघर्षमा उत्रिन अपिल

काठमाडौं । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिले अमेरिकाले अघि सारेको स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) प्रति गम्भीर आपत्ति जनाउँदै देउवा सरकारले उक्त सम्झौतामा हस्ताक्षर गर्ने खतराबाट देशलाई जोगाउन संघर्षमा उत्रन सम्पूर्ण देशभक्त नेपालीहरुमा हार्दिक अपिल गरेको छ ।

अमेरिकी साम्राज्यवादको सैनिक गठबन्धनमा नेपाललाई सामेल गराइए त्यो नेपालको संविधान, असंलग्न परराष्ट्र नीतिका विरुद्धमा हुने मसाल समन्वयले बताएको छ ।

नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीद्वारा २०७९ जेठ ३१ गते जारी प्रेस वक्तव्यमा उक्त कुरा जनाइएको छ । जारी वक्तव्यमा अगाडि भनिएको छ–“अहिले चर्चामा रहेको अमेरिकी सैनिक परियोजना एसपीपी (स्टेट पाटर्नरसीप  प्रोग्राम) को १० बुंदे प्रस्ताव सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । केही महिना पहिले नेपाली जनताको व्यापक विरोध हुँदाहुँदै एमसीसी परियोजना जवरजस्ती संसदबाट पारित गराइएको थियो । जुन अमेरिकी सैन्य रणनीतिको अंग थियो । अहिले त्यही रणनीतिलाई पूरा गर्ने योजना अनुसार पुनः एसपीपी सम्झौता गरी वैधानिक रुपमा नै अमेरिकी सेना नेपाल भित्र्याउने षडयन्त्र भैरहेको छ । एसपीपीको प्रस्तावित बुँदामा नेपालको उच्च भागमा तालिम संचालन गर्ने कुरा उल्लेख गरिएको छ । सो व्यवस्थाबाट प्रष्ट हुन्छ कि उक्त सम्झौता नेपालको उत्तरी भेगमा अमेरिकी सैन्य क्याम्प खडा गरी मित्रराष्ट्र चीनका विरुद्ध गतिविधि गर्ने अमेरिकी साम्राज्यवादको घातक योजना हो । उक्त प्रस्तावमा परियोजना पाँच वर्ष संचालन हुने भनिए पनि निरन्तर कायम रहने भन्ने व्यवस्था समेत गरिएको छ । यो गम्भीर प्रकारको राष्ट्रघात हो र नेपाललाई अमेरिकी साम्राज्यवादको सैनिक गठबन्धनमा सामेल गर्ने आत्मघाती कदमका साथै नेपालको संविधान र असंलग्न परराष्ट्र नीति विरुद्धको अपराध हो । हामी उक्त परियोजना प्रस्तावप्रति गम्भीर आपत्ति प्रकट गर्दछौं र देउवा सरकारको उक्त सम्झौतामा हस्ताक्षर गर्ने खतराबाट देशलाई जोगाउनका निम्ति संघर्षमा उत्रिन सम्पूर्ण देशभक्त नेपालीहरुमा हार्दिक अपिल गर्दछौं ।

देउवा सरकार बनेदेखि लगातार अमेरिकी सैनिक उच्च अधिकारीहरुको नेपाल भ्रमण, एमसीसी पारित गराउन दिएको धम्की र दवाव, कुटनीतिक मर्यादा विपरीतका कार्य हुन अहिलेको अमेरिकी उच्च सैनिक अधिकारीको भ्रमण तथा सैनिक साझेदारी परियोजनामा सम्झौता गर्ने चर्चाले नेपाललाई अमेरिकी क्याम्पमा लैजाने, र देशलाई सिरिया, इराक र अफगानिस्तानको हालतमा पु¥याउने षडयन्त्र भैरहेको प्रष्ट हुन्छ । गठबन्धन सरकारका नायक देउवा वास्तवमै अमेरिकी साम्राज्यवादको दलालका रुपमा परिचित भएका छन् । यस भन्दा केही अगाडि पनि शेरबहादुर देउवाले रुस र युक्रेनको युद्धमा युक्रेनलाई समर्थन गरी आफू अमेरिकी पक्षधर भएको सावित गरेका थिए ।  विद्यमान अवस्थामा देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्र नीतिको रक्षाका लागि संघर्षमा उत्रन् सम्पूर्ण देशभक्त जनतान्त्रिक शक्तिहरुमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित