देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ राजनैतिक दलको विशेष माग

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा एसपीपी लगायतका विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरुमा हस्ताक्षर हुने खतरा बढेको भन्दै जिम्मेवार ९ राजनैतिक दलहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न विशेष माग गरेका छन् ।

नेपालको संसदद्वारा राष्ट्रघाती एमसीसी अनुमोदन गरिएपछि नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप एकाएक बढेको भन्दै उनीहरुले अमेरिकी साम्राज्यवादले नेपालको स्वाधीनतामाथि गर्दै आएको हस्तक्षेप र नेपालका संसदवादी दलहरुको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध देशभक्तिपूर्ण आन्दोलन अघि बढाउन जनतासँग विशेष आग्रह गरेका छन् ।

२०७९ जेठ ३१ गतेका दिन नै एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न अमेरिकी साम्राज्यवादलाई चेतावनी दिएका छन् ।

जारी संयुक्त विज्ञप्तीमा नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला‘कञ्चन’, नेकपाका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ‘आहुती’, माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पाल, नेकपा(माओवादी–समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी‘सुशील’ र जनसमाजवादी मंच नेपालका संयोजक कृष्ण प्रसाद धमला ‘गम्भीर’ को संयुक्त हस्ताक्षर रहेको छ ।

जारी उक्त संयुक्त विज्ञप्तीमा अगाडि भनिएको छ–“गत २०७९ जेठ ३० गते संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्तावेज सावजनिक भएको छ । यो प्रोग्राम हिन्द प्रशान्त रणनीतिको एउटा अभिन्न अंग हो । यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अंग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निम्ति नेपालका सैन्य अखडालाई निर्वाध प्रयोग गर्ने योजनामा आधारित छ । हामी निम्नानुसारका कम्युनिस्ट पार्टीहरु सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवं भत्र्सना गर्दछौं र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदानर माग गर्दछौं ।

नेपालको गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपी लगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरुमा हस्ताक्षर हुने खतरा बढेको छ । यस स्थितिमा हामी प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न नेपाल सरकारसमक्ष विशेष माग गर्दछौं ।

नेपालको संसदद्वारा एमसीसी पारित गरिएको घोषणा भएपछि नेपालमाथि अमेरिकाको हस्तक्षेप एकाएक बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा यसको सहजकर्ता बनेका छन् । वर्तमान सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस तथा गठबन्धनमा समावेश अन्य दलहरु यसप्रकारको नांगो हस्तक्षेपको विरोध गर्नुको साटो सत्तारोहणका लागि अमेरिकी साम्राज्यवादी शासकहरुको चाकडी गर्नमा व्यस्त छन् ।

अमेरिकी साम्राज्यवादद्वारा नेपालको राष्ट्रिय स्वाधीनतामाथि गरिंदै आएको हस्तक्षेप र संसदवादी दलहरुको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन र नेपाली सार्वभौमिकताको रक्षाका लागि देशभक्तिपूर्ण आन्दोलनमा अगाडि आउन हामी सम्पूर्ण देशभक्त, वामपन्थी तथा प्रगतिशील पार्टी, समूह तथा व्यक्तित्वहरुलाई विशेष आग्रह गर्दछौं ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित