मूल्यबृद्धिका विरुद्ध संयुक्त विरोध प्रदर्शन र सभा

घोराही । पाँच दलीय गठबन्धनको देवा सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यबृद्धि गरेपछि दाङमा सरकारको जनघाती कदमका विरुद्ध संयुक्त प्रदर्शन र सभा सम्पन्न गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला ससमन्वय समिति दाङ र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, दाङको संयुक्त आयोजनामा २०७९ जेठ १८ गतेका दिन दाङ जिल्लाको सदरमुकाम घोराहीमा सो प्रदर्शन र विरोध सभा सम्पन्न गरिएको हो ।

सो संयुक्त विरोध कार्यक्रमम पाँच दलीय गठबन्धनको देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको चर्को मूल्यबृद्धि दैनिक उपभोग्य सामान र साधन माथिको बढ्दो महंगी र कालो बजारी प्रवृत्तिका विरुद्ध आयोजना गरिएको थियो । घोराहीको ट्राफिक चोकबाट शुरु गरिएको विरोध जुलुस सिनेमा हलरोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, न्यूरोड हुँदै तुल्सीपुरचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले “पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर”, “कालो बजारी बन्द गर” “राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर”, “संसारका मजदुर एक हौं ।”, संयुक्त आन्दोलन जिन्दावाद लगायतका नारा लगाएका थिए ।

जुलुशले बजार परिक्रमा गरे पश्चात् घोराही बजारको तुल्सीपुर चोकमा पुगेर विरोध सभा शुरु गरिएको थियो । विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले पाँच दलीय गठबन्धनको देउवा सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यबृद्धि गरेर जनघाती कार्य गरेको बताए । देशमा वर्षौंदेखि अल्पमतले बहुमत माथि रजाई गर्ने परम्परा चलिरहेको भन्दै उनीहरुले त्यसको अन्त्यका लागि संयुक्त आन्दोलन अगाडि बढाउनु पर्नेमा जोड दिए । सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेकै कारण बजारमा दैनिक उपभोग्य वस्तुहरुको भाऊ पनि आकासिंदै गएको भन्दै उनीहरुले देउवा सरकारको जनघाती कदमका विरुद्ध सडकमा उत्रिन जनतालाई आह्वान गरे । राष्ट्रिय स्वाधिनता र जनजीविकासँग जोडिएका विषयहरुलाई लिएर आफूहरुले निरन्तर संयुक्त आन्दोलन अघि बढाउने प्रतिबद्धता वक्ताहरुले व्यक्त गरेका थिए ।

विरोध सभामा यसरी विचार राख्ने वक्ताहरुमा नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका प्रतिनिधि, राम बहादुर जिएम, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला समिति दाङका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य ईश्वरी गैरे, राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति दाङका अध्यक्ष रेशमबहादुर विसी र अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) की केन्द्रीय सदस्य सुशिला आचार्य रहेका थिए । विरोधसभाको संचालन राजमो जिल्ला समन्वय समिति दाङका सचिव शशिराम बुढाथोकीले गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित