सन्धिखर्क । राष्ट्रिज जनमोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीले स्थानीय जनताका विविध समस्या र जनजीविकाका विषयहरुमा केन्द्रित रहेर अर्घाखाँची जिल्लाका स्थानीय तहहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्र मार्फत् राजमो जिल्ला समन्वय समिति अर्घाखाँचीले राम्रो र जनपक्षीय कामहरुमा आफ्नो साथ रहने र जनविरोधी क्रियाकलापहरुको आफूहरुले सशक्त विरोध गर्ने स्पष्ट पारेको छ । जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा २०७९ असार ८ गते एकै पटक बुझाइएको उक्त २५ बुँदे ध्यानाकर्षण पत्रमा आफ्नो पालिकामा भ्रष्टाचार सुन्यता र आर्थिक पारदर्शिता अपनाई जनतालाई अभिभावकीय भूमिका दिन निर्वाचित जनप्रतिनिधिहरुसँग आग्रह गरिएको छ ।
बुझाइएको ध्यानाकर्षण पत्रमा गाउँबाट विदेश पलायन भैरहेको दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न समयमै ठोस योजना बनाउनुपर्ने, पिछडिएको वर्ग, दलित, जनजाति र महिलाहरुलाई आत्मनिर्भर बनाई मूल धारमा ल्याउन चेतनामूलक र सीपमुलक प्रशिक्षणको व्यवस्था मिलाउनु पर्ने, १२ कक्षासम्मको शिक्षा निशुल्क बनाउनुपर्ने, जिल्लालाई आत्मनिर्भर बनाउन ठोस योजना बनाउनु पर्ने, जिल्ला अस्पतालमा विषयगत विशेषज्ञ र पालिकास्तरमा एमविविएस सरहका डाक्टर उपलब्ध गराई स्वास्थ्य सेवा सर्वसुलभ गराउनुपर्ने, पर्यावरणलाई स्वस्थ र सन्तुलित राख्न पहल गरिनुपर्ने, खेलकुद र योगभ्यसा जस्ता विषयहरुमा पनि विशेष ध्यान दिनुपर्ने लगायतका बुँदाहरु उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्रमा राजमो जिल्ला समन्वय समिति अर्घाखाँचीका नेताहरु नरेन्द्र थापा, कृष्ण केसी, राजेन्द्र नेपाली, कमल भूसाल, मिना केसी, खिमराज भट्टराई, राम बसु र बुद्धि गैरेको हस्ताक्षर रहेको छ ।
स्थानीय जनताका समस्याहरु र जनजीविकाका विविध विषयहरु समेटिएको उक्त ध्यानाकर्षण पत्र २०७९ असार ८ गते जिल्लाका ६ वटै स्थानीय तहमा बुझाइएको थियो । जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको नेतृत्वमा वरिष्ठ नेता नरेन्द्र थापा, नेतृ मिना केसी र नेता रामबसु सम्मिलित रहेको टोलीले सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै नेता कृष्ण केसीको नेतृत्वमा कमल भूसाल, बुद्धि गैरे र खेमराज भट्टराई सम्मिलित रहेको टोलीले सितगंगा नगरपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको थियो ।