महंगी, कालोबजारी र रासायनिक मल लगायतका विषय लिएर छ वाम दल संयुक्त आन्दोलनमा

काठमाडौं । पाँच दलीय गठबन्धनको देउवा सरकारका जनघाती निर्णयका विरुद्धमा क्रान्तिकारी विचारका पक्षधर छ वाम दलले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थमा पटक पटक गरिएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुहरुको बजार भाउ आकासिएर गैरहेको छ । कालो बजारी घुसखोरी अनियमितता र भ्रष्टाचार झनै मौलाउँदै गैरहेको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ किसानी कामको यो माचोका बेला किसानहरुले रासायनिक मल पाइरहेका छैनन् । सामानहरुको बजारभाऊ अचाक्ली किसिमले बढ्दै गैरहेको छ । जनजीविकाका यिनै विषयहरुलाई लिएर जनसंघर्षको आवश्यकता खड्किरहेका बेला नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति लगायतका क्रान्तिकारी विचारका पक्षधर विभिन्न छ वाम राजनैतिक दलहरुले संयुक्त संघर्षको घोषणा गरेका हुन् । उनीहरुको उक्त घोषणाबाट जनजीविकाका विषयहरुलाई लिएर संयुक्त आन्दोलन उठ्ने प्रष्ट संकेत देखिएको छ ।

संयुक्त संघर्षको सुरुवात गर्दै जिम्मेवार पाँच वाम दलहरुले २०७९ असार १३ गते काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा विरोध सभा सम्पन्न गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य ६ महिना अघिको बराबरी हुने गरी कायम गरिनु पर्ने, किसानहरुलाई अविलम्व रासायनिक मल उपलब्ध गराइनु पर्ने, कालोबजारी नियन्त्रण गरिनु पर्ने र जनतालाई सस्तो मुल्यमा खाद्यान्न र अत्यावश्य बस्तुहरु उपलब्ध गराउनु पर्ने लगायतका मागहरु लिएर पाँच राजनैतिक दलले काठमाडौं उपत्यकामा विरोध सभा सम्पन्न गरेका हुन ।

नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेकपा (क्रान्तिकारी–माओवादी) , नेकपा (बहुमत), नेपाल कम्युनिस्ट पार्टी र माओवादी कम्युनिस्ट पार्टी, नेपालको  संयुक्त आयोजनामा काठमाडौं उपत्यकाका पाँच स्थानमा जनजीविकाका विषयहरुलाई लिएर विरोध सभा सम्पन्न गरिएको हो । असार १३ गते दिनको चार बजेदेखि काठमाडौंको भोटाहिटी, कोटेश्वर र नयाँ बसपार्क, ललितपुरको मंगलबजार र भक्तपुरको च्यामासिंह गरी काठमाडौं उपत्यकाका पाँच स्थानमा एकैचोटी विरोधसभा सुरु गरिएको थियो ।

काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा भएका ती विरोध सभाहरुलाई सम्बोधन गर्दै वक्ताहरुले पाँच दलीय गठबन्धनको देउवा सरकारले जनजीविकाका समस्या समाधान गर्न कुनै पहल नगरेको बताए । नेपालमा श्रीलंकाको पछिल्लो अवस्था सिर्जित हुन नदिन संयुक्त जनआन्दोलन अपरिहार्य बनेको उनीहरुले औल्याए । देउवा सरकारले भारतमा भएको मूल्यबृद्धिको कारण नेपालमा पनि मूल्यबृद्धि गर्नु परेको भनी अघि सारेको तर्क तथ्यपरक नभएको वक्ताहरुले बताए । नेपालमा पेट्रोलियम पदार्थ महंगो हुनु पेट्रोलियम पदार्थमा सरकारले लगाएको अतिरिक्त कर मुख्य कारण रहेको उनीहरुले दावी गरे । देउवा सरकारले राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी, लिपुलेक, कालापानी र लिम्पियाधुरा माथिको आफ्नो स्वामित्व कायम गर्ने लगायतका राष्ट्रिय स्वाधिनताका विषयमा आत्मसमर्पणको बाटो समाएको आरोप वक्ताहरुले लगाए । वर्तमान देउवा सरकार अमेरिकी साम्राज्यवादको इसारामा नाँचिरहेको दावी उनीहरुको थियो । धान रोप्ने बेलामा किसानहरुलाई अत्यावश्यक पर्ने रासायनिक मल पैसा दिएर किन्छु भन्दा पनि उपलब्ध गराउन नसकेर देउवा सरकारले आफ्नो निरिह र लाचारीपन प्रष्ट्याइरहेको उनीहरुले बताए । जनताका जनजीविकाका विविध मागहरु पूरा गराउन जनसंघर्ष र जनआन्दोलन अपरिहार्य देखिएको भन्दै उनीहरुले सडक आन्दोलनमा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपिल गरे ।

काठाडौंको भोटाहिटी चोकमा नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिको व्यवस्थापकीय नेतृत्वमा विरोध सभा सम्पन्न गरिएको थियो । भोटाहिटीको विरोध सभालाई नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि युवा कम्युनिस्ट नेता रामबहादुर बुढाले सम्बोधन गरेका थिए । नेकपा ( क्रान्तिकारि – माओवादी) का दिनेस बर्तौलाको संचालनमा अघि बढेको भोटाहिटीको विरोध सभालाई  नेकपा (बहुमत) का हरि श्रेष्ठ  र नेकपा (क्रान्तिकारी – माओवादी) कि नेत्री शारदा महत  (कमरेड सरु) ले सम्बोधन गरेका थिए ।

यस्तै नेकपा (क्रान्तिकारी–माओवादी) को व्यवस्थापकीय नेतृत्वमा ललितपुरको मंगलबजारमा विरोधसभा सम्पन्न गरिएको थियो । मंगलबजारको विरोधसभालाई नेकपा (क्रान्तिकारी – माओवादी)का नेता पवनमान श्रेष्ठ , नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिका कोषाध्यक्ष ओमबहादुर केसी र नेकपा (बहुमत) का  नेता केबि मल्लले सम्बोधन गरेका थिए । मंगलबजारको विरोध सभाको संचालन  नेकपा (क्रान्तिकारी–माओवादी)का कृष्ण केसीले गरेका थिए ।

यस्तै लोकनारायण सुवेदीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको व्यवस्थापकीय नेतृत्वमा कोटेश्वरमा सम्पन्न गरिएको विरोध सभाको कार्यक्रम  नेता सुबेदीकै  संचालनमा अघि बढेको थियो । सभालाइ नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिकी उपाध्यक्ष सूर्या थापा ,नेकपा (क्रान्तिकारी–माओवादी) का नेता पुष्कर श्रेष्ठ र नेकपाका युवा नेता रोहित कोइरालाले सम्बोधन गरेका थिए ।

यसैगरी नेकपा (बहुमत) को व्यवस्थापकीय नेतृत्वमा काठमाडौंको नयाँ बसपार्क चोकमा विरोधसभा सम्पन्न गरिएको थियो । नयाँ बसपार्कको  बिरोध  सभालाई नेकपा (क्रान्तिकारी – माओवादी)का नेता हरिकृष्ण  गजुरेल र नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य नारायण सापकोटाले सम्बोधन गरेका थिए ।

पाँच दलको विरोध सभा भक्तपुर जिल्लाको च्यामासिंहमा समेत सम्पन्न गरिएको छ । च्यामासिंहको विरोधसभाको व्यवस्थापकीय नेतृत्व गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपालले गरेको थियो । विरोधसभालाई सोही पार्टिका नेताहरु पासाङ्ग मोक्तान, नारायण प्रसाद धिमाल र साहस राइले  सम्बोधन गरेका थिए ।

बढ्दो महंगी, कालोबजारी, रासायनिक मलको अभाव लगायतका जनजीविकाका विषयहरुलाई लिएर पाँच दलले जनआन्दोलनको उठान गर्नका लागि जनतासँग अपिल गरेका छन् । उनीहरुले ११ असारमा एक संयुक्त प्रेस वक्तव्य नै प्रकाशित गरी १५ असार सम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । उक्त विज्ञप्तीमा उल्लेख गरिए अनुसार उक्त विषयहरुलाई लिएर छ वाम दलको आयोजनामा असार १५ गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन र विरोधसभा हुन लागेको हो । असार १५ गते काठमाडौंको माइतीघर मण्डलामा हुने बृहत् प्रदर्शन र विरोध सभाका आयोजक छ वाम दलमा नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति, नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (बहुमत), नेकपा, माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपाल–२०७९ रहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित