कम्युनिस्ट बिग्रिए कुहेको अण्डा –  प्रचण्ड

काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  कम्युनिस्टहरु बिग्रे  भने कुहेको अण्डा जस्तै गनाउने बताएका छन् ।

“कम्युनिष्टहरू राम्रा हुन्छन्, धैर्यतापूर्वक विश्लेषण गर्छन् । तर बिग्रेपछि कम्युनिष्ट जति नराम्रा कोही पनि हुन्नन्, सबैभन्दा नराम्रा कम्युनिष्ट हुन्छन् ।” ललितपुरमा  २०७९ असार १३ गते आयोजित “नेपालमा समाजवादः चुनौती र सम्भावना”  विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्– “अण्डा धेरै फाइदाजनक चीज हो । सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन ।” सम्बोधनका क्रममा प्रचण्डले नेपालका सबै कम्युनिष्टलाई आफुले मिलाउन खोजे पनि सफल नभएको गुनासो गरे । कम्युनिष्टहरू बिग्रेपछि क्रान्ति बर्बाद हुने प्रचण्डको थप भनाइ थियो ।

प्रचण्डले सम्बोधनका क्रममा केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला देशमा भ्रष्टाचार बढेको दाबी समेत गरे । प्रचण्डले सम्बोधन गर्नु अघि कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले बोलेका थिए । सम्बोधनका क्रममा महासचिव पोख्रेलले शोधनान्तर घाटा बढिरहेकोले गठबन्धन सरकारले जवाफ खोज्नुपर्ने बताएका थिए ।  तर प्रचण्डले सम्बोधन  गर्ने बेला पोख्रेल  कार्यक्रम स्थलबाट हिंडिसकेका थिए ।

पोख्रेलको प्रश्नको जवाफमा प्रचण्डले शोधानान्नर घाटा पनि तत्कालिन प्रधानमन्त्री ओली र अर्थमन्त्री युवराज खतिवडाले लिनुपर्ने बताए । अध्यक्ष दाहालले सम्बोधनका क्रममा एसपीपी ओलीकै पालामा आएको दाबी दोहोर्याएका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित