हैजा नियन्त्रणका लागि हटलाइन सेवा सुरु

काठमाडौं । काठमाडौंमा हैजाको प्रकोप बढ्ने सङ्केत देखिएपछि  हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । काठमाडौं  महानगरपालिकाले जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानका लागि नागरिकलाई सहज होस भन्ने हेतुले २०७९ असार १३ गते देखि २४ घण्टा हटलाइन सञ्चालनमा ल्याएको हो । 

काठमाडौं महानगरपालिकाले जनतालाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र महानगरपालिकाबाट प्राप्त हुने सुविधा लिन सक्ने बताएको छ । जनस्वास्थ्यको सवालमा महानगरपालिकाले कुनै पनि कुरामा सम्झौता नगर्ने मेयर   बालेन्द्र साहले स्पष्ट पारेका छन । उनले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिल समेत गरेका छन् ।

महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरिएको छ ।

काठमाडौं महानगरपालिकाले पानीको पाइपलाइन तथा ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

स्मरणरहोस स्वास्थ्य मन्त्रालयले  काठमाडौं उपत्यकामा १२ जनामा हैजा रोग पुष्टि भएको जनाएको छ । समयमै सावधानी नअपनाइए हैजाले काठमाडौंमा महामारीको रुप लिन सक्ने खतरा देखिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित