काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा पुगेको छ । जसपामा लामो समयदेखि उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षबीच विवाद चलिरहेको छ । अब दुबै पक्ष एकले अर्कोलाई निस्कासनको कार्वाही गर्ने अन्तिम तयारीमा रहेको पछिल्लो घटनाक्रमले प्रष्ट पारेको छ । अहिले जसपाभित्रको बिबाद चरमउत्कर्षमा पुगेको छ ।
जसपामा यादवले पार्टीमा एकलौटी गरेको भन्दै भट्टराई पक्षले उनको अधिकार खोस्ने प्रयास गरिरहेको थियो भने यादब पक्षले भट्टराई पक्षलाई कार्वाहीको अन्तिम तयारी गरिरहेको छ । जसपाको यादब पक्षले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने निर्णय नै गरेको छ । २०७९ असार १३ गते मध्यरातमा बसेको यादव पक्षधर जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ ।
देउवा नेतृत्वको सरकारमा हाल जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री छन् । जसपामा यादब पक्षको निर्णय अनुसार अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा यसअघि अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर असार १३ गते राति बसेको यादव पक्षका नेताहरूको बैठकले त्यो अधिकार अध्यक्ष उपेन्द्रलाई मात्र दिने निर्णय गरेको छ ।
यादव पक्षको उक्त बैठकले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको छ । जसपाको यादब पक्षको यो निर्णय सँगै अब जसपा फुट्ने निश्चित देखिएको हो ।