एन्फाको बैठक ५ साउनमा बस्ने

काठमाडौं । स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठक २०७९ साउन ५ गते बस्ने भएको छ ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण साउन २ कोे बैठक स्थगित भएको थियो ।

अब त्यो बैठक साउन ५ गते बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने एन्फाले जनाएको छ ।

असार ६ मा भएको एन्फाको निर्वाचनबाट नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि दोस्रो पटक एन्फाको कार्यसमिति बैठक बस्न लागेको हो । बैठकका लागि साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग, सिइओ नियुक्ति र विविधसहित १८ एजेन्डा तय गरिएको छ ।

एन्फा महासिचव किरण राईले सुरुमा विविधसहित १२ एजेन्डा सदस्यहरुलाई पठाएका थिए । तर पछि उपाध्यक्ष दीर्घबहादुर केसीले प्रस्तावमा गरेको पाँच र अर्का उपाध्यक्ष दीपक खतिवडाले प्रस्तावमा गरेको सीईओ र प्रवक्ता नियुक्तिको एजेन्डा थप गरिएको थियो । दुई उपाध्यक्षको एजेन्डा पनि थपिएको बारे महासिचव राईले सदस्यहरुलाई जानकारी गराएका थिए ।

उपाध्यक्षले सीईओ नियुक्तिको एजेन्डा थपेपछि यसले ठूलो चर्चा पाएको छ । आर्थिक अनियमितताका कारण फिफाको प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सीईओ बनाउने गरी लविङ सुरु भएपछि अन्य एजेन्डा भन्दा सीईओ नियुक्तिको विषय चर्चित बनेको हो ।

निर्वाचन अघि नै गौरव थापालाई सीईओ बनाउने गरी भद्र सहमति बनेको बुझिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित