संयुक्त क्रान्तिकारी मोर्चाले पुष्पलाल स्मृति दिवश मनाउने

काठमाडौं । संयुक्त क्रान्तिकारी मोर्चाले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औ स्मृति दिवस एक श्रद्धाञ्जली सभाको आयोजना गरी मनाउने भएको छ । साउन ७ गते पुष्पलाल स्मृति दिवस हो । उक्त दिन मोर्चाका तर्फबाट नेकपा माक्र्सवादी (पुष्पलाल) ले कार्यक्रम आयोजना गरी पुष्पलाल स्मृति दिवस मनाउने निर्णय मोर्चाले गरेको छ । राष्ट्रियता र जनजीविकाका विषयमा संयुक्त संघर्ष अगाडि बढाइरहेका ६ बाम दल मध्येको एक घटक संयुक्त क्रान्तिकारी मोर्चा नेपाल – २०७९ ले संयुक्त संघर्षका कार्यक्रमहरुमा अब मोर्चाका तर्फबाट नेकपा (समाजवादी) का नेता माधब दाहालले प्रतिनिधित्व गर्ने निर्णय गरेको छ । अहिले सम्मका संयुक्त संघर्षमा मोर्चाका तर्फबाट नारायण शर्माले निभाउनु भएको भूमिका र संघर्षका कार्यक्रमहरुलाइ मोर्चाले “महत्त्वपूर्ण उपलब्धि” मानेको छ ।
दुई दिनसम्म चलेको बैठक पश्चात् संयुक्त क्रान्तिकारी मोर्चा नेपाल – २०७९ का तर्फ बाट २०७९ साउन ५ गते नारायण शर्माको हस्ताक्षरमा जारी प्रेस बक्तब्यमा उक्त कुरा जनाइएको छ । जारी बक्तब्यमा अगाडि भनिएको छ – “देशका विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, संघसंस्था र राजनीतिक व्यक्तित्वहरुको सहभागितामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको समाधानको निम्ति एक सशक्त संघर्ष उठानका लागि हालै निर्मित संयुक्त क्रान्तिकारी मोर्चा, नेपालको बैठक विगत दुई दिनसम्म बसेर गरिएका मुख्य निर्णयहरु सार्वजनिक जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. विगत केही समयदेखि पेट्रोलियम पदार्थ लगायत चौतर्फी भएको चर्को महङ्गी, देशको मुख्य बाली धान रोप्ने सिजनमा भएको कृषिमलको चरम कृत्रिम अभाव र संसदमा प्रस्तुत गरिएको सर्वाधिक राष्ट्रघाती नागरिकता विधेयक जस्ता राष्ट्रियता र जनजीविकासंग सम्बन्धित जल्दाबल्दा समस्याहरुको समाधान गर्ने–गराउने उद्देश्यले एक सशक्त र निर्णायक संयुक्त संघर्ष गर्नको लागि बनेको ६ वाम दलीय मोर्चामा हाम्रो संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट नेता क. नारायण शर्मामार्फत भएको हाम्रो मोर्चाको संलग्नता र यस मोर्चाको संघर्ष सम्बन्धी निर्णय, आह्वान र नेतृत्वमा गरिएका संघर्षका कार्यक्रमहरुमा भएको यस क्रान्तिकारी संयुक्त मोर्चामा आबद्ध विभिन्न दल, संघसंस्था र व्यक्ति–व्यक्तित्वहरुको सहभागीतालाई महत्वपूर्ण कार्य मानेका छौं ।
२. यस संयुक्त क्रान्तिकारी मोर्चालाई सुदृढ, सबल र सकृय अनि व्यवस्थित र अनुशासित पारी विस्तार गर्नको लागि मोर्चामा सहभागीहरुको सुनिश्चितता र प्रतिबद्धता सहित कार्यविभाजन गर्ने विषयमा व्यापक छलफल भयो । अहिले यो मोर्चा एउटा सामान्य प्रारम्भिक अवधारणा अन्तर्गत आवश्यकताको एउटा विशिष्ट स्थितिमा निर्माण भएको र यसका सहभागी घटक–सदस्य, लक्ष–उद्देश्य, नीति–विधि र आचार–संहिता आदि सुनिश्चित भैसकेपछि प्रत्यक्ष बैठक बसी यसको संगठनात्मक संरचना तथा नेतृत्वको स्वरुप, कार्यविधि तथा आचार संहिता निर्माण, तथा मोर्चाको विस्तार आदिबारे निर्णय गर्ने निर्णय गरियो ।
६ वाम दलीय मोर्चामा भने हाम्रो यस संयुक्त क्रान्तिकारी मोर्चाका तर्फबाट अब उप्रान्त नियमित प्रतिनिधित्व गर्नको लागि हाम्रो मोर्चाको एक जिम्मेवार घटक नेकपा (समाजवादी) का नेता क. माधव दाहाललाई जिम्मेवारी दिने निर्णय गरियो ।
३. नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं नेपाली कम्युनिस्ट आन्दोलनका वैचारिक, राजनीतिक र सांगठनिक नेता कमरेड पुष्पलालको निधन भएको दिन श्रावण ७ गते भएकाले उक्त स्मृति दिवसका दिन एक कार्यक्रम गरी उहाँलाई स्मरण, श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम आयोजना गर्ने सम्बन्धमा पनि मोर्चाको बैठकमा बिस्तृत छलफल भयो । हाम्रो यस मोर्चाको एक घटक नेकपा माक्र्सवादी (पुष्पलाल) ले कार्यक्रम आयोजना गर्ने र उक्त स्मरण कार्यक्रममा मोर्चाका सबै घटकहरु सहभागी भई कमरेड पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका योगदानहरुबारे चर्चा गरी आदरणीय नेता पुष्पलालको स्मृति दिवस भव्यतापूर्वक सम्पन्न गर्ने निर्णय गरियो ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित