काठमाण्डौ । डिसेम्बर १८ स्टालिनको जन्म दिन हो । जोसेफ स्टालिन विश्व कम्युनिस्ट आन्दोलनका महान नेता हुन् । उनी लेनिनका साथी थिए ।सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीका सदस्य बनेका उनी एक सिद्धान्तनिष्ठ व्यक्ति थिए ।उनले पछि मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म सोभियत संघ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव रहे ।
डिसेम्बर १८, १८७८ मा जर्जियाको “गोरी“ मा उनको जन्म भएको थियो र ५ मार्च १९५३ मा उनको मृत्यु भएको थियो ।
उनले समाजवादको निर्माण र संरक्षणको नेतृत्व गरेका थिए । सोभियय संघ माथि विदेशी आक्रमणकारीको आक्रमणलाई परास्त गर्न उनले नेतृत्व गरेकाथिए । उनले पार्टी भित्र देखा परेका ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादका विरुद्ध निकै ठूलो संघर्ष गरेकाथिए ।
दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गर्न उनको महत्वपूर्ण भूमिका थियो ।
स्टालिनले कम्युनिस्ट अन्तर्राष्ट्रिय मार्फत कम्युनिस्ट सिद्धान्तलाई विश्व भरी प्रचार गर्ने काम गरे । उनले १९३० को दशकमा, विशेष गरि स्पेनिस गृह युद्धमा युरोपेली फासीवाद विरोधी आन्दोलनलाई समर्थन गरेकाथिए । दोस्रो विश्व युद्धको प्रारम्भमा भारी क्षतिको बाबजुद सोभियत लाल सेनाले जर्मन आक्रमणलाई प्रत्याक्रमण ग¥यो र १९४५ मा बर्लिन कब्जा ग¥यो र युरोपमा दोश्रो विश्वयुद्धको अन्त्य भयो। जर्मनी र उनका मित्र राष्ट्रलाई पराजित गर्ने प्रकृयामा, सोभियतले बाल्टिक देशहरूमा कब्जा ग¥यो र मध्य तथा पूर्वी युरोप, चीन र उत्तर कोरियामा सोभियत पक्ष सरकारको स्थापना भयो ।
स्टालिनको पिता पेसाले एक छालाका जुत्ता बनाउने ब्यक्ति थिए। आमा कपडा धुने गर्दथिन । बाल्यकालमा स्टालिन एकदम कमजोर थिए।अरु बच्चाहरूले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उनलाई पिटिरहन्थे। जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्दै थियो ।
स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले १८९५ मा स्टालिनलाई चर्चको विद्यालयमा पढ्न जर्जियाको राजधानी तिफलिस पठाएकि थिइन । तर स्टालिनलाई धर्ममा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी कार्ल मार्क्सका किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा अंगाल्ने सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन मार्फत उनले रूसको जारको बिरोधमा मानिसहरूलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे। १८९९ मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
बिसौ शताब्दीको सुरुवातमा स्टालिनले तिफ्लिसको मौसम विभागमा काम गरेकाथिए ।
जारको गुप्तचर बिभागलाई स्टालिनको क्रियाकलापको बारेमा सूचना थियो र उनलाई भूमिगत हुनु पर्यो। स्टालिन रुसी सामाजिक जनवादी पार्टी बोल्शेविक पार्टीमा प्रवेश गरे१९०५ मा स्टालिनले पहिलो पटक रूसी साम्राज्यको विरुद्ध संघर्षमा भाग लिए।
रूसमा बोल्शेवभिक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसँग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भएकोथियो। स्टालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिजÞेसँग गरे। बिबाहको एक वर्षपछि १९०७ मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो। यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो।
बिद्रोहीको आरोपमा जार सरकारद्वारा स्टालिनलाइ कैयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई साइबेरिया पठाइएको थियो ।
१९१७ मा लेनिनको अगुवाईमा रूसमा अक्टोबर क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ति ,जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनले यो क्रान्तिमा ठूलो भूमिका निभाएका थिए ।
बीसको दशकमा नै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे । उनले सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो; “यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट अक्टोबर क्रान्ति असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूँजीवादी देशले कब्जा गर्छन् ।“ स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति ग¥यो। स्टालिनले आफ्नो योजनाहरूलाई बहुत कडाइका साथ लागू गरे।
स्टालिनको बेलामा वैश्विक महामन्दीबाट सोभियत सङ्घ प्रभावित हुनबाट जोगिएको थियो । लेनिनवादका आधारहरु,लेनिनवादका समस्याहरु, समाजवाद र अराजकतावाद , द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद लगायतका महत्त्वपूर्ण पुस्तकहरु स्टालिनले लेखेकाथिए ।
स्टालिनका विरोधीहरुले उनलाई हिटलर जस्तै तानाशाह भनेर प्रचार गर्दै आएका छन् ।तर उनको विचारका पक्षधरहरुले स्टालिन त्यस्तो निरंकुश थिएनन भन्दै आएकाछन् ।
स्टालिनको मृत्यु पछि ख्रुस्चेभले कम्युनिस्ट आन्दोलनको मूल मर्मलाई परित्याग गर्दै बिस्तारै पूँजीवादी सिद्धान्त र संस्कृति
लागु गर्दै गए र अन्त्यमा १९९० मा सोभियत संघ बिघटन भएको थियो । लेनिन र स्टालिनको नेतृत्वमा जनताले रगत बगाएर स्थापित गरेको समाजवाद शान्तिपूर्ण तरिकाले नै ध्वस्त भयो ।
सोभियत संघ विघटन भए पनि र कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खाए पनि समाजवादी आन्दोलन नयाँरुपमा अगाडि बढ्ने छ । विश्व पुँजीवादभित्रको अन्तरविरोधले त्यसलाई कमजोर बनाउँदै लगिरहेकोछ । बैज्ञानिक समाजवादको सपना केवल सपनामै रहने छैन ,त्यसलाई व्यबहारिकरूप दिन संसार भरी चिन्तन मनन भैरहेको छ । स्टालिनको जन्म दिन संसारभरिका किसान ,मजदुर र कम्युनिस्टहरुले उनको योगदानलाई स्मरण गरे । स्टालिनको योगदानलाई आत्मसात गर्न सक्नु नै उनी प्रतिको सही श्रद्धाञ्जली हुनेछ ।
स्टालिन जन्म दिवस
Comments