काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन भएको एक वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनको क्रममा सरकार गठन भएयतादेखिका सरकारले गर्न खोजेका काम र भएका प्रगति विवरणहरू प्रस्तुत गरेका छन् ।
दाहालले आफ्नो यस कार्यकालमा देशमा रहेका अनेकथरी भ्रष्टाचारका काण्डहरूलाई छानविनको दायरामा ल्याएको, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड तथा सुन तस्करी काण्ड जस्ता काण्डहरूलाई छानविनमा ल्याएको आफ्नै पालामा देशको पूरै भागमा विद्युतीकरण भएको तथा विजुली विदेश निर्यातसम्म गर्न सफल भएको बताएका छन् ।
भारत, चीन र बङ्गलादेशहरूमा विद्युत व्यापारको सम्भावना बढेको कुरा पनि सम्बोधनको क्रममा प्रधानमन्त्रीले बताएका छन् । उनले पूर्वाधार विकासमा देखिएका समस्याहरू औल्याएका छन् भने आफ्नो एक वर्षे शासनकालमा मुद्राको सञ्चिती इतिहासकै उच्च रहेको तथा घाटामा गइरहने सार्वजनिक संस्थानहरू सधै नाफामा जान लागेको बताएका छन् ।
त्यस्तै उपभोक्ता मूल्य बृद्धिदर २–७ प्रतिशतले कम भएको बताउँदै सबै नागरिक समाज, राज्य राजनैतिक दलहरूलाई क्रमभङ्ग हुन अनुरोध गरेका छन् । राजनीतिक दलहरूका बीचमा हुने बैठकहरूमा अब विश्वविद्यालय सुधार्न, परराष्ट्र नीतिमा राष्ट्रको एउटै धारणा बनाउन रोजगारी सिर्जना गर्न लाग्नुपर्ने बताए । उनले अब देशमा केही हुँदैन, हुन सक्दैन भन्ने जस्तो नकारात्मक धारणा बढिरहेकाले यो सबै हटाउन पर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले लोकतन्त्र बलियो बनाउन लाग्नु पर्ने कुरामा जोड दिंदै सबै देशका नागरिक, देशवासीको साथ सहयोगको अनुरोध गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली काङ्ग्रेस सहितको दलहरूको समर्थनमा पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका हुन्् । उनको १ वर्षे कार्यकाललाई उनले निकै उत्साहपूर्वक मूल्याङ्कन गरेका छन् ।