काठमाडौं । पाँच दलीय गठबन्धनको देउवा सरकारले देशमा राष्ट्रघात र जनघातका श्रृंखला अगाडि बढाउँदै लगेपछि त्यसका विरुद्ध देशका विभिन्न भागहरुमा आन्दोलनका ज्वारहरु उठ्न थालेका छन् । देउवा सरकारले गरेको राष्ट्रघात र जनघातका विरद्ध देशको राजधानी काठमाडौं र अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा पनि प्रदर्शन र कोणसभा सम्पन्न गरिएको छ ।
राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समन्वय समिति काठमाडौंले २०७९ साउन १३ गतेका दिन काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा बिरोध सभा सम्पन्न गरेको छ ।
नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि नारायण सापकोटा र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती काठमाडौंका अध्यक्ष बलिभद्र शर्माले सम्बोधन गरेका गरेका थिए । बिरोध सभाको संचालन राजमो काठमाडौं जिल्ला समन्वय समितिका सचिब टेकहरी न्यौपानेले गरेका थिए ।
यसैबीच अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा पनि राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा २०७९ साउन १५ गते सदरमुकाम सन्धिखर्कमा विरोध प्रदर्शन र सभा सम्पन्न गरिएको छ । विरोध प्रदर्शनमा सहभागीहरुले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” र राष्ट्रघाती “एमसीसी र एसपीपी खारेज गर” लगायतका नाराहरु लगाएका थिए । विरोध प्रदर्शनका साथै सन्धिखर्कको भक्तिटोलमा प्रदर्शनकारहिरुले कोणसभा समेत सम्पन्न गरेका थिए । राजमो जिल्ला समन्वय समिति अर्घाखाँचीका नेता नरेन्द्र बहादुर थापाको संचालनमा अघि बढेको उक्त सभालाई नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि कृष्ण के.सी.ले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेता केसीले देउवा सरकारका राष्ट्रघाती र जनघाती कुकर्महरुमा विरुद्ध संघर्षमा उत्रिन जनतालार्ई अपिल गरेका थिए ।