काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीन भ्रमणका बेला नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्याबारे कुरा गर्न सुझाब दिएका छन । चीन भ्रमणका बेला चीन सङ्ग सम्भव हुने सहमति गर्न पनि नेता खनालले सुझाब दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन २४ साउनमा बालुवाटार पुगेका खनालले प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारहरु सँगको कुराकानीमा उक्त कुरा बताएका हुन ।
“परराष्ट्रमन्त्रीको यो भ्रमणले केही राम्रा उपलब्धिहरु हासिल हुनेछ । बीआरआईको बारेमा सम्झौता भएको छ, केही पनि कार्यान्वयन भएको छैन । सीमाको बारेमा पनि समस्या आउन खोज्छ, त्यसको समाधानको दीर्घकालीन आधार तयार पार्नुपर्छ । सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्नेकुरा नेपाली जनताको चाहना हो ।” – पुर्वप्रधानमन्त्री खनालको भनाइ थियो – “नेपाल एक चीन नीति र नेपालको भूमि कुनैपनि मित्रराष्ट्रबिरुद्धमा प्रयोग गर्न नदिने कुरामा हामी एकमत छौँ । परराष्ट्रमन्त्रीको चीन भ्रमण महत्वपूर्ण भ्रमण हो । हामीले छिमेकबाट लिनसक्ने लाभका बारेमा हामीले सोच्नुपर्छ ।”