काठमाडौं । पाँच दलीय गठबन्धनको देउवा ससरकारले श्रृंखलाबद्ध रुपमा अघि बढाइरहेको राष्ट्रघात र जनघातका विरुद्धमा नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति सहितका ६ वाम राजनैतिक दलहरुले निरन्तर आन्दोलन अघि बढाइरहेका छन् ।
यसै सिलसिलामा राष्ट्रघाती नागरिकता विधेयकको खारेजी, एमसीसी र एसपीपीको खारेजी, किसानलाई रासायनिक मल उपलब्ध गराउनु पर्ने, बढ्दो महंगी नियन्त्रण गरिनुपर्ने लगायतका माग लिएर २०७९ साउन २६ गते ६ वाम दलहरुले देशका विभिन्न दश शहरहरुमा विरोध सभा सम्पन्न गरेका छन् ।
पाँच दलीय गठबन्धनको देउवा सरकारले अघि बढाइरहेको राष्ट्रघात र जनघातका विरुद्ध ६ वाम दलको आयोजनामा साउन २६ गते काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा विरोधसभा सम्पन्न गरिएको थियो ।
विरोध सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी–माओवादी) का स्थायी समिति सदस्य सिपि गजुरेलले देशमा राष्ट्रघात र जनघातले सिमा नाघिसकेको बताए । “शासकहरुले राष्ट्रघात र जनघातमा सिमा पार गरिसकेका छन् ।”–नेता गजुरेलले भने–“जनताको धैर्यताको बाँध अब टुट्न थालिसकेको छ । अब छिट्टै शासकहरुले श्रीलंकामा जस्तै नेपालमा पनि बालुवाटार र सिंहदरबार छाडेर भाग्नु पर्ने दिन नआउला भन्न सकिंदैन ।”
विरोधसभालार्ई सम्बोधन गर्दै नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि तथा राजमो केन्द्रीय समन्वय समितिका कोषाध्यक्ष ओमबहादुर केसीले राष्ट्रघाती नागरिकता विधेयक पारित गरेर संसदले नेपाली जनताको आन्दोलनको घोर अपमान गरेको बताए । “संसदले पारित गरेको नागरिकता विधेयकले देशलाई फिजिकरणको दिशा तर्फ लैजाने छ । के नेपाली जनताले देशलाई फिजी बनाउन आन्दोलन गरेका थिए ?”–प्रश्न गर्दै नेता केसीले भने –“नेपाली जनता र राष्ट्र विरोधी नागरिकता विधेयक पारित गरेर संसदले नेपाली जनताको आन्दोलनको घोर अपमान गरेको छ ।” नेता केसीले सम्बोधनका क्रममा प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पुगेको राष्ट्रघाती नागरिकता विधेयकलाई संसदमै फिर्ता पठाएर राष्ट्रिय स्वाधिनताका पक्षमा आफूलाई दृढरुपमा उभ्याउन राष्ट्रपतिलाई अनुरोध समेत गरेका थिए ।
सभालाई सम्बोधन गर्दै स भाको अध्यक्षता समेत गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले हाम्रो संसद हाम्रो जस्तो नभएको बताए । संसद विदेशी शक्ति केन्द्रहरुको पछि दौड्ने र उनीहरुकै हित अनुकूल काम गर्ने थलो भएको अध्यक्ष सुवेदीको भनाई थियो । नेकपा (बहुमत) का केन्द्रीय कार्यालय सदस्य बाबुराम गजमेरले विरोधसभालाई सम्बोधन गर्दै देशमा शासक वर्गहरुले मनपरीतन्त्र चलाउँदा देश अद्योगति तर्फ गैरहेको बताए । संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि माधव दाहालले विरोधसभालाई सम्बोधन गर्दै राष्ट्रघात र जनघातको मार्गमा हिंडिरहेको देउवा सरकारलाई सत्ताच्यूत गर्न संयुक्त आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताए । सो विरोधसभाको संचालन नेकपा (क्रान्तिकारी–माओवादी) का पिविएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरी सुवेदीले गरेका थिए ।
६ वाम दलले साउन २६ गतेका दिननै रुपन्देहीको बुटवल, चितवनको नारायणगढ, कास्कीको पोखार, कैलालीको धनगढी, बाराको सिमरा, सुर्खेतको विरेन्द्रनगर, मकवानपुरको हेटौंडा,जनकपुरको जनकपुरधाम र पूर्वको इटहरीमा समेत विरोधसभा सम्पन्न गरेका थिए ।